पालिकाको स्कूटर छोरीलाई

पालिकाको स्कूटर छोरीलाई

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भगवती बमले राज्यले दिएको सुविधाको दुरुपयोग गरेको पाइएको छ। 

उनको कार्यकालको सुरुमै खरिद गरेको सु.प.प्र ०१-००१ ब १४६० नम्बरको स्कूटर पालिकामा एक दिन पनि नल्याएर कैलालीको घनगढीस्थित उनको घरमा प्रयोगमा रहेको खुल्न आएको हो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट टिकट लिएर उपाध्यक्ष पदमा निर्वाचित भएकी बमले हालसम्म पनि कार्यालयको स्कूटर मात्र नभएर ल्यापटप तथा मोबाइलसमेत फिर्ता नगरेको बुझिएको छ। 

सबै ठाउँ कच्ची सडक रहेको बोगटान फुड्सिल गाउँपालिका क्षेत्रमा स्कूटर प्रयोगमा आउन नसक्ने भएपनि खरिद गरेर कैलाली बस्दै आएका घरपरिवारलाई प्रयोग गर्न दिइएको पाइएको हो।

गाउँपालिकाको बजेटमा खरिद गरी निकालिएको स्कूटर आफ्ना आसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानीयले विरोध गरेका छन्। 

'राज्यको सम्पत्ति जनताको सेवाका लागि प्रयोग गर्नु स्वभाविक हो तर दुरुपयोग गर्न पाइदैन।' स्थानीय शेर बहादुर बमले भने, 'बोगटान फुड्सिल गाउँपालिकामा स्कूटर चलाउने राम्रो सडकै पुगेको छैन, स्थानीय नागरिक सडकको पँहुचमा अहिले पनि छैनन्, अझै पनि यहाँका नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन्, उता गाउँपालिकाले स्कूटर खरिद गरेर धनगढीमा छोरी तथा अन्य आफन्तलाई चलाउन दिएको सुन्नमा आएको छ।'

राज्यको सम्पत्ति दुरुपयोग गर्ने जोसुकैलाई कारवाहीको दायरामा ल्याउनुपर्ने स्थानीय बमले बताए। कार्यकाल सकिँदा सरकारी सम्पत्ति तत्काल सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने उनले बताए।

निवर्तमान उपाध्यक्ष बमले स्कूटर आफन्तलाई जिम्मा लगाएर आफू गाउँपालिकाको बोलेरो जीप प्रयोग गर्दै आइरहेकी थिइन्। 

'मलाई स्कूटर चलाउन पनि आउँदैन, कर्मचारीहरुले के-कसरी किने थाहा भएन', निवर्तमान उपाध्यक्ष बमले भनिन, 'सबै उपाध्यक्षले किनिरहेका हुन्छन, तपाईंले पनि किन्नुपर्‍यो भनेर अफिसले किनेर मेरो धनगढीस्थित घरमा राखिदिए।'

उनले आफूलाई स्कूटरका विषयमा केहीपनि थाहा नभएको बताउँदै मूल्य र स्कूटर नम्बरसमेत भन्न मानिनन्। बिग्रेर थन्किएको स्कूटर, मोबाइल र ल्यापटप गाउँपालिकालाई लैजान भनिसकेको भएपनि अहिलेसम्म नलगेको उनले बताइन।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत चन्दले स्कूटर बिग्रेर निवर्तमान उपाध्यक्षको घरमा थन्काइएको बताएका छन्। 

स्कूटर मर्मत गरेर ल्याउने उनले बताए। पालिकाभित्रको सुविधाका लागि खरिद गरेको यसरी बाहिर चलाउन नमिल्ने स्वीकार गरेका छन्। 

पालिकामा स्कूटर चल्ने सडक नभएपनि आफू आउनुभन्दा पहिले नै खरिद भइसकेकाले किन किनियो सबै कुरा आफूलाई थाहा नभएको चन्दले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.