शिलान्यास भयो दार्चुलाको ऐतिहासिक मोटरेबल पुल

शिलान्यास भयो दार्चुलाको ऐतिहासिक मोटरेबल पुल

दार्चुला : दार्चुलामा आज सोमबार महाकाली नदीमा मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ त्रिदेशीय सीमा जोडिएको दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरे।

शिलान्यास कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका डीसीएम प्रशान्त श्रीस्ताव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी लगायतको उपस्थिति रहेको थियो।

  
पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल-भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताए। 
भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए। 
  
दार्चुलामा विगतका वर्षहरूमा १० वटा झोलुङगे पुलहरू सञ्चालन थिए। अब एउटा मोटरेबल पुल थपिएको छ। यसले पनि विकासको कार्यमा एउटा एउटा ईँटा थपेको छ। दार्चुलाको चौलानीदेखि व्याँस गाउँपालिकाको कालापानी, लिपुलेक, लिम्पियाधुराको मुहानसम्म जोड्ने सुदुपश्मिको ऐतिहासिक पुलका रूपमा स्थापित हुनेछ।  


शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले दार्चुला अब अन्तरदेशीय व्यापारको हब बन्नेछ। सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाकाका रूपमा अबको यात्रा तय भएकोछ र आवतजावतमा मात्रै नभएर व्यापार, व्यवसायका लागि पनि सुविधा हुनेछ। 

'यो पूलले भारतीय पक्षहरूसित नेपालीहरूको सम्बन्ध झन बलियो हुने कुरामा कुनै दुई मत छैन। व्यापारिक एवं नागरिकलाई सहज आवागमनका लागि पनि पुल आवश्यक थियो। अब यहाँका नागरिकले भारत जान गड्डाचौकी र गौरीफन्टा जानुपर्ने अवस्था रहँदैन', उनले भने। 

उनले दार्चुलावासीले अब ढुवानी लगायतका समस्याबाट मुक्ति पाउने बताए। उनका अनुसार पुलले दुई देशबीच धार्मिक, सामाजिक, सम्बन्ध मजबुत हुने छ। 

दार्चुलामा पहिलो पटक महाकाली नदीमा पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दा खुसी भएका छन्। यो पुल भारत सरकारको सहयोगमा बन्ने छ भने उक्त पुलको लम्बाइ एक सय १० मिटर लामो हुनेछ। 

भारतीय लोक निर्माण विभागअन्तर्गत भारत सरकारको लगानीमा बन्ने यो पुल निर्माणको ठेक्का चन्डिगढको एक निर्माण कम्पनीले प्राप्त गरेको छ। 

द्विपक्षीय निर्माण सम्झौतानुसार यो पुल निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ।

सरकारको उच्च प्राथमिकतामा पुल
  
कञ्चनपुरको गड्डाचौकीदेखि दार्चुलाको टिंकरसम्म दुई देशबीच आवतजावत गर्ने पक्की पुल छैन। 

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलामा महाकाली नदीले झन्डै चार सय किलोमिटर दूरी समेट्छ। 

यति लामो दूरीमा तुइन र झोलुंगे पुल मात्रै छन्। महाकाली नदीसँगै जोडिएको दार्चुला सदरमुकाम र बैतडी जिल्लाको सदरमुकाम पनि झोलुंगे पुलले मात्रै भारतसँग जोडिएका छन। 
 
यी जिल्लालाई भारतसँग मोटरेबल पुलले जोड्ने विषयमा स्थानीय जनता, जनप्रतिनिधि र सरोकारवालाले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। 

यही क्रममा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले २०७१ असोजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्रीका रूपमा भएको पहिलो नेपाल भ्रमणमा यो विषयलाई द्विपक्षीय सरोकारको विषय बनाउन सफल भए।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २०७३ साल भदौं ३० देखि असोज २ सम्म भएको भारतको चार दिने भ्रमणमा तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा यस विषयलाई मूर्त रूप दिन सफल भए। 

भ्रमण दलमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि सुदूरपश्चिमकै भूगोलबाट जनप्रतिनिधि भएकाले यो विषयमा विशेष रुपमा ध्यानाकर्षण गराउन थप बल पुग्यो।  
  
कञ्चनपुरको गड्डाचौकीदेखि दार्चुलाको टिंकरसम्म दुई देशबीच आवतजावत गर्ने पक्की पुल छैन। कतिपय ठाउँमा झुलुंगे पुल समेत नहुँदा तुइनबाट महाकाली तर्नुपर्ने बाध्यतात्मक अवस्था छ। 

यही बाध्यताका बीच हरेक वर्ष कुनै न कुनै दार्चुलावासीले तुइनबाट खसेर अकालमै ज्यान गुमाउनु परेको छ। २९ वर्षयता तुइनबाट खसेर दार्चुलामा मात्र २६ जनाको ज्यान गइसकेको छ। 

पहाडी जिल्लाको पहिलो अन्तरदेशिय पुल 
 
शिलान्यास कार्यक्रम्ममा बोल्दै बडूले भने, 'सुदूरपश्चिमका पहाडी जिल्लाको पहिलो अन्तरदेशीय पुल निर्माण हुने भएको छ। महाकाली कोरिडोरमा यो पुल निर्माण भइरहेको छ। यसले सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईसित व्यापार हुनेछ।' 
यो पुलबाट चीनसँगको ताँलाकोट नाका १ सय ३४ किलोमिटर र तराईको बह्मदेवमण्डी दुई सय २१ किलोमिटर दूरीमा पर्छ। पुल निर्माणको सुरुवातले दार्चुलाको विकास तथा उनन्तीको ढोका खुलेको उनको भनाइ छ। 
 
अब दार्चुलावासीका दुःखका दिन गए नेपालमा उत्पादित साग तरकारीले बजार पाएको थिएन, साग तरकारी त्यस्तै बारीमै कुहिन्थ्यो अब भने ढुक्कले साग तरकारी भारतीय बजारसम्म लगेर बिक्री वितरण गर्न सकिन्छ। 

दार्चुलावासी खुसी 
  
दार्चुलामा नेपाल भारत जोडने मोटरेबल पुल शिलान्यास भए पछि दार्चुलावासी खुसी भएका छन। पुल निर्माणले नेपाल-भारतको सम्बन्ध पनि झन बलियो हुने व्यापारीसँगको सम्बन्ध पनि थप प्रगाढ हुने महाकाली नगरपालिका- ९ का वडाध्यक्ष गजेन्द्रसिंह कार्कीले बताए। 

उनले भने, 'यो पुल समयमै बन्नु पर्छ। समयमै निर्माण भए पछि हामीहरूलाई सहज हुनेछ। त्यति मात्रै होइन यसका लागि सरकारले त्रिदेशीय मार्ग महाकाली कोरिडोरलाई चाँडै निर्माणसँगै दार्चुलासित जोडिएको ताँलाकोट नाकालाई सञ्चालनमा ल्याउनुपर्ने हुन्छ। तब मात्रै हामीहरूलाई थप राहत हुनेछ।' 
 
यो पुल निर्माणपश्चात् दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना बढेको दार्चुलाका स्थानीय व्यापारी पुष्कर प्रसाद बडूले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.