सर्वनाममा ‘दुई युगको संवाद’
काठमाडौ : हामी प्रायः विगत र भविष्यको चिन्ता गर्छौं । तर, वर्तमानमा बाँच्न बिर्सिन्छौं। यस्तै प्रश्न र उत्तरको खोजी गर्दैै काठमाडौंको कालिकास्थानमा अवस्थित सर्वनाम थिएटरमा नाटक ‘समय : दुई युगको संवाद’ मञ्चन सुरु भएको छ। सर्वनामकै १८औं ब्याचका प्रशिक्षार्थी समूहको प्रस्तुति र निर्देशनमा तयार पारिएको नाटकको लेखन १८औं ब्याचका प्रशिक्षार्थी सुजता पन्तले गरेकी हुन्।
नाटकको सुरुवातमा घडीको सुइको ‘छकछक छकछक’ आवाज बजिरहन्छ र पृष्ठभूमिमा महिलाको आवाज आउँछ, ‘म समय हुँ, म तिम्रो भूत हुँ, म तिम्रो वर्तमान पनि हुँ र तिम्रो भविष्य पनि हुँ।’ लामो हाँसो पश्चात् विश्वभर फैलिएको कोरोना महामारीको समयलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको छ।
नाटकमा सन २०२० र १९४० बिचको सम्वाद देखाउन खोजिएको छ। यो सम्वादमा गान्धी, हिटलर, चार्ली र आइन्स्टाइन उपस्थित हुन्छन् र आ–आफ्नो तर्क प्रस्तुत गर्छन्। नयाँ युगमा भने एक टेलिभिजन कार्यक्रममा वैज्ञानिक, नेता, साधु र ज्योतिषबीचमा बहस चलिरहन्छ। यो युगको सबैभन्दा बलवान समय हो।
समयअनुसार र सोही समयमा घटेका घटनामार्फत नै हामीले सही र गलत ठम्याउँछौं। यो नाटकले त्यही मियोलाई समाएर वर्तमानको महत्वलाई दर्शाउने प्रयत्न गरेको छ। इतिहासका महान् पात्र र तिनले गरेका कामहरूबाट वर्तमानलाई चिहाउने प्रयत्न यो नाटकले गरेको छ। प्रायः हामी भूत र भविष्यको चिन्तामा वर्तमानमा बाँच्न बिर्सिन्छौँ, वर्तमान राम्रो भयो भने भूत र भविष्य आफै उत्कृष्ट हुनसक्छ भन्ने नाटकको मूलसार हो।
सर्वनामले रंगमञ्च र यसप्रति रुचि भएकाहरूलाई प्रशिक्षण दिँदै आएको छ। सर्वनामका संस्थापक तथा निर्देशक अशेष मल्लले नेपाली रंगमञ्चमा कुनै पनि रंगकर्मी बन्न चाहेका कलाकारहरूलाई मञ्च अभावका कारण आफू वञ्चित हुन नपरोस् भन्ने हेतुका कारण यो प्रशिक्षण निरन्तर चलाएको बताए। ‘नेपाली रंगमञ्चमा मौलिक कथा, लेखक र निर्देशक पनि जन्मिउन भन्ने आफ्नो चाहना हो। यो नाटकमार्फत नेपाली रंगमञ्चमा एउटा ईटा थपिएको छ’, उनले भने।
सर्वनामको तीन महिने बन्द प्रशिक्षण र करिब दुई महिनाको तयारीपश्चात् निर्माण गरिएको नाटकको मञ्चमा अमन श्रेष्ठ, अञ्जना गर्तौला, उत्सव पौडेल, गौरव केसी, तिलक भण्डारी, वसन्तबहादुर खड्का, भुवन सापकोटा, मिलन शाक्य, युवराज थापामगर, राम दाहाल, सञ्जु तामाङ, सुजता पन्त र सुवास बस्याल छन्। नाटकमा संगीत परिचालन मनोज महर्जनले गरेका छन् र संगीत संयोजन कृपेश घिमिरे र मोहन अभिलाषीले गरेका हुन्।