बागमती प्रदेशले गर्यो दुई अध्यादेश स्वीकृत
हेटौंडा : बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको छ।
बिहीबार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा पेश भएको दुवै अध्यादेशलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।
अध्यादेश जारी भएपश्चात प्रदेश सरकारबाट उपलब्ध हुने सेवा, सुविधा तथा अनुदानका कार्यक्रमहरूलाई न्यायोचित, प्रभावकारी र पारदर्शी ढंगबाट वितरण गर्न, लक्षित वर्गका कृषकहरूमा लाभान्वित हुने सुनिश्चितताको कायम गर्न तथा कृषि विकासका कार्यक्रमको कार्यान्वयनलाई सहज, व्यवस्थित र प्रभावकारी बनाई सुशासन अभिवृद्धि गर्न सहयोग पुग्ने कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धारा हुमागाईंले बताए।
बागमती प्रदेशले पोल्ट्री क्षेत्रको ठूलो हिस्सा ओगटेको र बेलाबेलामा आइरहने रोगहरूको नियन्त्रणका लागि आवश्यक कार्ययोजना बनाउन, नीतिगत सुधार तथा प्रदेशलाई कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर बनाउन सकिने उनले बताए।
'पोल्ट्रीजन्य पदार्थको उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणमार्फत् दिगो आर्थिक समृद्धि हासिल गर्न हामीले अध्यादेश पेश गरेका थियौँ,' मन्त्री हुमागाईंले भने।
प्रतिक्रिया दिनुहोस !