दसैंमा खाद्य डिपो रित्तै
दैलेख : दुल्लु नगरपालिका–८ का ६५ वर्षीय दुर्गाप्रसाद उपाध्याय सहुलियत दरको चामल लिन सदरमुकाम आइपुगे। ४ सय रुपैयाँ बस भाडा तिरेर आएका उपाध्याय दिनभर लाइन बसे। तर, चालम पाएनन्। बेलुका रित्तो हात घर फर्किनुपर्यो। खाद्य डिपोमै पनि चामल नपाएको उनले बताए ।
‘दसैंका लागि सहुलियतमा चामल लिन आएको थिएँ। तर, रित्तो हात फर्किनु पर्यो,’ उपाध्यायले भने।
नारायण नगरपालिकाका धनबहादुर खड्का जिरा मसिनो चामल लिन खाद्य डिपोमा आए। दिनभर लाइन लागे। तर, रित्तो हात घर फर्किनुपर्यो। उपाध्याय र खड्काजस्तै खाद्य डिपोमा आएकाहरू रित्तो हात फर्किनुपरेको छ। जिल्ला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा र चारवटा बिक्री केन्द्र छन्। कम्पनीको शाखामा जिरा मसिनो चामल सकिएको छ। आवश्यक हुनेहरूले मोटो चामल लिइरहेको निमित्त शाखा प्रमुख रविनकुमार रेग्मीले बताए।
अन्य चार पालिकामा रहेका बिक्री केन्द्र भने रित्तै छन्। ठाटीकाँध, चामुण्डाविन्द्रासैनी, नौमूले र बेस्तडा बिक्री केन्द्रमा चामल छैन। नौमुले, भगवतीमाई, ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका खाद्य बिक्री केन्द्र झन्डै ३ वर्षदेखि रित्तै छन्। जिल्ला सदरमुकामस्थित खाद्य डिपो र बिक्री केन्द्रहरूमा चामल नहुँदा दसैंको मुखमा स्थानीय महँगो मूल्य तिरेर खाद्यान्न किन्न बाध्य छन्।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा खाद्य डिपो सञ्चालनमा आएको थाहा नपाएको स्थानीयवासी हर्कबहादुर विकले बताए। आफूले अहिलेसम्म सहुलियत दरमा चामल नपाएको उनको भनाइ छ। कम्पनीले दसैं तिहार र छठ पर्वका लागि असोज १ देखि कात्तिक १५ गतेसम्मसहुलियत छुट मुल्य पसल सञ्चालन गरेको छ। दैलेखका लागि ५ सय कोटा छुटमा बिक्री वितरण गर्ने छुट्याइएको थियो। कम्पनीले ५ सय क्विन्टल खाद्यान्न बिक्रीवितरणमा प्रतिकिलो सात रुपैयाँ छुट गरेको थियो।
चामल ढुवानी गर्न समयमै सम्झौता हुन नसकेका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी दैलेखको बिक्री केन्द्रहरूमा दसैंैअघि चामल पुग्ने सम्भावना छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्थल मार्गबाट खाद्यबस्तु ढुवानी गर्न असार १९ गते कम्पनीको दैलेख शाखा र चारवटै बिक्री केन्द्रलगायतका लागि टेन्डर आह्वान गरेको थियो।
कम्पनीका निमित्त शाखा प्रमुख रेग्मीका अनुसार केन्द्रबाट टेन्डर स्वीकृत भएका ढुवानी सेवालाई सम्झौता गर्न आउन असोज ५ गते सूचना निकालेको र १५ दिने समय दिइएको कारण दसैंअघि चामल बिक्री केन्द्रमा पुग्ने सम्भावना कम छ। सुर्खेतदेखि दैलेख सदरमुकामसम्म चामल ढुवानीका लागि बराल ढुवानी सेवा, राजापुरदेखि दैलेख सदरमुकामका लागि खुसी टेड्रर्स, सुर्खेतदेखि ठाटीकाँध, चामुण्डाविन्द्रासैनी, नौमूले र बेस्तडा बिक्री केन्द्रसम्म ढुवानीका लागि कौशिला जनरल स्टोर छनौट भएका छन्।