सबाल्टर्न विमर्शको अन्तरकथा

सबाल्टर्न विमर्शको अन्तरकथा

उत्तरआधुनिकताका बारेमा स्पष्टताभन्दा भ्रमहरू बढी छन्। यसको सिद्धान्तका प्रवर्तक र व्याख्याताहरूले सुरुदेखि नै उत्तराधुनिकतामाथि क्लिष्टताको जलप पोते। फलतः, आजपर्यन्त यसमाथि बहस जारी छ, र भ्रमहरू यथावत् छन्। 

उत्तराआधुनिकताकै जस्तो नियति ‘सबाल्टर्न अध्ययन’ को पनि भएको छ। ईस्वी संवत्को १९८० को दशकमा अभ्युदय भएको र आजसम्म आउँदा चार दशक पार गरेको सबाल्टर्न अध्ययन जति लोकप्रिय बन्न पुग्यो, उति नै विवादित र भ्रामक पनि बन्न पुग्यो। वास्तवमा, कुनै पनि सिद्धान्त वा दृष्टिकोणको उदयको अन्तर्यमा के मान्यता छ, त्यसको सटिक उत्खनन हुनु हो भने त्यसको शक्ति र सीमाका बारेमा मान्छेहरूले आफैं विश्लेषण गर्न सक्छन्। उत्तरआधुनिकता र सबाल्टर्न अध्ययनको हकमा, यिनैका प्रवर्तकहरूले पनि आफ्ना निर्देशक सिद्धान्तलाई स्पष्ट नपारेका कारण यिनीहरूमाथि धेरै नै बहस भयो र भ्रमहरू कायम रहे।

इतिहासको निर्मितिको प्रश्न सबाल्टर्न अध्ययनको केन्द्रीय प्रश्न हो। वास्तवमा, यो इतिहासको पुनर्लेखनको एउटा प्राज्ञिक प्रकल्प थियो। भारतीय मूलका इतिहासकार रणजित गुहाको नेतृत्वमा बनेको सबाल्टर्न अध्ययन समूहको स्पष्ट असन्तुष्टि भारतीय इतिहास, विशेषगरी उनको स्वतन्त्रताको इतिहास लेखनको मौजुदा पद्धतिसँग थियो। उनीहरू सोच्थे– राज्यद्वारा प्रायोजित इतिहासकारहरूले भारतको इतिहास लेखनमा सबाल्टर्न अर्थात् आर्थिक, राजनीतिक र शैक्षिक दृष्टिले पिछाडिएका र राज्यका निर्णायक निकायहरूमा प्रतिनिधित्व नपाएका वर्गहरूको योगदानलाई अन्देखा गरे। फलतः, भारतीय स्वतन्त्रताको इतिहासमा आर्थिक रूपले सम्पन्न, शैक्षिक रूपले उन्नत र राजनीतिक रूपले सुरक्षित वर्गकै योगदान लेखियो। 

त्यसैले, इतिहासमा निमुखाहरूको योगदानमाथि कसरी प्रकाश पार्न सकिन्छ भन्ने प्रश्न उनीहरूको मूलभूत प्रश्न थियो।

सबाल्टर्नहरू बोल्छन् र बोलिरहन्छन्। तर, तिनको आवाजलाई सुनिने बनाउन जुन पूर्वाधार चाहिन्छ, त्यो पूर्वाधारको अभाव छ। त्यही पूर्वाधारमध्येको एक इतिहासको सटिक लेखन पनि हो। अर्को, शैक्षिक विकास हो, राजनीतिक सबलीकरण र प्रतिनिधित्व हो, आर्थिक सबलीकरण हो।
 

वास्तवमा, सबाल्टर्नहरू बोल्न सक्दैनन् भन्ने एउटा भ्रामक विश्वास यस पद्धतिका पाठक र अनुसन्धातामाझ व्याप्त छ। यस मान्यताका लागि यस समूहकी पूर्वसदस्य गायत्री चक्रवर्ती स्पिभाकको एउटा लेख ‘के सबाल्टर्नहरू बोेल्न सक्छन् ?’ लाई आधार बनाइने गरिन्छ। तर, स्पिभाक आफैं तथा सबाल्टर्न अध्ययन समूहका कुनै पनि अन्य सदस्यले कतै पनि यस्तो तर्क गरेको पाइँदैन। बरू उनीहरूको तर्क छ– सबाल्टर्नहरू बोल्छन् र बोलिरहन्छन्। तर, तिनको आवाजलाई सुनिने बनाउन जुन पूर्वाधार चाहिन्छ, त्यो पूर्वाधारको अभाव छ। त्यही पूर्वाधारमध्येको एक इतिहासको सटिक लेखन पनि हो। अर्को, शैक्षिक विकास हो, राजनीतिक सबलीकरण र प्रतिनिधित्व हो, आर्थिक सबलीकरण हो।

विमर्शको केन्द्रीय प्रश्न हो– को हो सबाल्टर्न ? सामान्य अर्थमा, देशको मूल प्रवाहमा छुटेका, राजनीतिक प्रतिनिधित्व नपाएका, आर्थिक र शैक्षिक दृष्टिले पछि परेका समूहका मानिस नै सबाल्टर्न हुन्। सबाल्टर्न अध्ययन समूहले ‘सबाल्टर्न’ भन्ने शब्द इटालियन चिन्तक एन्तोनियो ग्राम्सीको ‘प्रिजन नोटबुक्स’ को एउटा भागबाट लिएका हुन्। जसको शाब्दिक अर्थ सेनामा अधिकार नभएको, तल्लो स्तरको सैनिक भन्ने बुझिन्छ। यस शब्दलाई व्यापक सामाजिक सन्दर्भमा प्रयोग गर्दा आफूसँग कुनै पनि प्रकारको निर्णायक अवसर वा क्षमता नभएका मानिसहरूको समूह भन्ने बुझिन्छ।

दक्षिण एसियाको सन्दर्भमा हेर्दा आर्थिक र शैक्षिक रूपले पछाडिएका र राज्य व्यवस्थामा प्रतिनिधित्व नपाएका किसान, मजदुर, दलित तथा नश्ल, वर्ग, लिंग, जात, लैंगिक स्वभाव वा धर्मका कारण पछाडि पारिएका समूहका मानिस सबाल्टर्न हुन्। तिनीहरूको कोणबाट इतिहासलाई हेर्नु र राष्ट्रको जीवन र अग्रगमनमा तिनको भूमिकालाई उजागर गर्नु सबाल्टर्न अध्ययनको प्राज्ञिक ध्येय हो। तिनको सबलीकरण र उचित प्रतिनिधित्व सुनिश्चित गर्नु यसको व्यापक सामाजिक र राजनीतिक उद्देश्य हो।

सबाल्टर्न अध्ययन समूहले ‘सबाल्टर्न अध्ययन ः दक्षिण एसियाली इतिहास र समाजमाथि आलेख’ शृंखलामा १० पुस्तक प्रकाशित गर्‍यो। पछि, यिनै प्रकाशित कृतिहरूबाट प्रतिनिधिमूलक रूपमा निबन्धहरू निकालेर, पश्चिमा, विशेषगरी अमेरिकी प्राज्ञिक जगत्लाई लक्षित गरी ‘सेलेक्टेड सबाल्र्टन स्टडिज’ अर्थात् सबाल्टर्न अध्ययनसम्बन्धी छानिएका आलेखहरूको सँगालो छापियो। मान्यता के थियो भने भारतीय इतिहासमा सम्भ्रान्त, साम्राज्यवादी तथा बुर्जवा राष्ट्रवादीहरूकै ग्रहण थियो।

सबाल्टर्न अध्ययनको यो उपक्रम त्यसैलाई हटाउने अभ्यास थियो। यसको आमुखमै सम्पादक रणजित गुहाले लेखका थिए, यस अभ्यासले ‘जनसाधारणको राजनीति’लाई केन्द्रीयता प्रदान गर्ने कोसिस गरेको हो। ती समूहले आफ्नो राजनीतिक वृत्तलाई स्वायत्त रूपमा कसरी निर्माण गरेका छन्, त्यसको विश्लेषण यस अध्ययनको एउटा मूल उद्देश्य थियो। सन् ८० को दशकमा आएको यो मान्यता र यसको अभ्यासबाट निस्केका १० ग्रन्थ र धेरै चयनित ग्रन्थको प्रकाशनसँगै यस सिद्धान्त र अध्ययन पद्धतिले विश्वव्यापी लोकप्रियता पायो।

हेगेल, मेकाले, जेम्स मिल र एडवार्ड थोम्पसनजस्ता पश्चिमी अध्येताले भारतीयहरूलाई इतिहासको अध्ययनका लागि आवश्यक आलोचकीय चेत नभएका भनेर व्याख्या गरिरहे। आफूमाथि भएको दमनको इतिहासम्मलाई पनि पाश्चात्य दृष्टिकोणबाटै बुझ्ने मान्छे भनेर आलोचना गरिरहे। यसै सन्दर्भमा पहिलोपल्ट भारतीय इतिहासकारहरूले आफूहरू पनि नवीन पद्धतिको आविष्कारसहित इतिहासको पुनर्लेखन गर्ने क्षमता राख्छन् भन्ने कुरा प्रमाणित गरे। उनीहरूले निर्माण गरेको पद्धतिले उत्तरऔपनिवेशिक तथा पछाडिएका राष्ट्रहरूमा बाँचिरहेका निमुखा वर्गलाई समाजको मूल प्रवाहसँग परिचित गराउने र उनीहरूको योगदानको आधारमा इतिहासको पुनर्लेखन गर्ने वैश्विक अभ्यास सुरु भयो।

हुन त तल्लो तप्कामा मानिसहरूको कोणबाट इतिहास लेख्ने अभ्यास यो नै नयाँ थिएन। बेलायतमा रेमन्ड विलियम्स र ईपी थोम्प्सन, तथा अमेरिकामा स्टेफेन ग्रिनब्लेट र साथीहरूले ‘बोटम अप’ अर्थात् तल्लो तप्काको कोणबाट इतिहास लेख्ने कोसिस गरेकै हुन्। तर, उनीहरूको नजरमा तल्लो हुनु भनेको आर्थिक रूपले तल्लो हुनु हो। यो प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एक माक्र्सवादी दृष्टिकोण हो। दशकौंदेखि परीक्षित माक्र्सवादी पद्धतिलाई नै पुनः अवलम्न गर्ने हो भने इतिहास लेखनको नयाँ अभ्यासको आवश्यकता पर्ला र ?

कसैलाई ‘तल्लो’ तप्काको भनी निर्धारण गर्नलाई माक्र्सवादीहरूले सोचेजस्तो केवल आर्थिक आधार पर्याप्त हुँदैन भन्ने प्रस्ट बुझाइ सबाल्टर्न समूहका इतिहासकारहरूमा थियो। दक्षिण एसियाको सांस्कृतिक र जातीय विविधतालाई पनि उनीहरूले सबाल्टर्नको निर्धारणको आधार माने। सोही आधारमा आफूलाई पश्चिमी इतिहासकार र देशभित्रै पनि केन्द्रभीरु, बुर्जुवा र राष्ट्रवादी इतिहासकारभन्दा पृथक् माने।

तर, लोकप्रियताको चरम चुलीमा पुगेका बेला सबाल्टर्न अध्ययन समूह टुट्यो। सुमित सरकारजस्ता सदस्य त प्रारम्भमै छुट्टिए। गायत्री चक्रवर्तीजस्ता प्रभावशाली सदस्यहरू स्पष्ट मतभेदका कारण पछि गएर छुट्टिए। पार्थ च्याटर्जी र दीपेश चक्रवर्तीहरू उत्तरऔपनिवेशिक अध्ययनका लागि बढी चिनिए, मानिए। सुमित सरकार, अचिन भानायक, विवेक चिब्बर र पिटर हिजजस्ता इतिहासकारका आलेख हेर्ने हो भने सबाल्टर्न अध्ययनमा रहेका समस्या र यसभित्र विद्यमान विरोधाभासहरू प्रस्ट रूपमा देखिन पुग्छन्।

पहिलो आलोचना– माक्र्सवादी मान्यताको विपरीत, केवल आर्थिक दशा र वर्गीय अवस्थितिलाई समाज विभाजनको आधार नमान्ने तर बहुसांस्कृतिक र जातीय यथार्थलाई पनि समेट्ने घोषणासहित मैदानमा उत्रिएका इतिहासकारहरूले आफ्नो सैद्धान्तिक मान्यताको आधारविन्दुका रूपमा माक्र्सवादी, त्यो पनि पश्चिमेली चिन्तक ग्राम्सीलाई लिए, जुन आफैंमा विरोधाभासपूर्ण भयो। दोस्रो, इतिहास लेखन र अध्ययनका लागि उनीहरूले अवलम्बन गरेको पद्धति भने करिबकरिब पश्चिमाहरूले नै निर्माण गरेको किसिमको रह्यो।

तेस्रो, उनीहरू कुनै रैथाने मान्यताका आधारमा अगाडि बढ्नुभन्दा पनि फुको, ल्योटार्ड र डेरिडाजस्ता पश्चिमा उत्तरआधुनिकतावादी तथा केही उत्तरऔपनिवेशिक अध्ययनका सिद्धान्तशास्त्रीहरूबाट बढी प्रभावित देखिए। उनीहरूसँग कुनै नौलो र देशी मान्यता थिएन। सबैभन्दा विरोधाभासपूर्ण कुरा के भयो भने कसै अरूले बोलिदिएर सबाल्टर्नको सबलीकरण हुँदैन भन्ने यी इतिहासकारहरू आफैं भने उच्च वर्गीय, शिक्षित र आर्थिक रूपले सबल व्यक्तिहरू हुन्। जसका बारेमा उनीहरू दशकौंसम्म लेखिरहे, ती जतना जहाँको त्यहीँ छन्।

दक्षिण एसियाली राज्यराष्ट्रको सन्दर्भमा अतिशय केन्द्रभीरु भनिएका राजनीतिक विचार र सत्ताहरूले नै खोजीखोजी सबाल्टर्नहरूको पाहिचान गर्ने, उठाउने र मूलधारसँग जोड्ने प्रयास गरिरहेको पछिल्ला वर्षहरूमा देखिन्छ। दक्षिण एसिया, विशेषगरी भारतको राज्यसत्ता र प्राज्ञिक व्योमबाट समाजवादी र माक्र्सवादी इतिहासकार, प्राज्ञिक र चिन्तकहरूको क्रमिक पलायन र अलप र अति दक्षिणपन्थी, धर्मनिकट र केन्द्रभीरू मानिएका समूहहरूको उदय बलियो हुँदै जानुले सबाल्टर्न इतिहासकारहरूका कतिपय आधारभूत मान्यतालाई चार दशक नबित्दै प्रश्नको घेरामा ल्याइदिएको प्रस्टै देखिएको छ।

भारत र नेपालको सन्दर्भ करिबकरिब उही हो। विगतका तीन दशकमा नेपालमा पनि सबाल्टर्नहरूको उत्थानको प्रश्न समाज रूपान्तरणको एउटा केन्द्रीय प्रश्न हो नै। यस दिशामा भएका राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अभ्यासले आफू सशक्त हुनुपर्छ भन्ने सन्देश सबाल्टर्न समूहसम्म पुर्‍याएको देखिएको छ। उनीहरूको चेतनामा असामान्य विस्तार भएको छ। सामाजिक–राजनीतिक क्षेत्रमा माओवाद, आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवाद, राज्यस्तरबाटै दलित, मुस्लिम र समावेशी आयोगहरूको गठनजस्ता अभ्यासहरू तथा साहित्यमा डा. तारालाल श्रेष्ठले नेतृत्वको गरेको निरन्तरको बहस, उन्मुक्त पुस्ताजस्ता समूहरूको सबाल्र्टन–पक्षीय लेखन अभ्यास र यस्तै अन्य समूहका सिर्जनशील आन्दोलनले सबाल्टर्नप्रतिको संवेदनशीलता बढेको छ।

केही प्रश्न ज्युँदा छन्। सबाल्टर्न अध्ययन, मूल रूपमा इतिहास पुनर्लेखनको अभ्यास हो, केवल साहित्य सिर्जनको आधार होइन। तर नेपालमा सबाल्टर्नको कोणबाट यथेष्ट साहित्य लेखिएको भए पनि इतिहास लेख्ने क्रम सुरु पनि भएको देखिँदैन। इतिहासकारहरू मौन छन्। इतिहासका विभागहरू कोमामा देखिन्छन्। विदेशी मिसनका एजेन्डाबाट निर्देशित कतिपय समूहहरूको अभ्यास फगत प्राज्ञिक विलासमा सीमित छ तर उठाउन खोजिएका समूह जहाँको त्यहीँ छन्। राजनीतिक प्रतिनिधित्वको प्रश्नमा पनि फगत प्रतिनिधित्व गराइएको छ। कुनै पनि गहन निर्णय प्रक्रियामा सबाल्टर्न सामेल भएको देखिँदैन। अँ, भोट बैंक भने उनीहरू अवश्यै हुन्।

आर्थिक र शैक्षिक विकासको मूल प्रवाहबाट बाँतर, सत्तार, माझी र राउटेजस्ता समूह तथा दुर्गम जिल्लाहरूमा बस्ने सबै जातका गरिब नागरिक अझै पनि कोसौं टाढा देखिन्छन्। सबाल्टर्नको नाममा अरूहरूकै हालिमुहाली छ। आर्थिक र शैक्षिक रूपले जति नै विपन्न र पछाडिएका भए पनि दुर्गम जिल्लामा बस्ने कतिपय जातका गरिबहरूलाई सबाल्टर्न नै नमान्ने अभ्यास पनि देखिएको छ।

फेरि निमुखाको उत्थानको जिम्मा लिएका माक्र्सवादी राजनीतिक दलहरू टुट्ने, फुट्ने, घोर दक्षिणपन्थीहरूसँग मिल्ने र सरकार बनाउने तथा कतिपय यस्ता दलहरू गएर राजावादीहरूसँग समेत गठबन्धन गर्नेजस्ता अभ्यास देखिएको छ। जसले यहाँको सबाल्टर्न उत्थानको प्रश्न फगत एउटा राजनीतिक एजेन्डा भएको र जमिनमा ठोस कामको आधार नभएको देखिन्छ।

यस्तो स्थितिमा वास्तविक सबाल्टर्न अध्ययनको अभ्यासले नेपालमा कुनै ठोस आकार र दिशा लिनै सकेको देखिँदैन। अँ, विचारोत्तेजक प्राज्ञिक विलास र साहित्य सिर्जनाको एउटा सुन्दर विषय भने यो अवश्यै बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.