दसैं आयो, चामल आएन
जाजरकोट : खाद्य डिपोमा सहुलियत दरको चामल आउला र दसैं मनाउँला भनेर आशमा बसेका जाजरकोटका ग्रामिण भेकका बासिन्दा चामल नपुगेपछि निराश भएका छन् । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् ढुवानी अनुदानमा दुर्गममा चामल पठाउँदै आएको भएपनि दसैंमा चामल नपाएपछि दुर्गमवासीको दसैं खल्लो भएको छ ।
खाद्य उत्पादन न्यून हुने जाजरकोटमा खडेरीले हिउँदेबाली नसप्रिएको, नयाँ बाली नपाकेको र निजी क्षेत्रबाट लगिएको खाद्यान्न महँगो हुने तथा प्रयाप्त नपाइने भएकाले स्थानीय खाद्य डिपोकै चामलमा भर पर्ने गर्दछन् ।
खाद्य डिपोमा चामल नभएको र ग्रामिण सडक बिग्रिएकाले खाद्यन्न ढुवानी हुन नसकेपछि जिल्लाका बारेकोट, रग्दा, भगवति, जुनीचाँदेलगायतका स्थानमा खाद्य संकट भएको हो ।
गाउँमा भएको अन्न सकिएको र थप खाद्यन्न ढुवानी नभएपछि स्थानीय भोकभोकै पर्ने अवस्था आएको बारेकोट २ का मनवीरे नेपालीले बताए । उनले भने,' ‘बारेकोटमा रहेको खाद्य डिपो रित्तै छ । नयाँ बाली पाकेको छैन । किनेर खाने अन्न पनि पाइदैन । डिपोमा चामल आउला र दसैं मनाउँला भनेको चामल नै नआएपछि साह्रै समस्या भयो । दसैं खल्लो भयो । ’
गाउँका अधिकांश मानिस गरिबी रेखामुनी छन् नलगाड १२ का मोहन बस्नेतले भने, ‘ घरमा अन्न छैन । मकैबाली पनि त्यति राम्रो भएन । किनेर खाने अन्न समेत छैन । स्थानीय चरम खाद्य संकटको चपेटामा परेका छन् ।’
चाडवाडमा गाउँमा भएको अन्न सकिएपछि समस्या भएको उनको भनाइ छ । जिल्लाका ग्रामिण भेकमा रहेका चार खाद्य डिपो र ६ बिक्री केन्द्र मध्ये पजारुको घोगी खाद्य डिपो र जुनीचाँदे बिक्री केन्द्रमा मात्र केही खाद्यन्न मौज्दात भएपनि अन्य ८ स्थानमा रहेका खाद्य डिपो र बिक्री केन्द्रमा एक गेडो पनि चामल छैन । ती सबै बिक्री केन्द्र र डिपोका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालयले टेण्डर आह्वान गरी स्वीकृति गरिसकेको भएपनि हालसम्म कसैले सम्झौता गरेका छैनन् ।
गत असोज ५ गते टेण्डर स्वीकृति भइसकेको छ । १५ दिनभित्र सम्झौता गरेर ढुवानी गर्नुपर्ने प्रावधान राखिएको खाद्य व्वस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका निमित्त प्रमुख रामप्रसाद पौडेलले बताए ।
‘ढिलोगरी टेण्डर स्वीकृति भएका कारण १९ गतेसम्म सम्झौता गर्ने म्याद थियो । त्यो दिन बिदा परेकाले सम्झौता गर्ने कार्यालय खुल्ने दिन अन्तिम म्याद २३ गते सम्म हुनेछ,' उनले भने ।
खाद्य डिपो चौखामा ८ सय क्वीन्टल चामलको कोटा निर्धारण गरिएको छ । चौखामा चामल ढुवानीका लागि मष्टा ज्ञानकुञ्ज कन्ट्रक्सन एण्ड सप्लायर्स, एक हजार क्वीन्टल कोटा तोकिएको बारेकोटको घाट डिपो र पाँच सय क्वीन्टल कोटा तोकिएको काउलीमा मिलन चक्र सप्लायर्सको फर्मको टेण्डर स्वीकृति भएको छ ।
त्यस्तै पाँच सय क्वीन्टल चामलको कोटा रहेको दशेरा डिपो, टापुचौर, ताँगा, रुजुतरामा ढुवानीका लागि एमवी विल्डर्स एण्ड सप्लायर्सको टेण्डर स्वीकृति भएको छ । एक हजार क्वीन्टल कोटा रहेको पजारुको घोगी डिपोका लागि ए एण्ड ए कन्ट्रक्सन एण्ड सप्लायर्सको टेण्डर स्वीकृत भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । तर अहिलेसम्म कुनै पनि सप्लायर्स सम्झौताका लागि कार्यालय नआएको उनले बताए ।
जिल्ला सदरमुकाममा गत वर्षकै एक हजार पाँच सय क्वीन्टल चामल मौज्दात छ । सदरमुकाममा खासै बिक्री हुँदेन । ग्रामिण भेगमा रहेका बिक्री केन्द्र र डिपोमा चामलको माग धेरै छ । चामल खोसाखोस हुन्छ । चाडवाडको बेला चामल पुरयाउन कसैले पनि पहल नगरेको स्थानीयको गुनासो छ ।
गत वर्षहरुमा जिल्ला खाद्य व्यवस्था समितिले जिल्लामा मौज्दात रहेको खाद्यान्न गाउँमा पठाउन आवश्यक पहल गथ्र्यो यसपटक कसैले गरेन । टेण्डर स्वीकृति हुने समय लाग्यो । अब सम्झौता हुन समय लाग्ला । जसका कारण दसैंतिहारमा सहुलियत दरको चामल पाउने स्थानीयको आशा निराशामा परिणत भएको छ ।
सप्लायर्सले हिउँदमा बाटो सप्रेपछि चामल लिदा फाइदा हुन्छ । अहिले बाटो पनि बिग्रएको छ । वर्षात नरोकिएकाले चामल पनि विग्रन सक्ने भएकाले ढिलाइ गर्न खोजेको देखिन्छ बारेकोट गाउँपालिकाका पूर्वअध्यक्ष महेन्द्र शाहले भने, ‘स्थानीय प्रशासन, पालिका र खाद्य व्यवस्था कार्यालयले ठेकेदारलाई तत्काल चामल ढुवानी गर्न पहल गर्नुपर्छ ।’
ढुवानी सहज भए निजी क्षेत्रका व्यापारीले पनि बिक्रीका लागि खाद्यान्न लगिहाल्छन् जुनीचाँदे ८ का हिमाल घर्तीले भने दसैं तिहारजस्तो चाडवाडमा सहुलित दरको चालम गाउँमा पुरयाउन सरकारले पहल गर्नुपर्छ।
जाजरकोटमा बर्दियाको राजापुर, बाँकेको नेपालगञ्ज, दाङ्गको तुल्सीपुर र सुर्खेतबाट चामल ढुवानी गर्ने गरिएको छ ।