कलेजमा डिप्रेसन

कलेजमा डिप्रेसन

दुई दशक यता विश्व दु्रत गतिमा भइरहेको प्रविधिको विकासले प्रभावित भइरहेको छ। हातहातमा मोबाइल फोन, घर–घरमा इन्टरनेट तथा स्याटेलाइट सूचना प्रविधिका कारण मानिसको आवश्यकताहरू घर–घरमा पुगेका छन्। तर, यस्ता आवश्यकताहरू परिपूर्तिका लागि मानिसलाई निकै मेहनत गर्नु परेको छ, कठिनाइहरू झेल्नु परेको छ। त्यहीमाथि प्राकृतिक विपत्ति, जनसंख्याको तीव्र वृद्धि, बढ्दो सहरीकरण, सहरकेन्द्रित बसाइसराइ, आधुनीकरण, फैसन, साँघुरो बाटोघाटो, कठिनाइपूर्ण यात्रा, उपभोग्य वस्तुहरूको अभाव तथा राजनीतिक उथलपुथलले गर्दा विश्वका अधिकांश समाजले दिनहुँ प्रशस्त चाप(स्ट्रेस) तथा तनाउ(स्ट्रेन) खेप्नु परेको छ। मानिसको जीवन पनि एकदम तनाव र धपेडीपूर्ण भएको छ। यस किसिमको स्ट्रेस र स्ट्रेनले गर्दा मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नु कुनै अनौठो होइन। 

हिजोआजको विश्वमा मानसिक समस्याहरूबाट सबैभन्दा बढी किशोर तथा युवाहरू पीडित छन्। डिप्रेसनलाई त युवाहरूको मानसिक समस्या भने पनि हुन्छ। स्कुल तथा कलेज पढ्ने थुप्रै विद्यार्थी यस रोगबाट पीडित हुने गरेका छन् । तर, अधिकांश यस्ता विद्यार्र्थीलाई आफू डिप्रेसनबाट पीडित भएको थाहा नै हुँदैन।

हालै अमेरिकामा गरिएको एक सर्वेक्षणले अमेरिकाका ३० प्रतिशत कलेज विद्यार्थी डिपे्रसनबाट पीडित हुने गरेको देखाएको छ। नेपालमा यस किसिमको सर्वेक्षण नभएको भए तापनि यसैको सेरोफेरोमा नै नेपालका युवा विद्यार्थी डिपे्रसनबाट पीडित भएको अनुमान गर्न सकिन्छ। डिप्रेसनले मानिसको सिक्ने र सम्झने क्षमतामा समेत प्रभाव पार्ने हुँदा डिप्रेसनको प्रकोपमा परेका विद्यार्थीको पढाइलेखाइ कमजोर हुन पुग्छ। आत्मविश्वासको कमीका कारण पढाइलेखाइमा मात्र होइन, हरेक क्षेत्रमा उनीहरूपछि पर्छन्। जसले गर्दा उनीहरूको आत्मबल झनै कमजोर हुन पुग्छ। कतिपय यस्ता विद्र्याीथ चुरोट, जाँडरक्सी तथा लागू पदार्थको कुलतमा पर्ने गर्छन् भने कतिपयले आत्महत्यासमेत गर्ने गर्छन्।

स्नायु विज्ञानको भाषामा डिप्रेसनलाई नक्कली भुल्ने रोग (सिउडो डिमेन्सिया) पनि भनिन्छ। वास्तवमा यो भुल्ने रोग (एमेन्सिया) वा डिमेन्सिया त होइन तर त्यस्तै–त्यस्तै नक्कल देखाउने रोग हो। यो रोगले मानिसको प्रक्रियागत मेमोरीमा त कुनै असर गर्दैन तर फ्याक्ट मेमोरीलाई भने प्रभावित गर्छ। उदाहरणका लागि डिप्रेसनबाट पीडित व्यक्तिले जुत्ताको तना बाँध्न वा साइकल तथा गाडी चलाउन बिर्सिंदैनन् तर चिनेजानेको मानिसको नाम बिर्सन सक्छन्, हातमै घडी बाँधेर घडी खोजिरहेका हुन सक्छन्। मोजा हातमै समाएर हिजो राखेको मोजा कहाँ छ भनेर कराइरहेका हुन सक्छन्। भर्खरै पढेको कुरा बिर्सन सक्छन्। यही कारणले गर्दा डिप्रेसनको प्रकोपमा परेका विद्यार्थीले पढेको राम्रोसँग बुझ्न सक्दैनन्, जे जति बुझेका हुन्छन्, त्यो पनि छिट्टै बिर्सिन्छन्।

वास्तवमा डिप्रेसन यस्तो मानसिक समस्या हो, जसले नक्कली भुल्ने समस्या मात्र पैदा गर्दैन कि मानिसलाई नै एउटा जिउँदो लास जस्तो बनाइदिन्छ। डिप्रेसनलाई सानोतिनो समस्या सम्झनु हुँदैन, यसले मन र मस्तिष्कलाई त असर गर्छ–गर्छ, शरीरका सम्पूर्ण भागमा नै कुप्रभाव पार्छ, मुटुको रोग पैदा गर्ने एउटा कारण डिप्रेसन पनि हो। त्यसैले त चर्चित राजनीतिज्ञ तथा साहित्यकार विंस्टन चर्चिल, जो आफैं कुनै बेला डिप्रेसनको चपेटामा परेका थिए, ले डिप्रेसनलाई ब्लैक डग भनेका छन्।

डिप्रेसनको मूल लक्षण भनेको उदासीनता तथा खिन्नता हो। डिप्रेसनबाट पीडित व्यक्तिको मन सधैं उदासी र निराशाले घेरिएको हुन्छ। कुनै पनि आनन्ददायक घटनाले उसलाई खुसी पार्दैन। डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ। हरेक मानिसको दैनिक जीवनमा उतार–चढाव आउँछन्, केही समय रहन्छन् तर सुखद घटनासँगै मन पुनः खुसी हुन्छ। तर, डिप्रेसनमा चाहिँ यस्तो हुँदैन। कडा खालको डिप्रेसनको चपेटामा परेको व्यक्ति कहिल्यै खुसी देखिँदैनन्। अतः उदासीनसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नु जस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, कब्ज रहनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हुँदै जानु वा धेरै खानु, यौन इच्छामा कमी आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणमध्ये तीन–चार लक्षणहरू देखिएमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ। यसका साथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यस समस्याको गम्भीर स्थितिलाई दर्शाउँछ।

हुन त आधुनिक गलाकाट प्रतिस्पर्धाको युगमा हरेक मानिसलाई आफ्नो जीवनको कुनै न कुनै क्षणमा उदासीको कटु अनुभव हुने गर्छ। जब मानिसको जीवनमा कठिनाइ, असफलता, कुण्ठा तथा तीव्र तनाव उत्पन हुन्छ, तब व्यक्ति डिप्रेसनको सागरमा डुब्न पुग्दछ। तर, अधिकांश यस्तो उदासी एक-दुई दिनमा नै ठीक हुन्छ। मानिस पहिलाको अवस्थामा नै फर्किन्छ र पुनः दैनिक जीवनमा रमाउन थाल्छ। तर, दुई-तीन सातासम्म यस्तो उदासी रहिरह्यो भने त्यो क्लिनिकल डिप्रेसन हुन सक्दछ। 

कलेजमा प्रमुख डिप्रेसनका साथै डिस्थिमिक डिप्रेसनमा परेका विद्यार्थी प्रशस्त्र देखिएका छन्। भोक कम लाग्नु वा बढी खानु। निद्रामा कमी वा अति निद्रा। थकान वा ऊर्जाको कमी। आत्मविश्वासमा कमी। एकाग्रता तथा निर्णय क्षमतामा कमी। निराशाको अनुभव जस्ता लक्षणहरू कम्तीमा दुई वर्षदेखि प्रायः हरेक दिन वा हरेक साता देखा परेका छन् भने त्यसलाई डिस्थिमिक डिप्रेसन मान्नुपर्छ। तर, बालक तथा किशोरको हकमा एक वर्षदेखि यस्तो लक्षणहरू देखा पर्छ भने त्यो डिस्थिमिक डिप्रेसन हुन सक्दछ।

अधिकांश डिस्थिमिक डिप्रेसन फिजिसियनद्वारा निदान भएको पाइँदैन। त्यसैले अधिकांश यस्ता रोगीहरूको जीवन ढुलमूल ढुलमूल चलिरहेको हुन्छ। अर्को शब्दमा भन्ने हो भने यस्ता व्यक्तिहरूको जीवन चार्ज सकिन आँटेको ब्याट्री जस्तो हुन्छ। त्यसैले यस्ता व्यक्तिहरूले जीवनमा राम्रो प्रगति गर्न सक्दैनन्। कतिपय व्यक्ति त बाल्यकालदेखि नै डिस्थिमिक डिप्रेसनको सिकार भई बुढेसकालसम्म धिपधिप जीवन बाँचेर मर्छन्। यहाँ अर्को उल्लेखनीय कुरा के भने डिस्थिमिक डिप्रेसनका कारण नै कतिपय कलेजका विद्यार्थी पढाइलेखाइ तथा नेतृत्वदायी भूमिकामा पछाडि परेका हुन सक्छन्। त्यसैले यस्ता विद्यार्थीका अभिभावकहरू यसप्रति सचेत हुनुपर्छ र समयमै मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्छ।

डिप्रेसनको कुनै एक कारण छैन। डिपे्रसन विभिन्न कारणले पैदा हुने गर्छ। जस्तो कि डिप्रेसन अनुवांशिक कारण, मस्तिष्क रसायनको असन्तुलन, मनोगत तथा सामाजिक कारणहरू। तर, अधिकांश डिपे्रसनका कारण मनोसामाजिक नै हो। जस्तो कि घर छोडेर कलेज पढ्न आएका विद्यार्थीको हकमा पहिलो पटक परिवारबाट टाढा हुनु। नयाँ वातावरणमा आफूलाई नितान्त एक्लो महसुस गर्नु। पैसाको चाँजोपाँजो मिलाउन कठिन हुनु। आफूले पढ्न खोजेको विषय पढ्न नपाउनु। यस्तैगरी, पढाइलेखाइको अध्यधिक चाप। आपसी तथा पारिवारिक सम्बन्ध बिग्रनाले पनि विद्यार्थी डिप्रेसनको चपेटामा पर्न सक्छन्।

डिप्रेसन उचित औषधोपचारबाट ठीक हुन्छ। औषधिको अतिरिक्त मनोपरामर्शद्वारा पनि डिप्रेसन ठीक हुन्छ। अधिकांश विदेशी मनोचिकित्सकहरूले डिप्रेसनको उपचारका लागि औषधिसँगै मनोपरामर्श (साइकोथेरापी) लाई उपयोगमा ल्याउँछन्। नेपालमा भने मनोपरामर्श सेवा सर्वसुलभ नभएका कारण चिकित्सकले औषधिलाई नै जोड दिन्छन्। तर, कम कडा खालको डिप्रेसनको उपचारमा औषधिभन्दा मनोपरामर्श नै उत्तम मानिन्छ। यसका साथै डिप्रेसनको प्रभावकारी उपचारमा बिरामी स्वयंको, परिवार तथा साथीसंगीहरूको महत्वपूर्ण भूमिका रहन्छ।

डिप्रेसनबाट पीडित व्यक्तिले शंका लागेमा छिटोभन्दा छिटो मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्छ। जति छिटो औषधोपचार गरियो त्यत्ति नै छिटो डिप्रेसन ठीक हुन्छ, पुनः हुने सम्भावना पनि कम हुन्छ। चिकित्सकको परामर्श अनुरूप औषधि खाने तथा गृहकार्य गर्ने। ठूलो कार्यलाई सानो–सानो भागमा बाँडेर पालैपालो गर्ने। एक्लै नबस्ने। साथी तथा परिवारका सदस्यसँग आफ्नो समस्या बाढ्ने। ठूला–ठूला निर्णयहरू आफैं नगर्ने। यस्ता निर्णयहरू लिनुपर्दा साथी वा परिवारका सदस्यहरूको सहयोग लिने। हल्का व्यायामहरू गर्ने। हास्यव्यंग्य सिनेमाहरू हेर्ने तथा मनोरन्जनका क्रियाकलापमा सहभागी हुने गर्नुपर्छ।

आफ्नो कुनै साथीमा डिप्रेसनको लक्षण देखिएको छ भने उसलाई चिकित्सकसँग सम्पर्क राख्न सल्लाह दिने। उपचारप्रति ऊ उदासीन देखिएको खण्डमा मनाएर उसलाई चिकित्सकहाँ लिएर जाने। बिरामी साथीलाई सक्दो सहयोग गर्ने, उसको समस्यालाई मनन गर्ने तथा उसलाई उत्साह तथा हौसला दिने। यदि बिरामी साथीले दिनदिनै मरीमरी बाँच्नुभन्दा एक दिन मर्न निको जस्ता कुराहरू गरेको खण्डमा उसको परिवारको सदस्यहरू तथा उसको उपचारमा संलग्न चिकित्सकलाई जानकारी दिने। साथीलाई खेल्न तथा घुमफिर गर्न लिएर जाने।

स्कलकलेजमा डिप्रेसन न्यूनीकरण गर्नका लागि कलेजको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले हरेक कलेजले आफ्ना विद्यार्थीलाई डिप्रेसन तथा अन्य मानसिक रोगबाट जोगाउन मनोपरामर्श सेवाको व्यावस्था गर्नुपर्छ। विद्यार्थी शारीरिक तथा मानसिक रूपमा स्वस्थ भएको खण्डमा नै कलेजले आशातीत शैक्षिक सफलता प्राप्त गर्न सक्दछ। युवाविद्यार्थी शारीरिक तथा मानसिक रूपमा स्वस्थ र शिक्षित भएको खण्डमा नै देश समृद्ध हुन्छ। (लेखक साइकोथेरापिष्ट हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.