सडक नखुल्दा उपचारबाट वञ्चित
बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–६ का बिरे बडुवाल बिरामी भएपछि उनका आफन्तले जिल्ला अस्पताल बाजुरा पुर्याए। जिल्ला अस्पतालले उनलाई रेफर गर्यो। रेफरपछि सदरमुकामबाट बिरामीलाई आफन्तले बोकेर अछामको बयलपाटा अस्पताल लगे।
‘रेफर गरेको दिन राती भइहाल्यो, रातमा बिरामी कसरी बोक्नु ? अर्को दिन पनि एम्बुलेन्स पाइएन। बोकेर गाडी आउने ठाउँसम्म पुर्याइयो। तर, बयलपाटा अस्पताल पुर्याउँदा पुर्याउँदै बिरामीको मृत्यु भयो’ भतिजा परे बडुवालले भने।
बडुवालको मृत्यु एक प्रतिनिधि घटना हो। साँफेबगर–मार्तडी सडकको बल्देमा गएको पहिरोको विकल्प नखोजिदा पाँच वर्षदेखि बर्सेनि चार÷पाँच जना बिरामीको मृत्यु हुने गरेको छ। बल्देको पहिरोका कारण बिरामीले समयमा उपचार नपाएर समस्या भोग्दै आएका छन्।
‘आफन्तको सहयोगले पहिरो त पार गरियो। उता एम्बुलेन्स चाहार्दै दिन बित्यो। अस्पताल पुग्ने समय, एम्बुलेन्स खोज्दै बितेपछि बिरामीलाई आईसीयू भएको अस्पतालसम्म पुर्याउनुपर्नेमा जेनतेन अछामको बयालपाटा अस्पताल पुर्याइयो, त्यहाँ पुर्याउँदा मृत्यु भयो’, भतिजा परे बडुवालले थपे। ‘स्वासप्रस्वासका बिरामीलाई अक्सिजनको सहारामा लैजानुपर्ने थियो। दुई तीनजना मान्छे बोक्न, दुई÷तीनजना अक्सिजनको सिलिन्डर, स्लाइनको बोतल समात्ने अर्कै चाहिन्छ।’ उनले भने। ‘बल्देको पहिरोमा एक्लै हिँड्न गाह्रो छ। बैकल्पिक सडक भएको भए त जिल्ला अस्पतालकै एम्बुलेन्स लिएर समयमै सुविधा सम्पन्न अस्पतालमा पुर्याउन सकिन्थ्यो।’
जिल्ला सदरमुकाम जोड्ने एक मात्र राजमार्ग साँफे–मार्तडी सडकखण्डको बल्दे अमकोट सडक पाँच महिनादेखि नखुल्दा बाजुरा जिल्लाका बिरामी समस्यामा परेका छन्।
२०७९ असार पहिलो सातादेखि बल्दे अमकोटमा आएको पहिरोले सडक बन्द हुँदा सदरमुकाम मार्तडी र जिल्लाका पूर्वी उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह यातायात सेवाबाट बन्चित भएका छन्। यसरी सडक बन्द हुदा कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल बाजुरा र अन्य स्वास्थ्य चौकीबाट रेफर गरिएका बिरामी समस्यामा परेको सामाजिक अगुवा हर्क खडायतले बताए।
‘सडक प्राकृतिक प्रकोपका कारण बन्द भयो, त्यो कोही कसैले रोक्न सक्दैन। तर, सदरमुकाम जोड्ने सडकको बैकल्पिक उपाय नअपनाउनु सरकार, बाजुरा प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयको नालायकीपन हो’ उनले भने। ‘दलका नेताहरू त कानमा तेल हालेर सुतेका छन्। चुनावका बेला हामीले भोट मात्रै दिनुपर्ने।’
प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले असारको पहिलो साताबाट सडक अबरुद्ध भएको र सडक अबरुद्ध हँुदा नागरिकले अत्यन्तै दुःख पाएका स्वीकार गरे। ‘सदरमुकाम जोड्ने एक मात्र राजमार्ग त्यही हो। करिव डेढ–दुई किलोमिटर सडकखण्डमा ठूलो पहिरो गएकाले तत्काल खुलाउन सक्ने अवस्था छैन। वर्षात पनि अहिलेसम्म नरोकिएकाले सडक खुलाउन समस्या भयो’ प्रमुख जिल्ला अधिकारीले भने।
उनले अब वर्षा रोकिएकाले सडक खोल्ने प्रयास गरिने बताए। ‘हामीले सडक डिभिजनलाई निर्देशन दिइसकेका छौं, सडक खोल्ने प्रयास भइरहेको छ’ प्रमुख जिल्ला अधिकारीले भने। ‘काम निरन्तर भएपछि केहीदिनमै सडक खुल्छ।’
पाँच महिनासम्म सडक बन्द हुन्दा जिल्लामा दैनिक उपभोग्य सामानको अभाव भएको छ। मार्तडीका व्यापारी प्रकाश थापा भन्छन्, ‘दसैंसम्म त जेनतेन भरिया र खच्चरबाट बोकाएर दैनिक उपभोग्य सामान पुर्याइयो, भरियाद्वारा बोकाएर बिक्री गरौं भने उपभोक्ता मर्कामा पर्छन्।
आफुले घाटा खाएर बेच्न मिलेन।’सडक सञ्चालन नहुँदा १७ सय पर्ने खाना पकाउने ग्यासको मुल्य २४ सय पुगेको छ। ‘उपभोक्ताको माग बढी भयो, भरियाद्वारा उपभोक्ताको माग धान्न नसक्दा ग्यासलगायत दैनिक उपभोग्य सामाग्रीको अभाव भएको छ’ थापाले भने।