छठको रौनक बढ्यो, त्रियुगा नदी सिँगारिँदै
उदयपुर : साझा सांस्कृतिक धरोहरका रूपमा स्थापित छठ पर्वको तयारी पूरा भएको छ। सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारामा रातभर जाग्राम बसेर गरिने पूजाको घाट व्यवस्थापन लगायतका कामहरू पूरा भएको हो।
नदी किनारामा विभिन्न स्टलहरू निर्माण गरी आकर्षक बनाइएको छ। नदी किनारामा दैनिकजसो सरसफाई, सम्याउने, प्रवेशद्वार निर्माण, छठ पूजामा चाहिने सामग्री किनबेचले छठको रौनक बढेको छ।
छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहका अनुसार सामान्य प्राविधिक कामबाहेक सबै पूरा भएको छ।
मुख्य घाट व्यवस्थापन, मूर्ति स्टल निर्माण, सांस्कृतिक कार्यक्रमका लागि मञ्च निर्माण, स्टल, मुख्य तथा सहायक प्रवेशद्वार, बिजुली बत्ती, साउण्ड सिस्टम लगायतका काम पूरा भएको उनले बताए।
पूजा स्थल तथा तलाउका घाटहरूलाई आकर्षक रूपमा सजाइएको छ। नहाय खायसँगै सुरु हुने छठ पूजामा विशेषगरी उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ।
पर्वलाई विगत वर्षभन्दा अझ उत्कृष्ठ, व्यवस्थित र भव्य बनाउन आवश्यक अनुसार उपसमिति तयार गरी जिम्मेवारी बाँडफाँट गरिएको उनले बताए।
कात्तिक १३ गते अर्थात आइतबार त्रियुगा नदी किनारामा अस्ताउँदो सुयलाई अर्घ दिई रातभर जाग्राम बसेर पूजाआरधना गरिने छठ पूजाका लागि करिब पाँच सय मिटर जग्गामा घाट व्यवस्थापन गरिएको समितिका सल्लाहकार संयोजक अध्यक्ष राजकुमार शर्माले जानकारी दिए। घाटमा एक हजार बढीले पूजा गर्न सकिने उनले बताए।
समितिले बिहानैदेखि समाजसेवीको सहभागितामा नदी आसपासका क्षेत्रका फोहर सरसफाइ गरिरहेको छ। समितिका अध्यक्ष साहका अनुसार व्यापारीका लागि १० वटा स्टल, मूर्तिका लागि एक स्टल, मञ्च कार्यक्रमका लागि एउटा स्टल र बाँकी सबै पूजाका लागि घाट निर्माण गरिएको छ।
यो वर्षको पर्वमा लोकसंस्कृति झल्कने गरी खुल्ला नृत्य तथा गायन प्रतियोगिता, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, सम्मान लगायतका कार्यक्रम तय गरिएको उनले बताए।
त्यसैगरी छठलाई लक्षित गर्दै चोकचोकका व्यापार व्यवसाय बढाइएको छ। छठका अवसरमा पूजा सामग्री तथा फलफूलको व्यापार ह्वात्तै बढेको छ। छठ पर्वमा केराको अत्यधिक प्रयोग हुन्छ।
विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, निबुवा, बेसार, चामल र गहुँको आँटा तथा गुंडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरू यस पर्वमा प्रसादका रूपमा चढाइन्छ।
केरा, नरिवल लगायत पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भन्टावारी, त्रिवेणी, इनरुवा र भारदहसँगै भारतको आसाम, पटना, मोकामा, हांजीपुर, पश्चिम बंगाल, ठाकुरगंज तथा वीरपुरलगायत सहरबाट भित्रिने गरेको छठ पूजा व्यवस्थापन समितिका सल्लाहकार खेमनारायण यादव (राहुल)ले बताए।
नहाय खायसँगै सुरु हुने छठ पर्वको दोश्रो दिन व्रतालुहरू दिनभर उपवास बसी राति गुलियो पुरी, खीर, नुन नहालेको तरकारी खाने गर्दछन्। जसलाई स्थानीय भाषामा 'षडना' भनिन्छ।
षडनाको प्रसाद सपरिवार सँगै बसेर खाने चलन छ। षडनापछि निराहार व्रत बस्नेहरूले भोलिपल्ट अस्ताउँदो सूर्य पूजा र पर्सिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गर्ने प्रचलन रहेको छ।