घरेलु तथा साना उद्योग पर्यटन उद्योग कार्यालयमा रूपान्तरण
स्याङ्जा : घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाको नाम परिवर्तन भएर 'पर्यटन तथा उद्योग कार्यालय स्याङ्जा' को नाममा रूपान्तरण गरिएको छ।
रूपान्तरण भएसँगै कार्यालयले साविकका कामसँगै पर्यटन सम्बन्धी जिम्मेवारी पनि थप भएको छ।
कार्यालयले यसअघि प्रदान गर्दै आएको सेवा प्रवाह यथावत रही पर्यटनको समेत जिम्मेवारी थप भएको कार्यालयका प्रमुख श्रीप्रकाश रेग्मीले जानकारी दिए।
उनका अनुसार, यसअघि ७ जनाको दरबन्दी रहेको कार्यालयमा प्राविधिकसहित ३ जना कर्मचारी थप भएर १० पुगेका छन्।
गण्डकी प्रदेश सरकारको भदौ २० को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कात्तिक १ गतेदेखि लागू हुने गरी कार्यालयका नाम परिवर्तन सहित जिम्मेवारी थप भएको बताइएको छ।
अब कार्यालयले ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता अनुमति र नवीकरण, पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल, गाइड, र्याफ्टिङ लगायत साहसिक पर्यटन आदिको प्रवर्धन, दर्ता अनुमति नवीकरण र नियमन सहित वार्षिक विकास कार्यक्रम अनुसार पर्यटकीय पूर्वाधारहरूको निर्माण तथा विकास गर्ने काम गर्ने भएको प्रमुख रेग्मीले जानकारी दिए।
यसअघि 'घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जा' को नामबाट सेवारत कार्यालय यही कात्तिक १ गतेदेखि कार्यालयको नाम परिवर्तन भएको हो।