बैतडीमा कांग्रेस नगर सभापति नै 'बागी' उम्मेदवारको पक्षमा
बैतडी : बैतडीको पाटन नगरपालिकाका कांग्रेस नगर सभापति मान बहादुर ऐर नै 'बागी' उम्मेदवारको पक्षमा लागेका छन्।
कांग्रेसबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका प्रतिनिधि सभाका उम्मेदवार केशवबहादुर चन्द र प्रदेश क्षेत्र नं (क)का प्रदेशसभा सदस्य उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा उनी खुलेका हुन्।
कांग्रेसबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका चन्द र भण्डारीले बैतडीको खोडपेमा गरेको सयुक्त पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नगर सभापति मान बहादुर ऐरले स्वतन्त्र उम्मेदवारको पक्षमा लागेको बताएका हुन्।
नगर सभापति ऐरले नेपाली कांग्रेसका पाटन नगरपालिका रहेका ८५ प्रतिशत कार्यकर्ताहरू स्वतन्त्रको पक्षमा रहेको बताउँदै आफूपनि स्वतन्त्रको पक्षमा लागेको बताएका छन्।
'मलाई नगर सभापति बनाउन सहयोग गर्ने करिब ८५ प्रतिशत कार्यकर्ताहरू हरिमोहन भण्डारी र केशव बहादुर चन्दको पक्षमा रहेका छन्, त्यसलै म पनि बाध्य भएर दुवैको पक्षमा लागेको हुँ,' पत्रकारहरूसँग कुरा गर्दै उनले भने।
उनले आफूलाई कार्यकर्ताले कारवाही नगर्ने र माथिबाट जोकसैले कारवाही गरेपनि फरक नपर्ने समेत बताएका छन्। कार्यकर्ताहरूको भावनाअनुरूप नै आफू स्वतन्त्र उम्मेदवारहरूको पक्षमा लागेको बताएका हुन्।
यसैगरी कांग्रेसबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका प्रदेश क्षेत्र नं (क)का उम्मेदवार भण्डारीले नेपाली कांग्रेसको भावना अनुसार अघि नबढेको र यसको मूल्य मंसिर ४ मा चुकाउनुपर्ने बताएका छन्।
क्षेत्र नं (क)मा आफ्नो जीत सुनिश्चित रहेको उनको दाबी छ। पाटन नगरपालिकाको मात्रै नभई क्षेत्र नं (क)मा रहेका पाँचवटै पालिकाका सभापति र वडा सभापति आफ्नो पक्षमा रहेको उनी बताउँछन्।
कांग्रेसबाटै बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका कांग्रेस नेता चन्दले पनि बैतडीका कांग्रेस नेताहरूसमक्ष सल्लाह गरेर नै आफूले उम्मेदवारी दिएका बताए।
पत्रकार सम्मेलनमाफर्त उनले बैतडीमा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसको बलियो उपस्थिति हुँदाहुँदै पनि माओवादी केन्द्रको भागमा दिएको भन्दै असन्तुष्ट रहेको बताएका छन्।
बैतडीमा गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्र कुवँर (विजयसुन्दर)ले टिकट पाएका हुन् भने प्रदेश सभासदस्यका लागि क्षेत्र नं (क)बाट कांग्रेसका नेता वीरबहादुर बिष्टले र क्षेत्र नं (ख) बाट कांग्रेस नेता शिवराज भट्टले टिकट पाएका हुन्।
प्रतिक्रिया दिनुहोस !