सामग्री नपुग्दा हुम्लामा मतदाता शिक्षा कार्यक्रम अवरुद्ध

सामग्री नपुग्दा हुम्लामा मतदाता शिक्षा कार्यक्रम अवरुद्ध

सिमकोट : समयमै निर्वाचन सामग्री नपुगेपछि हिमाली जिल्ला हुम्लामा आज (शुक्रबार)देखि सुरु हुने भनिएको मतदाता शिक्षा कार्यक्रम अवरुद्ध भएको छ। 

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एकमात्र जिल्ला हुम्लामा निर्वाचन आयोगले पठाउने मतदाता शिक्षा सामग्रीहरू समयमा ढुवानी नभएपछि मतदातालाई मतदान गर्न सिकाउने अभियान सुरु हुन नसकेको हो। 

जिल्ला निर्वाचन कार्यालय हुम्लाले जिल्लाका सातवटै गाउँपालिकाले छनोट गरेर निर्वाचन सम्पर्क व्यक्तिलाई सिमकोटमा बोलाएर सोमबार अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेपछि आयोगको केन्द्रीय तालिका अनुसार हुम्लाका कुनैपनि स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सुरु नभएको हो। 

४० वटा वडा भएको हुम्लामा अधिकांश गाउँपालिकाले प्रतिवटा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक छनोट गरेको भएपनि निर्वाचन सामग्रीको अभावले मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन नसकेको अदानचुली गाउँपालिकाका निर्वाचन सम्पर्क व्यक्ति रणसुर रोकायाले बताए। 

जिल्लाका आफू समयमै पुगेको भएपनि सामग्री विना मतदातालाई मतदान गर्न सिकाउने काम प्रभावकारी नहुने बताएका रोकायाले जिल्लाबाट सामग्री पुगेपछि मात्रै प्रभावकारी रूपमा सुरु गर्ने योजनामा आफू रहेको जानकारी दिए। 

'हामीलाई निर्वाचन कार्यालयले नमुना मतपत्र मात्रै दिएर पठाएको छ। त्यसले मतदातालाई प्रभावकारी रूपमा सिकाउन सम्भव नहुने रहेछ,' रोकायाले अन्नपूर्णसँग भने, 'गाउँपालिकाका ६ वटै वडाका लागि मतदाता शिक्षा स्वयंसेवक छनोट गरेको भएपनि सामग्री अभावले निर्धारित मितिमा सुरु गर्न सकिएन।' 

आड वडा गरेको सर्केगाड गाउँपालिकमा पनि निर्वाचन सामग्री नआएका कारण मतदाता शिक्षा कार्यक्रम सुरु भएको छैन। 
जिल्लामा उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा पनि सामग्री नभएका कारण मतदाता शिक्षा सुरु हुन सकेको छैन। 

गाउँमा गएपछि फेरि सामग्री लिन सदरमुकाम आउन नसकिने प्रतिक्रिया दिएका निर्वाचन सम्पर्क व्यक्ति कुम्मेर रोकायाले मतदाता शिक्षा सामग्री ढुवानी भएर आएपछि मात्रै आफू गाउँपालिका जाने बताए। 

सामग्री नपुगेका कारण मतदाता शिक्षा कार्यक्रम सुरु गर्न केही समय लाग्ने बताएका ताँजकोट गाउँपालिकाका दलबहादुर बोहराले मतदाता शिक्षा स्वयंसेकहरूका लागि आउने आइतबार तालिमको आयोजना गरेको बताए। 

जिल्लाले मतदाता शिक्षा कार्यक्रमसम्बन्धी सामग्री पठाएपछि वडाका बस्तीमा प्रभावकारी रूपमा अभियान सञ्चालन गर्ने योजना बनाएका बोहराले मतपत्रका आधारमा सिकाउन गाह्रो हुने भएपछि अभियानलाई केही पर सारेका हुन्। 

सर्केगाड गाउँपालिकाले पनि आइतबार पछि मात्रै मतदाता शिक्षा अभियान सञ्चालन गर्ने योजना बनाएको छ। 

आठ वडा भएको सर्केगाडमा सामग्री नहुँदा मतदाता शिक्षा स्वयंसेवकको अभिमुखीकरण समेत आयोजना नगरेको बताएका तेजकुमार ऐडीले २२ गतेपछि मात्रै वडामा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्। 

वडाका बस्ती टाढाटाढा रहेको र सामग्री नपुग्दा समय घर्किँदै गएकाले प्रभावकारी नहुने हो की भन्ने चिन्ता ऐडीलाई लागेको छ। 

उता जिल्ला निर्वाचन कार्यालय हुम्लाले ढुवानीको जिल्ला लिएको नेपाली सेनाको हेलिकोप्टरले कर्णाली प्रदेशका अन्य जिल्लाहरूका सामान ढुवानी गरिरहेका कारण केहि ढिला भएको प्रतिक्रिया दिएको छ। 

'१८ गतेसम्म ढुवाई भइसक्ने जानकारी हामीलाई थियो' जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख श्याम रानाले भने 'आज वा भोलीमा सबै निर्वाचन सामग्री नेपाली सेनाको हेलिकोप्टरले ढुवानी गर्ने सूचना आएको छ'। त्यस लगत्तै हामी सबै स्थानीय हतमा मतदाता शिक्षा सामग्री पठाउने व्यवस्था गर्छौ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.