‘म चेतन’ लोकार्पण
काठमाडौं : गीतकार एवं फिल्म निर्देशक स्व. चेतन कार्कीको पहिलो एकल गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ। नारायण ओलीको एकल संगीत रहेको एल्बमलाई कार्कीको ८४औं जन्मजयन्तीको अवसर पारेर सार्वजनिक गरिएको हो। वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, प्रा.डा. अभि सुवेदी, चेतन कार्की प्रतिष्ठानका अध्यक्ष कलाकार मिथिला शर्मा, कार्कीकी धर्मपत्नी गंगा कार्की, गायिका कुन्ती मोक्तानलगायतले लोकार्पण गरेका हुन्।
नौवटा गीत समावेश एल्बममा नारायण ओली, दीप श्रेष्ठ, कुन्ती मोक्तान, अञ्जु पन्त, बानिका प्रधान, महेश सेवा, निशान भट्टराई, अस्मिता अधिकारी, रचना रिमाल र प्रवीण बेडवालको स्वर छ। गीतको म्युजिक एरेन्ज शिलबहादुर मोक्तान, फणीन्द्र राई, गोपाल रसाइलीले गरे। चेतन कार्कीको २०७८ जेठ २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो।
‘जून निदाउन थाले तारा निदाउन थाले’, ‘बैनीको दया छ भने रोदी घर दाइ नाचे नभने’, ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो’, ‘मायापिरतीको चोखो कथा’जस्ता कैयन कालजयी गीतका सर्जक कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भुँमरीलगायत फिल्म निर्देशन गरेका थिए।