निकथाको अनावरण

निकथाको अनावरण

नेपाली साहित्यिक फाँटमा नवप्रवेशी बनेर उदाउने स्रष्टा हुन्, विक्रमभक्त जोशी। उनी ‘चोभार ब्लुज’ निकथा संग्रह लिएर उपस्थित भएका छन्। नेपाली साहित्यमा पहिलोपटक सुनिएको यो शब्दले नयाँ बहसको थालनी गरेको छ। हेरौं, भविष्यमा कस्तो प्रभाव देखाउँछ। यात्रा गर्दै जाँदा भेटिएका पात्रलाई बुनेर लेखिएको सिर्जनालाई निकथा भनिनु अर्थपूर्ण र तादात्मयता पनि लाग्यो। नेपाली साहित्यमा भएको नौलो प्रयोग स्वागतयोग्य भने पक्कै छ।

संग्रहभित्र १९ वटा कथा छन्। सबै कथा रोचक र कौतुहूल जगाउने खालका छन्। लेखनको सबैभन्दा ठूलो शक्ति भनेको पाठकलाई कौतुहूल निर्माण गर्नु हो। अक्षरको शिल्पीले पाठकको मन खिचेर आस्वादनमा लट्ठाइरहनु हो। यो स्वाद यस कृतिमा मज्जाले भेट्न सकिन्छ। काठमाडौं उपत्यकाबाट देखिने सुन्दर डाँडाहरू नै उनका प्रायः कथाका रचना गर्भहरू हुन्। काठमाडौंको खाल्डो मात्र देख्नेले यहाँको कोलाहल, धुँवाधुलो र घञ्चमञ्चको अव्यवस्थित जीवनशैली बढी अनुभव गर्छ। तर अलिकति समय निकालेर काँठ क्षेत्र र काठमाडौं नजिकका डाँडाहरू फुल्चोकी, लाँकुरीभन्ज्याङ, दहचोक, सुन्दरीजल, रानीकोट, चन्द्रागिरि, जामाचो र शिवपुरीलगायतका ठाउँ घुम्नेले मात्र भेट्ट्याउँछ काठमाडौं उपत्यकाको वास्तविक स्वरूप, यहाँको सौन्दर्य र यो सँगसँगै जीवनको दर्शन पनि।

यही जीवन दर्शनसँगै सञ्जीव उप्रेतीले ‘हंश’ उपन्यास जन्माए र जय छाङ्छाले ‘पैदले काठमाडौंका चुलीहरू’ नियात्रा कृति जन्माए। यही लाइनमा उभिन आइपुगे जोशी पनि। ७७ जिल्लाका नागरिक बस्ने काठमाडौं उपत्यकामा अनगिन्ती किंवदन्ती र कथाहरू टिप्न बाँकी नै छन्। यसरी नै कैयौं स्रष्टाका पाण्डुलिपि पुस्तक बनेर उदाउने प्रतीक्षामा छन्। निकथाकार जोशी नेपाली साहित्यमा नवप्रवेशी हुन्। काठमाडौंमा बाक्लै आयोजना हुने साहित्यिक कार्यक्रममा उनले बडो अभिरुचिपूर्वक सहभागिता जनाउँछन्। साहित्य पठन र अन्तक्रियाको तीव्र मोह उनमा झाँगीरहेको आभास गर्न सकिन्छ।

शब्दका पछाडि ब्लुज थपेर दुई चार कृति नेपाली साहित्यमा यसअघि आइसकेका छन्। उनले चोभारका दुःखपीडा वेदनालाई ब्लुज नै नाम दिएर चोभार ब्लुज निकथा कृति प्रकाशन गरे। यसभित्रका कथा पढ्दा उनी सिकारु कथाकार होलान् भनेर पाठकलाई अनुमान गर्न सकस हुन्छ। मीठो शैलीमा यात्रा गर्दागर्दै उनी कथाको पात्र जन्माउन सक्षम हुन्छन्। सबै कथामाथि पाठकीय टिप्पणी लेख्न नसकिए पनि केही प्रतिनिधि कथाको चर्चा गर्नु सान्दर्भिक हुनेछ।

कथा पढ्दा विक्रम सिकारु कथाकार होलान् भनेर पाठकलाई अनुमान गर्न सकस हुन्छ। मीठो शैलीमा यात्रा गर्दागर्दै उनी कथाको पात्र जन्माउन सक्षम हुन्छन्।

पहिलो कथा ‘उत्सर्ग’मा बाख्रीबज्यै, गोमा, रघुजस्ता पात्रका माध्यमबाट निकै मार्मिक कथा बुन्न पुग्छन्। लमजुङको बेंसीसहरबाट घले गाउँ, घनपोखरा, भुजुङ पदयात्रा गर्दा जन्मिएको कथा हो, ‘यात्रामा अनुत्तरित प्रश्नहरू’। यस कथामा छोरा र छोरीबीचको वर्गीय विभेदले ल्याएको समस्यासँगै प्रकृतिको सुन्दर चित्रण छ। यो कथा नभै नियात्रा नै लाग्छ पाठकलाई। ‘अनि म विरही भएँ’ उस्तै सशक्त कथा हो। पहेँलो लुगा लगाएर रामनामी ओड्ने जति सबै जोगी हुँदैनन्, रहरले जोगी हुनेहरू र बाध्यताले जोगी बन्न विवश हुनेहरूको कारुणिक कथा यसमा छ।

कौतूहलताले भरिएको यो कथा पढ्दा पाठकले कथा कति बेला सकियो भन्ने थाहै पाउँदैन। अत्यन्त रोचक शैलीमा यो कथा लेखिएको छ। यात्रामा देखेका बाटाघाटा, बाढीपहिरो, रुख जंगलले इन्जिनियरिङ पढेका लेखकलाई अझ बढी प्रभाव पार्छ। यसैको विषयमा ‘नीलो कमिज खैरो पाइन्ट’ कथाको सिर्जना भएको छ। कालो धनलाई सेतो बनाउन किनेको ‘सुनको पोको’को कथा पनि कम्ती रोचक छैन।

शीर्षकथा ‘चोभार ब्लुज’ प्रेमकथा हो। निकै फरक शैली यसमा पाउन सकिन्छ। उनका प्रत्येक कथामा काँठ क्षेत्र, नेवारी संस्कृति, नेवारी भाषा स्थानीय भाषामा छन्। नेपालीमा उल्था गरिएको कारण पाठक मर्कामा पर्न भने पाउँदैन। निकथाका बीचबीचमा आएका गीतले पनि पठनमा मिठास थपेको छ। रहस्यमय ख्याकका बारेमा ‘ख्याक मान्छे र कुुकुर’ कथाले स्पष्ट पारेको छ। ‘लकडाउन फेन्टासी’, ‘फ्लानर फेन्टासी’, ‘बोसन हाइट’, ‘म मोरिक्वल’जस्ता कथाका शीर्षकले अंग्रेजी भाषालाई काखी च्यापेकोमा पाठक खिन्न हुन्छ। प्रेम, बिछोड, स्वैरकल्पना, राजनीतिक विसंगतिका अनेक आयामलाई कथाको विषयवस्तु बनाइएकाले विषय विविधता भेटिन्छ। अझ ‘बाली बैजनी’ कथा इन्डोनेसियाको बारेमा थोरै भए पनि जानकारी पाइने कथा हो।

काठमाडौं उपत्यकाको वरिपरि भेटिने अथाह किवंदन्ती र मिथकहरू पनि कथाका विषयवस्तु बन्न सक्छन् भन्ने दरो उदाहरण हो, चोभार ब्लुज। यस्ता फरक स्वादका कथा पढ्न पाउनु पनि नेपाली साहित्यको महत्त्वपूर्ण प्राप्ति हो भन्ने कुरामा द्विविधा छैन। २०७५ सालबाट लेख्न सुरु गरेका लेखकले छोटो समयमै वयस्क कृति प्रकाशन गर्नु खुसीको कुरा हो। त्रुटिरहित पुस्तक कमै हुन्छन्।

साहित्य पोस्ट्ले प्रकाशन गरेको यस पुस्तकमा पनि कथानकको झिनो प्रस्तुति महसुस हुन्छ। अंग्रेजी भाषालाई धेरै महत्त्व नदिइकन पनि कथालाई निष्कर्षमा पुर्‍याउन सकिन्थ्यो। नेपाली भाषाकै पर्याप्त शब्द हुँदाहुँदै सौतेनी सन्तानलाई काखी च्याप्न भाषासेवीलाई अलि सुहाउँदैन। आगामी लेखनमा यी कुरामाथि लेखकबाट पुनर्विचार हुने अपेक्षा राख्न सकिन्छ। धेरैभन्दा धेरै पाठकले कथाको क्षेत्रमा लेखिएको यो प्रयोगशील निकथा संग्रह पढून्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.