दाह्री महिमा

दाह्री महिमा

हलिउड अभिनेता जिम क्यारीले महामारीबीच २०२० मार्चदेखि केही समयसम्म ह्यस्ट्याग लेट्स ग्रो टुगेदर नाम दिएर आफ्नो ट्विटर ह्यान्डलमार्फत ‘दाह्री स्टन्ट’को मनोरञ्जन दिए। कतिले लकडाउनका कारण खुम्चिएको दैनिकीमा सामाजिक सञ्जालहरूमा ‘क्वारेन्टाइन दाह्री’ सार्वजनिक गरे।

लामो दाह्रीका कारण प्रविधिको दुनियाँमा छुट्टै पहिचान बनाए, ट्विटरका सहसंस्थापक ज्याक डोर्सीले। सिलिकन भ्यालीको कर्पोरेट जगत्मा आफ्नो अनौठो व्यक्तित्व र हिप्पी–लुक्सका कारणले बेलाबखत चर्चामा आइरहन्थे डोर्सी। लामो दाह्रीका कारण बेलाबखत हाँस्यास्पद इन्टरनेट मीम र सामाजिक सञ्जालहरूमा ट्रोलको सिकार हुने गरेका डोर्सी भने आफ्नो दाह्री नितान्त व्यक्तिगत भएकाले यो विषयमा सार्वजनिक रूपमा बोल्न पन्छिँदै आएका छन्।

प्रविधिको क्षेत्रमा म्याक कम्प्युटरदेखि आइफोनको उदयसम्म महत्त्वपूर्ण भूमिका खेलेका सिलिकन भ्यालीका अर्का हिप्पी हुन्, स्टिभ जब्स। उनको दाह्रीको सम्बन्ध भने उनको पूर्वीय अध्यात्ममा अति गहिरो लगाव र हिप्पी अभियानसँग थियो। हुन त जब्स जस्तै डोर्सी पनि पूर्वीय आध्यात्मसित जोडिइसकेका पात्रमध्ये एक हुन्। यद्यपि, आफ्नो पूर्वीय अध्यात्मसितको यो सम्बन्ध र दाह्रीका विषयमा भने उनले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। डोर्सीको सन्दर्भ नसेलाउँदै अर्का युवा दाह्रीवाल अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा छाउन थाले। दक्षिण अमेरिकी देश चिलीमा वामपन्थी पृष्ठभूमिका ३५ वर्षीय दाह्रीवाल गेब्रियल बोरिक गत डिसेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएका थिए। चिलीलाई नवउदारवादको चिहानमा परिणत गर्ने धारणा अघि सारेपछि उनी ‘भाइरल’ बनेका हुन्।

सिन्धु घाँटीको सभ्यतासम्म दाह्रीको सन्दर्भ

टेलिभिजनको पर्दामा रामायण धारावाहिकका अन्य पात्रको तुलनामा मिथिला राज्यका राजा जनक शासक कम र दार्शनिक बढीजस्ता देखिन्थे। मानव समाजको थालनीसँगै उदाएका प्रारम्भिक सभ्यताहरूको व्यवस्थापनका क्रममा पुरुषहरूले आफूलाई न्यानो राख्न दाह्री पाल्ने गरेको पाइन्छ। यस्तै आध्यात्मिक झुकावलाई अक्षुग्ण राख्ने क्रममा दाह्री पाल्ने सस्ंकृतिको विकास भएको पाइन्छ। पश्चिमी संस्कृति र सभ्यताको विकासमा उल्लेखनीय भूमिका खेलेको यहुदी धर्म र प्राचीन इजिप्टदेखि पूर्वमा सिन्धु घाँटीको सभ्यतासम्म दाह्रीको सन्दर्भ र महत्त्व भेटाइन्छ।

नेपालमा प्रधानमन्त्रीको पदमा रहँदा दाह्रीसहितको सार्वजनिक छवि बनाएका व्यक्तित्वहरूमा मनमोहन अधिकारी र सुशील कोइराला पर्छन्। रुसी क्रान्तिकारी राजनीतिज्ञ भ्लादिमिर लेनिनको जस्तो मिल्दोजुल्दो फ्रेन्च कट दाह्री नेपालका पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले पाल्ने गरेका थिए। फ्रेन्च कट युवामाझ लोकप्रिय छ।

करिब चार हजार वर्ष पुरानो यहुदी धार्मिक परम्पराको उत्पत्तिको समयदेखि नै दाह्री पाल्ने चलन रहेको पाइन्छ। जसको सम्बन्ध आध्यात्मिकतासँग गहिरो छ भन्ने मान्यता छ। प्राचीन इजिप्टमा आफूलाई दैवीय राजा घोषणा गरी लामो समय शासन गरेका फारोहरूले अनुहार लामो दाह्रीजस्तो देखिने धातुले सजाउने गर्थे। इजिप्टमा जीवित देवताको रूपमा आफ्नो हैसियतलाई संकेत गर्न फारोहरूले नक्कली दाह्री लगाउने गरेको भन्ने मान्यता भेटिन्छ। इजिप्टमा करिब ९० प्रतिशत जनसंख्या इस्लाम धर्ममा आस्था राख्छन्। जहाँ केही वर्षयता भने लामो दाह्रीलाई इस्लामवादी कट्टरपन्थीहरूको प्रतीकको रूपमा हेर्न थालिएको छ।

फिरन्ते र तपस्वी जीवनशैलीको द्योतक

सिन्धु घाँटीको सबैभन्दा ठूलो बस्तीमध्येको एक मोहनजोदारो सहरका हजारौं वर्ष पुरानो भग्नावशेषहरूमा लामो दाह्री भएको र आंशिक रूपमा आँखा बन्द गरेर ध्यानस्थ मुद्रामा हजारौंं वर्ष पुराना मूर्तिहरू भेट्टाइन्छ। जसले पूर्वीय सभ्यताको प्राचीन समयमा यो क्षेत्रका पुरुषले लामो दाह्री पाल्ने प्रचलन रहेको पुष्टि गर्छन्। सिन्धु घाँटीबाटै उत्पत्ति भएको मानिने हिन्दू धार्मिक परम्पराअनुसार वैदिक ग्रन्थहरूमा निपुण कठोर तपस्वीहरूको समूह ऋषिहरूले पनि लामो दाह्री पालेको चित्रण गरिन्छ।

हिन्दू परम्परामा लामो दाह्री आध्यात्मिक झुकावका साथै फिरन्ते र तपस्वी जीवनशैलीको द्योतक मानिन्छ। जसअनुसार योगी र ऋषिहरूमा आफ्नो लामो दाह्रीका माध्यमले मस्तिष्कमा आध्यात्मिक ऊर्जा आकर्षित हुन्छ भन्ने मान्यता छ। साधुहरूका हकमा भने अपरिग्रह अर्थात् निजी स्वामित्वमा केही पनि नराख्ने प्रचलन छ। जसका कारण र व्यवस्थित देखिन नियमित रूपमा दाह्री सम्हाल्नुपर्ने रेजर र कैंचीजस्ता सामान राख्दैनन्। त्यसको प्रतीकात्मक सन्देश दिन लामो दाह्री पाल्ने परम्परा छ।

दार्शनिक दाह्री र शासक दाह्री

प्रागैतिहासिक समयका ऋषिहरूको जस्तो झल्को स्पष्ट देखिने मिथिलाका राजा हुन्, जनक। पश्चिमी सभ्यता र पश्चिमी दर्शनको जननी ग्रीसमा दार्शनिक प्लेटोले परिकल्पना गरेजस्तो ‘दार्शनिक–राजा’को सजीव उदाहरण जनकमा भेटिन्थ्यो। प्राचीन ग्रीसका प्रख्यात दार्शनिक सुकरातदेखि अरस्तुसम्म र आधुनिक युगमा आइपुग्दा जर्मनीका अर्थ–समाजशास्त्री चिन्तक कार्लमाक्र्सदेखि पश्चिमी परम्परामा आधारित मनोचिकित्साका प्रणेता सिग्मन्ड फ्रायडसम्म आआफ्नै मौलिक प्रतीकात्मक चिह्न ‘दाह्री’का कारण सहजै चिन्न सकिने भए।

अर्थव्यवस्था, विश्व राजनीति र सामाजिक विज्ञानका धेरै क्षेत्रमा वैचारिक दृष्टिकोणका माध्यमले गहिरो प्रभाव पार्न सफल भए, माक्र्स। उनले जीवनको अन्तिम वर्षमा आफ्नो प्रसिद्ध दाह्री खौरन लगाए। अल्जेरियन हजामलाई माक्र्सले आफूलाई चिन्नै नसकिने गरी दाह्री सफा चट पार्न अह्राएका थिए। त्यसपछि माक्र्सको फोटो कतै सार्वजनिक भएन। ल्याटिन अमेरिकी देश क्युबाका राष्ट्रपतिका रूपमा लामो समय शासन गरेका वामपन्थी राजनीतिज्ञ फिडेल कास्ट्रो पनि लामो दाह्रीका कारण सहजै चिनिने ऐतिहासिक पात्रमध्ये पर्छन्।

सन् १९६० को दशकमा कास्ट्रोले क्युबाको बागडोर सम्हाल्दै गर्दा अमेरिकाको लोकप्रिय मिडिया सीबीएसमा उनको दाह्रीको चर्चा चल्यो। दाह्रीसम्बन्धी प्रश्नमा आफूले क्युबाली जनतासित गरेको वाचा पूरा गरेपछि मात्र दाह्री काट्ने भनेर दिएको प्रतिक्रिया चर्चित थियो। कास्ट्रोले जीवनको अन्तिम घडी ९० वर्षको उमेरसम्म 
लामो दाह्री पालेका थिए।

पूर्वीय दर्शन, दाह्री र दार्शनिक

ऐतिहासिक पात्र चे ग्वेभारा पनि प्रतीकात्मक दाह्रीकै कारण चिनिए। विशेषगरी, पश्चिमा युवामाझ ‘क्रान्ति र विद्रोह’को प्रेरक प्रतीक मानिने अर्जेन्टिनाका ग्वेभारा। उनको क्युबामा खिचिएको दाह्रीसहितको फोटो संसारकै लोकप्रिय ‘आइकन फोटोग्राफ’मध्ये पर्छ। पूर्वीय आध्यात्मिक परम्परासित सम्बन्धित सन्त र ऋषिहरूमा जस्तै प्राचीन ग्रीसमा पनि पुरुष दार्शनिकहरू ‘दाह्री’लाई बुद्धिमता र ज्ञानसित जोडे हेर्न थालियो। अझ रोचक पक्ष त के भने पश्चिमी चिन्तन प्रणालीको जग बसाल्न सफल ग्रीसमा सुकरातको समयमा पुरुष दार्शनिकहरूको दाह्रीको लम्बाइलाई उसको दर्शनको गहिराइ र ज्ञानको फराकिलो दायरासित दाँजिन्थ्यो।

दाह्री नराख्ने पुरुषहरूलाई उनीहरूले कुनै पनि दर्शन स्वीकार गरिनसकेको संकेतका रूपमा लिने गरिन्थ्यो। ऐतिहासिक दृष्टिकोणले सुकरातका समकालीन र चिनियाँ दर्शनका प्रणेता कन्फ्युसियस पनि आफ्नो प्रतीकात्मक दाह्रीका माध्यमले चिनिन्छन्। उनले अनुयायीहरूलाई आफ्नो मौलिक रूप जोगाउन कपाल, दाह्री र नङसमेत नकाट्न आग्रह गर्थे। कन्फ्युसियसको दाह्रीसित मेल खाने प्रतीकात्मक व्यक्तित्व भएका अर्का एसियाली व्यक्तित्व हुन्, हो ची मिह्न। आधुनिक भियतनामका पिता मिह्न आफ्नो समयका भियतनामी समाजका एक प्रगतिशील राजनीतिज्ञ थिए। 

सुकरातको समयमा पुरुष दार्शनिकहरूको दाह्रीको लम्बाइलाई उसको दर्शनको गहिराइ र ज्ञानको फराकिलो दायरासित दाँजिन्थ्यो। दाह्री नराख्ने पुरुषहरूलाई उनीहरूले कुनै पनि दर्शन स्वीकार गरिनसकेको संकेतका रूपमा लिने गरिन्थ्यो।

परम्परागत भियतनामी संस्कारअनुसार पनि गाउँको वरिष्ठ अभिभावकका रूपमा त्यहाँको प्रचलनबमोजिम दाह्री पाल्ने चलन थियो। भारतको पञ्जाब क्षेत्रमा उत्पत्ति भएको सिख धर्मका अनुयायीले दाह्री पाल्नुलाई पुरुषत्वको मर्यादा र निष्ठाको महत्त्वपूर्ण हिस्सा मान्छन्। दाह्री र कपाललाई भगवान्ले दिएको वरदान मानिने हुँदा सिख धर्मका ऐतिहासिक पात्र दसौं सिख गुरु, गुरु गोविन्द सिंहले सिखहरूलाई कपाल र दाह्री नकाट्न आदेश दिए। सोही कारण यस्तो आस्था समूहमै दाह्री पाल्ने परम्परा छ।

दाह्रीमा नेपाली शासक

नेपालको पनि शाहवंशीय राजामध्येका ऐतिहासिक पात्र युवराज त्रैलोक्य र युवराज दीपेन्द्रबाहेक कसैले पनि दाह्रीसहितको सार्वजनिक छवि बनाएनन्। यद्यपि १०४ वर्षे जहानियाँ राणाशासकमध्ये जंगबहादुर राणालगायत वीरशमसेर जबरा, चन्द्रशमशेर र भीमशमशेर सबै दाह्रीसहितका श्री ३ प्रधानमन्त्री थिए। अझ भीमशमशेर त कोरोना महामारीको लकडाउनका समयमा छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जस्तो लामो दाह्रीमा जस्तो देखिन्थे। भारतीय प्रधानमन्त्री मोदीको दाह्री र उनको जवानी उमेरमा जोगी बन्ने उत्कट चाहनाका साथै उनको आध्यात्मिक झुकावको गहिरो सम्बन्ध छ भनिन्छ।

आश्रमका प्रमुखले मोदीलाई दाह्री पाल्न सल्लाह दिएकाले त्यसयता उनले दाह्री पाल्न थालेको मानिन्छ। नेपालमा प्रधानमन्त्रीको पदमा रहँदा दाह्रीसहितको सार्वजनिक छवि बनाएका व्यक्तित्वहरूमा मनमोहन अधिकारी र सुशील कोइराला पर्छन्। रुसी क्रान्तिकारी राजनीतिज्ञ भ्लादिमिर लेनिनको जस्तो मिल्दोजुल्दो फ्रेन्च कट दाह्री नेपालका पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले पाल्ने गरेका थिए। फ्रेन्च कट युवामाझ लोकप्रिय छ।

बालिकाको पत्रले लिंकनको दाह्री

अमेरिकाका १६औं राष्ट्रपति अब्राहम लिंकनको दाह्री किस्सा पनि कम रोचक छैन। अमेरिकामा दासप्रथा अन्त्य गर्ने राष्ट्रपतिको श्रेय पाएका र संघर्षपूर्ण प्रेरणादायी जीवनका कारण उनले विश्वव्यापी सम्मान र श्रद्धा पाए। उनै ऐतिहासिक पात्र लिंकनको दाह्रीका बारेमा वास्तविक घटनामा आधारित कथा छ। सन् १८६० मा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुअघि लिंकनले न्युयोर्कबाट बालिकाको पत्र प्राप्त गरे। लिंकनको पातलो बान्की र सामान्यभन्दा दुब्लो आकारको अनुहार परेका उनले दाह्री पाल्नाले उनको व्यक्तित्वमा निखार आउने ती बालिकाको सुझाव पाए। पत्रले ‘कन्भिन्स’ भएका लिंकनले दाह्री पाल्न थालेका थिए।

विशेषगरी पश्चिमा मुलुकहरूमा फेसनयुक्त र सामान्य मानिन्छ, दाह्री र ट्याटु। तर त्यही संस्कृतिलाई एसियाली मुलुक जापानमा भने नकारात्मक रूपमा हेरिन्छ। इतिहासको एउटा कालखण्डमा जापानलाई सामन्ती राज्यबाट आधुनिक र औद्योगिक शक्तिका रूपमा द्रुत रूपान्तरणको नेतृत्व गरेका सम्राट् मैजीले भने शासनकालमा लामो दाह्रीपाले। आधुनिक जापानको एउटा महत्त्वपूर्ण पक्ष त्यहाँको कर्पोरेट संस्कृति र जापानी कम्पनीहरूले कर्मचारीलाई दाह्री पाल्न प्रतिबन्ध नै लगाएको छ। सामुराई जातीहरूले जापानको सामन्तीयुगीन हिंसाको प्रतिनिधित्व गर्ने हुँदा दाह्रीलाई त्यहाँको हिंस्रक र विद्रोही छविसित जोडेर हेर्ने गरिन्छ।

फेसनदार र कट्टर परम्परावादी देखिन दाह्री
यहुदी धर्मका कट्टर अनुयायीहरू (अर्थोडक्स यहुदी)ले परम्परा कायम राख्न दाह्री बढाउन रुचाउँछन्। यहुदी उपदेशक जिसस क्राइस्ट लामो दाह्रीसहितको व्यक्तित्वका रूपमा चित्रण गरिन्छ। केही वर्षअघि स्वास्थ्यसम्बन्धी अनुसन्धान निकायले गरेको अध्ययनले पुरुषहरूले दाह्री पाल्नु अर्थको व्यक्तिगत स्वतन्त्रता, वैचारिक दृढता र केही हदसम्म धैर्यको अभिव्यक्ति हो भन्ने निचोड निकालेको थियो।

कलाकार र साहित्यकार दाह्री
युरोपेली पुनर्जागरण रेनेसाँ युगमा उल्लेखनीय भूमिका निर्वाह गरेका पुरुष पात्रहरू अनि प्रतिभाशाली कलाकारहरू लामो दाह्रीकै कारण चिनिए। लियोनार्दो दा भिन्ची र माइकल एन्जेलो, खगोलविद् ग्यालिलियो ग्यालिली, आधुनिक प्रिन्टिङ प्रेसका आविष्कारक योहानस गुटेनवर्ग पनि आफ्नो प्रतीकात्मक लामो दाह्रीका कारण सजिलै पहिचान गर्न सकिने सूचीमा पर्छन्। प्रख्यात वैज्ञानिक चाल्स डार्बिनदेखि विश्व प्रसिद्ध साहित्यकारहरू भिक्टर ह्युगो र रवीन्द्रनाथ टैगोरको चिनो दाह्री नै भयो।

अभिनयको क्षेत्रमा लागेका कलाकारहरूले पर्दामा वा पर्दा बाहिर दाह्री पाल्नुलाई सामान्य मानिन्छ। यस्तो अवस्थाको हलिउडबाहेक केही वर्षयता बलिउडमा पनि कलाकारहरू दाह्रीसहित ‘अन स्क्रिन’ देखिन थाले। हलिउडको सिनेमा जगत्मा नाम चलेका अधिकांश पुरुष अभिनेतालाई अफ स्क्रिन दाह्रीबिना देख्नै मुस्किल पर्छ। विश्वप्रसिद्ध पुरुष लेखकमध्ये रुसी साहित्यकारहरू लियो टल्सटोय, एन्टोन चेखव, अमेरिकी सर्जकहरू अर्नेस्ट हेमिङ्वे र कवि वाल्ट विट्मेन, बेलायती नाटककार विलियम शेक्सपियरदेखि नेपाली राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालासमेतले दाह्रीसहितको पहिचान बनाए।

कतै अनिवार्य, कतै प्रतिबन्ध

एक वर्ष अघिसम्म अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानको बागडोर सम्हालेको इस्लामिक धार्मिक कट्टरपन्थी समूह तालिबानले केही अफगान प्रान्तमा पुरुषलाई दाह्री काट्न प्रतिबन्ध नै लगायो। उता अमेरिकाको एउटा विश्वविद्यालय ब्रिङ्गहम योङ युनिभर्सिटीले विद्यार्थीलाई दाह्री पाल्न प्रतिबन्ध लगाएको छ।

हिप्पी आन्दोलनको अभियान जोडिएकाले कपाल र दाह्री पाल्ने चलनलाई निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीलाई दाह्री पाल्न रोक लगाएको हो। इस्वी १७औं शताब्दीमा रूसका सम्राट् पिटर प्रथमले रुसी समाजलाई पश्चिमी युरोपेली मोडेलअनुरूप ल्याउने प्रयासस्वरूप दाह्री करको स्थापना गरे। दाह्रीमा प्रतिबन्ध लागू गर्न उनले त्यहाँको प्रहरीलाई कर तिर्न अस्वीकार गर्नेहरूको दाह्री जबर्जस्ती र सार्वजनिक रूपमै खौरने अधिकार दिएका थिए।

सचेतना अभियानका लागि दाह्री
सन् २००९ मा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा क्यान्सरसम्बन्धी सचेतना जगाउन अंग्रेजी क्यालेन्डरअनुसार हरेक नोभेम्बरमा ‘नो सेभ नोभेम्बर’ अर्थात् नोभेम्बर महिनाभरिदाह्री नकाट्ने अभियान नै सुरु भयो। अमेरिकाको सिकागोमा बसोबास गरिरहेको एउटा परिवारले क्यान्सरका कारण गुमाएको अभिभावकको सम्झनामा क्यान्सरको अनुसन्धानलाई सहयोग पुग्ने लक्ष्य राखेर ‘नो सेभ नोभेम्बर’ थालनी गरे। नोभेम्बर महिनामा दाह्री काट्न र सेभिङ क्रिम, रेजर आदि सामग्रीमा खर्च हुने रकम जोगाएर क्यान्सर रोगबारे सचेतना कार्यक्रम, अनुसन्धान र रोकथामबारे शिक्षा अभियानहरू सञ्चालन गर्न सुरु गरियो। ‘नो सेभ नोभेम्बर’मा हाल विश्वभरि उक्त अभियानमा ऐक्यबद्धता जनाउनेको संख्या बढ्दो छ।

सुरुमा ५० जना फेसबुक फ्लोअरबाट थालिएको यो अभियानमा हाल तीन लाखभन्दा बढी सदस्य छन्। तिनबाट हजारौंं क्यान्सरका रोगीले सेवा प्राप्त गरेको र दर्जनौं अनुसन्धान कार्यलाई सहयोग पुगेको जनाइएको छ। केही वर्षयता ‘नोभेम्बर’ अभियानमा पनि विश्वभरि समर्थन र सहयोग जुट्दै आएको छ। अस्ट्रेलियाबाट सुरु भएको यो अभियानमा पुरुषहरूले नोभेम्बर महिना जुँगाको हेरचाहमा गर्ने खर्चलाई बचाएर प्रोस्टेट क्यान्सर, अण्डकोषको क्यान्सर र पुरुषहरूको मानसिक स्वास्थ्यसम्बन्धी रोगको अनुसन्धानका लागि स्रोत जुटाउँदै आएका छन्।

कोरोनाले निम्त्याएको क्वारेन्टाइन दाह्री

सन् २०१९ को उत्तराद्र्धमा कोरोना भाइरसले निम्त्याएको वैश्विक महामारीको संकट र महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनको समयमा धेरै पुरुषले लामो दाह्री पाल्ने चलन चलाए। दाह्री पाल्ने र सामाजिक सञ्जालहरूमा पोस्ट गर्ने दाह्री स्टन्टहरूमा धेरै पुरुषले उपस्थिति जनाए।

हलिउड अभिनेता जिम क्यारीले महामारीबीच २०२० मार्चदेखि केही समयसम्म ह्यस्ट्याग लेट्स ग्रो टुगेदर नाम दिएर आफ्नो ट्विटर ह्यान्डलमार्फत ‘दाह्री स्टन्ट’को मनोरञ्जन दिए। कतिले लकडाउनका कारण खुम्चिएको दैनिकीमा सामाजिक सञ्जालहरूमा ‘क्वारेन्टाइन दाह्री’ सार्वजनिक गरे। महामारीका समयमा लामो दाह्री पालेर चर्चा कमाएका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडले प्रधानमन्त्री हुनुपूर्व लामो समय नोभेम्बर अभियानमा सरिक भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.