कालिकोटमा पहिरो पीडितलाई राहत
कालिकोट : जिल्ला प्रशासन कार्यालय कालिकोटले बाढीपहिरो पीडित परिवारहरूलाई राहत वितरण गरेको छ।
गत असोज १९ गतेदेखि २५ सम्म भएको वर्षाका कारण बाढी र पहिरामा परी ज्यान गुमाएका मृतकका परिवारलाई जनही २ लाख र किरिया खर्च बापत २५ हजारका दरले राहत वितरण गर्न थालिएको हो।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले आइतबार तिलागुफामा पहिरामा परी ज्यान गुमाएका एकै परिवारका चार जना मृतकका आफन्तलाई एकमुष्ट ९ लाखको चेक हस्तान्तरण गरे। ३ जनाको राहत वितरण गर्न बाँकी छ।
पहिराले घर पुरिँदा तिलागुफा नगरपालिका-७ बालीका तिलबहादुर बिष्टका छोरा धुर्बराज बिष्ट, बुहारी ममता, नाती कृर्पेससिंह, नातिनी जेनीसिंह गरी एकै परिवारका पाँच जनाले ज्यान गुमाएका थिए।
राहत स्वरूप तिलबहादुर बिष्टलाई ९ लाख दिइएको छ। धुर्बराज पत्नी ममता अझै बेपत्ता छिन्। उनीसहित बाढी र पहिरो परेर १६ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य भइरहेको छ।
तिलबहादुरले भने, 'यस्तो पहिरो आउला सोचेकै थिइन्। म ६१ वर्षको भए। यति धेरै पानी परेको र पहिरोको जोखिम अनुभूति पनि गरेका थिएनौँ। मेरो सबै परिवार र चार वटा घरहरू पहिरामा पुरिए। अहिले पहिराबाट जोखिएको खेतमा प्रशासनले दिएको पाल हालेर ओत लाग्ने बनाएका छौँ।'
जिल्लाका ९ वटै स्थानीय तहमा बाढी र पहिराले ठूलो क्षति पुर्याएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार जिल्लामा बाढी र पहिरोबाट ६ सय ३२ घर पूर्ण क्षति भएका छन्।
७ सय २३ घरमा आंशिक रूपमा क्षति भएको छ। ७ सय ३८ घरहरू पहिराको उच्च जोखिममा छन् भने ४ सय २९ घरहरू बाढी र पहिराको जोखिममा छन्। जिल्लामा हाल १ हजार ३ सय ५५ परिवार घरविहीन छन्।