बैंकको चर्को ब्याजदरको विरोधमा उद्योगी व्यवसायी आन्दोलित
उदयपुर : बैंक तथा वित्तीय संघ संस्थाहरूको चर्को ब्याजदरको सर्वत्र विरोध सुरु भएको छ।
अस्वभाविक रूपले बढेको ब्याजदरले अर्थतन्त्रलाई नकारात्मक असर परेको र अव्यवहारिक भएको भन्दै उदयपुरका व्यापारी, व्यवसायीहरू आन्दोलित भएका हुन्।
मंगलबार उदयपुर उद्योग वाणिज्य संघको आयोजनामा व्यापारीहरूले शान्तिपूर्ण प्रदर्शनका साथै इलाका प्रशासन कार्यालय कटारी र राष्ट्रिय वाणिज्य बैंक कटारीमा ज्ञापनपत्र बुझाएका छन्।
यसअघि सदरमुकाम गाईघाटस्थित त्रियुगा उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीमार्फत ब्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।
नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गनिर्देशिका २०७९ मा गरिएको व्यवस्था र बैंक तथा वित्तीय संस्थाहरूले गरेको कर्जाको ब्याजदरमा वृद्धिका कारण उद्योग व्यवसाय धरासायी हुँदै बन्द हुने अवस्थामा पुगेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए।
'यहीँ प्रकृतिको ब्याज रहने हो भने कुनै पनि व्यापारीले ऋण लिएर व्यापार व्यवसाय गर्ने अवस्था छैन,' उनले भने, 'तत्काल नघटाउने हो भने व्यापार व्यवसायको ताला बुझाउनु पर्ने अवस्था सिर्जना भएको छ, सुरुमा लैजानुहोस् कमाउनुहोस् भन्ने पछी ब्याजदर वृद्धि गरेर तुरुन्त लिलामी प्रक्रिया अघि बढाउने गरेपछि आन्दोलन गर्न बाध्य भयौं।'
उदयपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अरुण साहले व्यापार, व्यवसाय ठप्प पारेर व्यापारी व्यवसायीहरूले आत्महत्या गर्ने बेला भएको बताए।
बैंक तथा उद्योगी व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाले ऋणीहरूप्रति गर्ने व्यवहार मर्यादीत हुनुपर्ने, कर्जाको ब्याजदरमा एकल अंक कायम गर्नुपर्ने, विगतको चालुपूँजी कर्जा निर्देशिका यथावत राखी क्रमिक रूपले लागू गर्नुपर्ने, मौद्रिक नीतिमा भएका छुटलाई कार्यन्वयन गर्नुपर्ने लगायतका ८ सुत्रीय मागहरू व्यापारी व्यवसायीहरूले राखेका छन्।
त्यसैगरी राष्ट्र बैंकले जारी गर्ने रिपो एक प्रतिशत बनाउनुपर्ने, कम्तिमा एकवर्ष ब्याजदरमा वृद्धि गर्न नहुने, ब्याजदर पुर्नसंरचना गर्नुपर्ने र बैंकले सुरु गरेको सम्पूर्ण लिलाम प्रक्रिया २०७९ चैत्रसम्मका लागि स्थगित गर्नुपर्ने मागहरू राखेर ज्ञापनपत्र बुझाएको संघका महासचिव जमानसिंह बस्नेतले बताए।
'हाम्रा मागहरू पूरा नभए थप कडाइका आन्दोलन गर्न बाध्य हुने छौं।' महासचिव बस्नेतले थपे, 'हामीलाई खाए खा नखाए घिचको परस्थितिमा ल्याइएको छ।'
आन्दोलनका कार्यक्रमअन्तर्गत बुधबार सबै किसिमका बैंकहरूमा २ घण्टा कारोबार ठप्प पार्ने संघको प्रदेश समितिको कार्यक्रम अन्तर्गत उदयपुरमा पनि बैंकहरूमा धर्ना दिई कारोवार ठप्प पारिने संघका उपाध्यक्ष मुना कटुवालले बताइन्।
आन्दोलित व्यापारीहरूले कटारी बजार परिक्रमा गरी इलाका प्रशासन कार्यालय कटारीका प्रमुख टेकराज बराललाई ज्ञापनपत्र बुझाएका थिए।
सोही कार्यक्रम अन्तर्गत उनीहरूले कटारी स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि ज्ञापनपत्र बुझाएका थिए। कार्यक्रममा कटारीका व्यापारी व्यवसायीहरूको सहभागिता थियो।