बागलुङमा नेकपा बहुमतका तीन नेता पक्राउ
बागलुङ : बागलुङमा निर्वाचन बहिष्कार गरेको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका तीनजना नेता पक्राउ परेका छन् ।
धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता गलकोट नगरपालिका–१ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो । उनीहरु नेकपा बहुमतमा आवद्ध रहेको तर पद नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कारको पोष्टार टाँस्दै हिँडेका बागलुङ नगरपालिका–२ ट्राफिक चोकबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ थापाले बताए ।
उनले उनीहरुको साथबाट संघीय निर्वाचन बहिष्कार गरौं देखिएका पोष्टर र पर्चा बरामत गरिएको बताए । ‘निर्वाचन आचारसंहिता विपरित निर्वाचन बहिष्कारको पोष्टर टाँस गरेका कारण पक्राउ गरिएको हो, 'प्रनाउ थापाले भने,‘उनीहरुको थप अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि कारवाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’
विप्लव नेतृत्वको नेकपा, विप्लवबाट विभाजित धर्मेन्द्र बाँस्तोलाको नेकपा बहुमत, आहुती र मोहन वैद्यको कम्युनिष्ट पार्टी र नेकपा (मसाल)ले पनि निर्वाचन बहिष्कारको निर्णयसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
पक्राउ परेका धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका नेता दलसिंह खत्री । तस्बिर : अन्नपूर्ण