गौशालामा रेल्वे इन्जिनियरिङ कलेज बनाउने गिरिराजमणिको घोषणा
जनकपुरधाम : सत्ता गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेलले महोत्तरीको गौशालामा रेल्वे इन्जिनियरिङ अध्ययन कलेज बनाउने घोषणा गरेका छन्। उनले बुधबार १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।
महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार पोखरेलले महोत्तरीको गौशाला नगरपालिका रजखोरस्थित नेपालको पहिलो रेल्वे इन्जिनियरिङ अध्ययन कलेज बनाइने घोषणा गरेका हुन्।
नेकपा माओवादी केन्द्रका सहमहासचिव समेत रहेका पोखरेलले आगामी शैक्षिक सत्र २०८० बाटै लागू हुनेगरी नेपालमै पहिलो रेल्वे इन्जिनियरिङ अध्ययन कलेज बनाइने भएको बताए।
मधेस प्रदेशको राष्ट्रिय महत्वको प्राथमिकता प्राप्त आयोजना बर्दिबास मेडिकल कलेजल निर्माणको कानुनी व्यवधानलाई सामाधान गरी कलेज निर्माणको कार्य प्रारम्भ गरिने जनाएको छ।
लामो समयदेखि घरबाससहित भोगचलन गर्दै आएको ऐलानी, पर्ति जमिनको नापी नम्बरी गरी लालपुर्जाको वितरण अगाडि बढाइने र गाई गौशालालाई साझेदारीमार्फत् व्यवस्थित र उत्पादनमुखी बनाइने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ।
खयरमारामा रहेको निर्मला लामा बहुप्राविधिक शिक्षालयलाई पाँच वर्षभित्र देशकै नमुना शिक्षालयको रूपमा विकास गरिनुको साथै लक्ष्मिनियाँमा रहेको आयुर्वेद कलेजको आफ्नै भवनमा पठनपाठन गराइने जनाएको छ।
त्यसैगरी आगामी पाँच वर्षभित्र काठमाडौं विश्वविद्यालयअन्तर्गतको होटल म्यानेजमेन्ट कलेजको जग्गा व्यवस्थापन गरी अध्ययन अध्यापन सुरु गराउने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ।
भौतिक पूर्वाधारको क्षेत्रमा गौशाला, बर्दिबास र भंगहा नगरपालिकाको रिङरोड निर्माणको कामलाई अघि बढाइनुका साथै रोकिएको रेल्वेको कामलाई अघि बढाउन पहल गरिनेसमेत उल्लेख छ। ऐतिहासिक मलहनिया पोखरी, निगौल ठाकुर पोखरी, बाण पोखरी, निगौल ठाकुर पोखरीसहित धार्मिक महत्वको टुटेश्वरनाथ, पञ्चधुरामाईलगायत सम्पदाको संरक्षण र सम्बर्द्धनमा पहल गरिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !