माओवादी छाडेर एमाले उम्मेदवार बनेका रामचन्द्र भन्छन्- नागरिकतामा 'पोलिटिक्स' भयो
जनकपुरधाम : माओवादी राजनीतिबाट उदाएका रामचन्द्र मण्डल अहिले आसन्न प्रतिनिधि प्रदेशसभा निर्वाचनमा भाग लिएका छन्। उनी धनुषा निर्वाचन क्षेत्र नं. १ (ख) बाट उनी एमाले-जसपा गठबन्धनका उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा माओवादी र एमालेको बाम गठबन्धनबाट निर्वाचित भएका मण्डल नेकपा फुट्दा माओवादी छाडेर एमाले राजेका थिए। एमालेबाट निर्वाचन लड्दै गर्दा उनले के-के चुनौती देखेका छन्? अन्नपूर्णकर्मी गोविन्द महतोले मण्डलसँग गरेको गरेको कुराकानीको सम्पादित अंश:
निर्वाचन प्रचार-प्रसार कस्तो भइरहेको छ?
अहिले निर्वाचन प्रचार-प्रसारको कामलाई तीव्रता दिइरहेका छौं। चुनावी तयारीमा हाम्रो २० वटा वडाहरुमध्ये १९ वटा घरदैलो सकेका छौंर। बाँकी एक-दुई दिनमै सकिन्छ। विभिन्न चोक, टोल र मतदाताको घरदैलोमै पुगेर व्यक्तिगत, पार्टी संगठनसंग भेटघाट पनि गर्छौं। समग्रमा २० वटै वडामा हाम्रो पोजिसन फस्ट छ।
मतदातासँग मत माग्न जाँदा के एजेण्डा लिएर जानुहुन्छ?
मत माग्ने दुई आधारहरु छन्। एउटा अघिल्लो निर्वाचनमा मलाई निर्वाचित गरेपछि अधुरा कामहरु कम्पलिट गर्नुछ भनेर। दोस्रो नयाँ कामहरु पनि गर्नुपर्ने छ। सबैभन्दा ठूलो हामी गरिब देशका हौं। एकैपटक विकास सम्भव हुँदैन भनेर सम्झाएका छौं। संसदमा पुगेपछि कानुन निर्माण गर्ने मुख्य अभिभारा हुन्छ। विकास निर्माण त साइडको पाटो हो। तर जनताका बीचमा जानुपर्ने भएकाले काम गर्न सकिएन भने जनताले असफल मान्छे, काम गर्न सक्नु हुन्न भन्छन्। मलाई के लाग्छ भने मन्त्रालय बजेट प्रणाली छ। त्यो प्रणालीबाट २५-५० प्रतिशतभन्दा बढी कामै गर्न सकिँदैन। अरु पैसा फ्रिज भएर जान्छ। त्योचाहिँ परम्परागत शैलीलाई चेन्ज गर्न जरुरी छ।
जनताबाट के प्रतिक्रिया पाउनुहुन्छ?
मैले गरेको कामको लोकप्रियता यस्तो छ कि मानिसहरु चकित भएका छन्। एउटा प्रदेशसभाको मान्छेले यति धेरै काम कसरी गरे भन्ने छ। कामबाटै आम नागरिकले समर्पित, काबिल, इनर्जेटिक, ऊर्जा, काम गर्ने क्षमता छ जिताउनुपर्छ भन्ने मान्छेमा सद्भाव छ। सबैको एउटै बोली छ, रामचन्द्र मण्डल होनहार मान्छे हो, यसलाई जिताउनुपर्छ। म पनि ढुक्क भएको छैन। अहिले पनि संघर्षमै छु, काम गरिरहेको छु।
तपाइँ सांसद चुनिएपछि तपाइँको क्षेत्रमा के विकास गर्नुभयो?
मेरो दुई वर्षे कार्यकालमा कुनै वडा छैन, जहाँ करोडभन्दा कमको काम भएको छ। मैले मूल सडक ६-७ वटा निर्धारण गरी सातै सडकमा ५ किमीसम्म कालोपत्रे गराएको छु। पूलहरु निर्माण भएका छन्। केही टेण्डर प्रणालीमा छ, केहीको काम हुँदैछ। केही बजेटहरु केन्द्रबाट, केही प्रदेशसभाबाट पनि ल्याएका छौं। सिचाईँको क्षेत्रमा १४ वटा डीप बोरिङ, साना ४ इन्चको बोरिङ र पावर ड्रिल बोरिङ २ सयको हाराहारीमा वितरण गरेका छौं।
शिक्षाको क्षेत्रमा धारापानी स्कुल मोडेल बनेको छ। ३५-३५ लाख बराबरको कम्प्युटर हाइस्कुलमा उपलब्ध गराएका छौं। मिथलेश्वर माविमा तीन, सुगानिकासमा दुई भवन बनाएका छौं। सेक्टर मार्गको कुरा गर्ने हो भने तीनवटा सेक्टर बाँध निर्माण भएको छ। जनताको बीचमा जादा नौं सयमा दादर नदी, हंसपुर कठपुल्लामा भिमा र सुगानिकालमा हमारी सेक्टर बाँध निर्माण गरेका छौं। सुगा निकाल र भुतहीमा बजार व्यवस्थापन, ढलान, बजार सेट निर्माण भएको छ।
सडक पूर्वाधारको क्षेत्रमा तारापट्टी-गेरुवाही-खरिहानीका नयाँ ट्रयाक्क खोलेका छौं। जसमा ६ वटा पुल टेण्डरमार्फत् काम हुँदैछ। पुरनदाहा-भुतहीदेखि मालटोलको सडक, तारापट्टी-पुष्पवलपुरसम्म ५ किमी सडक कालोपत्रे र ढलान भएको छ। पशुराम तलाउ देखि कजरा-जुगेश्वरपुर हुँदै इनर्वासम्म सडक ग्राभेल-पिच, किसान सडक नामाकरण गरेर सुगानिकासदेखि किसानपुरसम्मको सडक बनाएर ग्रोभल, हंसपुरदेखि डाँडाटोलसम्म २५ करोडमा टेण्डर भएर सडक सञ्जाल सुरु भइसकेको छ। भिमान देखि महाजन गाछी-धरमपुरसम्मको सडक बनेको छ। सडक ढलान भुतही, मिथिलेश्वर, बघचौडा, लौवाखोर, रमौल, लमनगरा, नौसयमा भएको छ।
तर जनताको जनजीविकाको सबालमा केही भएन नि ?
दलित, जनजातिको क्षेत्रमा सबैभन्दा ठूलो समस्या हो बेरोजगारी। रोजगार नपाएर विदेशिएका छन्। बाहिर गएका युवालाई कसरी रोजगार दिने? बहुर्राष्ट्रिय कम्पनीहरूबाट निर्मित उद्योगहरूलाई काउण्टर दिन नेपालजस्तो गरिब देशलाई गाह्रो छ। त्यसलाई म्यानेज गर्ने केन्द्र लेभलको पोलिसीको खाँचो छ।
अघिल्लो निर्वाचनमा वाचा गरेका कामहरु पूरा गर्नुभयो त?
मैले ल्याएका योजना पहिलो चरणमा कोशीदेखि बागमतीसम्म कृत्रिमा नहर-नदी बनाउने मेरो एउटा सपना छ। प्रदेशको नमूना योजनाको रूपमा डेभलोप गर्न मोरल योजनाको रूपमा लागू गर्न लागिपरेको छु। अर्थात् प्रदेशको गौरवको योजनाको रूपमा साथीहरूलाई कन्भिन्स हुन सक्नुभइरहेको छैन। यो गौरवको योजनाबाट धेरै बेनिफिट छ। कृत्रिम नहर भएपछि पर्यटनको ठूलो आधार बन्छ। डयाम्ममा पानी रिजर्भ भएर चूरे हराभरा हुन्छ। पानी रिचार्ज भएर पानीको लेभल तलबाट माथि आउँछ। नदीहरू नहरको काम गर्छ। नदीको कटान बन्द हुन्छ, चौडाइ घटछ, त्यहाँबाट लाखौं बिघा जग्गा निस्केर आउँछ। जुन भूमिहीन किसानहरुलाई जग्गा दिएर खेतीपाती गराउन सकिन्छ। यो प्रदेशको गौरवको आयोजनालाई प्रदेश सरकारले निर्धारण गरेर दिओस्। त्यसमा प्रदेश र केन्द्रले पनि लगानी गरोस्। फिजिवलिटी स्टडी गरेर सम्भावना र भावी भविष्यको बारेमा अध्ययन गर्नुपर्छ।
रामायण सर्किटसँग जोडिएको धनुषाधाम विकासको कस्तो योजना बनाउनुभएको छ?
रामायण सर्किट नेपाल-भारत सरकारको संयुक्त आयोजना हो। यसमा जनकपुर-धनुषाधाम, परशुराम तलाउ जोडिएको छ। रामयणकालीन धार्मिक सम्पत्ति, संस्कृति बनिसकेको छ। यसलाई अन्तर्राष्ट्रिय चिन्तन गरेर हामीले यो प्रोजेक्टलाई अगाडि बढाउनुपर्छ।
माओवादी किन छोड्नुभयो?
माओवादीमा मेरो विश्वास के थियो भने बल प्रयोगको सिद्धान्तबाट मात्र गरिब किसान, मजदुरको सत्ता आउन सकिन्छ। माओको विचार राजनीति भनेको बन्दुकको नालबाट सत्ता जन्मिन्छ भने नै हो। म टिचर भएको बेला टिचिङ पेसा छाडेर युद्धमा बलिदान दिन गए। गरिब किसान वर्गको मुक्तिका लागि बलिदान दिन गएँ। तर नेतृत्व वर्गले बल प्रयोगको सिद्धान्त, बल प्रयोगको नालबाट सत्ताको जन्म हुन्छ, त्यो विषयवस्तुहरु भत्काउने र चुनावी प्रतिस्पर्धामा आउने भयो।
प्रतिस्पर्धी राजनीतिमा एमाले-माओवादीको गठबन्धनबाट म निर्वाचित पनि भएँ। पार्टी एकता भयो। त्यसमा पनि दुई अध्यक्षको मनमर्जी भयो। कांग्रेससँगको गठबन्धनमा पनि फलो गर्ने काममात्र भयो। ल ठीकै छ, ठूलो नेता भनेर मान्यो। यति धेरै हरिसकेपछि के लाग्यो भने लिडर्स मिनस नट फलोवर भन्छ क्या! लिडरले फलोवर निर्माण गर्ने हैन, लिडरले लिडर निर्माण गर्ने हो, नेता बनाउने हो।
एमालेमा जाँदा पनि म फुटको पछि लागिन। टुट र फुटवाद, गुटवाद प्रतिक्रियावादीले अपनाउने हतियार हो। त्यसैले म त्यसको पछि लागिन मेरो सांसद पद गयो। म मेरो सैद्धान्तिक पक्षबाट एमालेमा छु। सिद्धान्त एक छिनमा बन्ने कुरा हैन। व्यवहारले बन्छ। केहीले भन्छ मैले माओवादी छोडे, वास्तविकमा मैले माओवादी छोडेको हो र? माओवादी त प्रचण्डले छोड्यो।
एमालेका आएका तपाइँकै साथीहरु स्वतन्त्र उम्मदेवार बनेर चुनावमा कि होमिए नि?
एडजस्टमेन्टको समस्या भएको हो। नयाँलाई एडजस्टमेन्ट हुन समस्या भएको हो। मसंगै एमाले आएका साथीहरूमा उत्ताउलोपना देखियो। महत्व दिएन भनेर असन्तुष्टि आयो, स्वभाविक पनि हो। पुरानालाई नयाँभन्दा बढी महत्व हुने, नयाँलाई कम महत्व हुने अनि प्रतिस्पर्धाको राजनीतिमा नयाँले पुरानाको भाग खोज्न आएजस्तो व्यवहारिक समस्याहरुको कारणले जटिलताहरु पैदा भएको हो।
माओवादीमा फर्किने सम्भावना छ?
माओवादी विचार राजनीति नयाँ ढंगले गयो भने सबै ब्रेकहरु भत्काउन सकिन्छ। पुरानै संसदीय व्यवस्था तथा प्रतिस्पर्धाको राजनीतिमा कम्युनिस्टको खोल ओढेर जुन साइनबोर्ड छ, त्यही बोर्डमा बुजुर्वा राजनीति गर्ने हो भने कुनै अर्थ छैन। माओवादी विचार राजनीतिमा नाम मात्रको ट्याग लगाएर काम छैन। तर नयाँ हिसाबले सम्पूर्ण ब्रेकरहरु भत्कियो र मानिसहरुले सम्भावना देख्यो भने चूनौती त हुन्छ तर चुनौतीहरूलाई छल्न म पछि पर्दिनँ। तर सम्भावनाहरु छ, तर सम्भावना नै नभएको ठाउँमा म जाने कुरा हुँदैन।
मधेसमा एमालेप्रति धेरै असन्तुष्टि छ। विशेषत नागरिकताको सबालमा।
नागरिकताको विषयमा धेरै पोलिटिक्स भयो। मैले बुझेको यो राजनीतिको विषय नै होइन। यो राष्ट्रिय समस्यालाई सबैले समाधान गर्नुतर्फ जानुपर्छ। भोट बैंक बनाउने हैन। अहिले राष्ट्रपतिलाई डिस्प्युट, बेइज्जती, बेकार बनाउने खेल भइरहेको छ। बुबा-आमा नेपाली अनि छोराछोरी विदेशी हुन्छ? ओलीको पालामा नागरिकता दिने भनेर भन्यो तर सर्वोच्चमा मुद्दा हालेर रोक्न लगाउने अनि संविधानमा उल्लेख भएको बुबा र आमा कोही नेपाली नागरिक भए छोराछोरीले नागरिकता पाउँछ भन्ने अनि फेरि आमाको नामबाट नागरिकता लिनेले स्वघोषणा गर्नुपर्ने कि कसको छोरा हो भनेर। गलत ठहरेमा नागरिकता बदर हुने, कैद पनि हुने महिलामाथिको अपमान होइन? महिलाको भावनालाई बुझिदिनु परेन।
अन्त्यमा के भन्न चाहनुहुन्छ?
मेरा एजेण्डाहरू लागू गर्न भोट चाहिन्छ। भोट पाएपछि, चुनाव जितेपछि मात्र लागू गर्न सक्छौं।
प्रतिक्रिया दिनुहोस !