मधेसमा चार दलबाट नौं जना मुख्यमन्त्रीका अकांक्षी!
जनकपुरधाम : आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यो निर्वाचनले चुनेका संघीय सांसदले प्रधानमन्त्री र प्रदेशसभा सदस्यले मुख्यमन्त्रीसमेत चयन गर्नेछ ।
प्रदेशमा कुन पार्टीको मुख्यमन्त्री को भन्ने चर्चा चुनाव लागेसँगै बढ्दै गएको छ । मधेसमा मुख्य पाँच दलका नौं नेता मुख्यमन्त्रीका दाबेदार छन् ।
निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले जसपा गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ । मधेसमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने प्रायः निश्चित छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरू नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र तथा एमाले जसपा गठबन्धनमा जसपाबाट भावी मुख्यमन्त्रीका लागि दावेदार शुरु भईसकेको छ । प्रदेशमा जसपाको नेतृत्वमा अहिले सरकार छ ।
जसपाबाट मुख्यमन्त्री लालबाबु राउतको नाम स्वभाविक दावेदारको रुपमा छ । मुख्यमन्त्रीका दावेदार राउत पर्सा १ ‘ख’ बाट उम्मेदवार छन् । २०७४ मा सालमा तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका राउतलाई मुख्यमन्त्री बनाइएको थियो ।
जसपामा आवद्ध नेता कार्यकर्ताहरूले मुख्यमन्त्री राउतलाई नै आगामी मुख्यमन्त्रीको रुपमा प्रचार गर्दैछन् । उनलाई पार्टीले प्रदेशमै उम्मेदवार बनाएकाले जसपाबाट उनी नै मुख्यमन्त्रीको दावेदार हुनेछ ।
यद्यपी जसपाबाटै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव र अर्थमन्त्री शैलेन्द्र साहलेसमेत आफूलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्दै आएको छ । मधेस सरकारको गत पाँच वर्षको कार्यकालमा जति पटक सरकारको नेतृत्व परिवर्तनका लागि जसपा भित्र जति दवाब बढ्यो उति पटक मन्त्री विजय यादवले आफूलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरे । यद्यपी पार्टी भित्रको आन्तरिक किचलोलाई अध्यक्ष उपेन्द्र यादवले हरेक पटक साम्य पारे ।
जसपा अध्यक्ष यादवको विश्वास पात्रका रुपमा रहेका अर्थमन्त्री साहलाई पनि कतिपयले भावी मुख्यमन्त्रीको रुपमा हेरेका छन् ।
सत्ता गठबन्धनमा आवद्ध लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनारले पनि आफूलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छ । सत्तारुढ गठबन्धनमा सहभागी सोनार पनि मुख्यमन्त्री बन्न सक्ने सम्भावनालाई नकार्न सकिदैन । सोनार प्रदेशमा तत्कालिन संघीय समाजवादी पार्टी र राजपा नेपाल बीचको गठबन्धनबाट २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए । उनी वरियतामा दोस्रो रहने गरी मधेस सरकारको भौतिक पुर्वाधार मन्त्री थिए ।
पछि संघीय समाजवादी पार्टी र राजपा मिलेर बनेको जसपा विभाजित भएपछि मुख्यमन्त्री राउतले तत्कालिन राजपा खेमाबाट बनेका मन्त्रीहरूलाई सरकारबाट हटाएका थिए । सोनार बारा ४ ‘ख’ उम्मेदवारी दिएका छन् । जहाँ जसपाका आत्माराम प्रसाद साह उनका प्रतिस्पर्धी छन् ।
जसपा नेपालबाट उम्मेदवार रहेका निर्वतमान सभामुख सरोजकुमार यादवसमेत आफूलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहेको छ । उनले प्रदेशसभाको ५ वर्षको प्रगति विवरण सार्वजनिक गरेकै दिन आफूलाई मुख्यमन्त्रीको रुपमा दावेदारी प्रस्तुत गरे । सभामुख यादव बारा १ ‘ख’ बाट उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्र प्रसाद कानुसँग छ ।
सत्तारुढ गठबन्धनको प्रमुख दल नेकाबाट मधेस प्रदेशको मुख्यमन्त्रीको रुपमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र कांग्रेसका मधेस प्रदेश अध्यक्ष कृष्णा यादव मुख्यमन्त्री पदका आकांक्षी छन् । राम सरोज धनुषा ३ ‘क’ बाट उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनलाई मुख्यमन्त्रीको निजी सचिव जितेन्द्र यादवले चुनौती दिईरहेका छन् । जितेन्द्र नेकपा एमाले र जसपा गठबन्धनबाट उम्मेदवार छन् । कांग्रेसका प्रदेश अध्यक्ष कृष्ण रौतहट १ ‘ख’ बाट उम्मेदवार छन् ।
२०७४ को निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र रौतहट १ बाट यादवलाई लोसपा नेता अनिल झाले पराजित गरेका थिए ।
यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले मुख्यमन्त्रीको दाबी गरिरहेको छ । उनी महोत्तरी १ (ख) बाट सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका छन् । उनलाई एमाले जसपाका गठबन्धनका उम्मेदवार रामश्रेष्ठ महतोले चुनौती दिदै गर्दा स्वतन्त्र उम्मेदवार माओवादी केन्द्रका वागी विष्णु लामा र विनोद महतोले चुनौती थपिएको छ ।
नेकपा एमालेको तर्फबाट रामचन्द्र मण्डल धनुषा २ (ख) बाट उम्मेदवारी बनेका छन् । उनले पनि आधिकारिक रुपमै आफुलाई पार्टीको तर्फबाट मुख्यमन्त्रीका दाबेदार बताउँछन् । उनलाई सत्तारुढ गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार संजय सिंहले चुनौती दिईरहेको छ । मण्डल यस अघि पनि सोही क्षेत्रबाट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । तर माओवादीबाट कारवाही गरिएपछि संसद पद गएको थियो ।
प्रतिक्रिया दिनुहोस !