गिरिराजमणिलाई रोक्ने प्रयासमा महतो

गिरिराजमणिलाई रोक्ने प्रयासमा महतो

जनकपुरधाम: महोत्तरी खैरमाराका सरोज श्रेष्ठको घर केही वर्ष अघिसम्म पाँच सयमा पनि भाडा लाग्दैन्थ्यो तर अहिले महिनाको एउटा कोठा पाँच हजारमा भाडा लाग्छ । 

खैरमाराको डाँडामा निर्मला लामा बहुप्राविधिक शिक्षालय स्थापना भएपछि विद्यार्थीको चापले उनको घरमा दिनहुँ कोठा भाडा खोज्न आउँछ तर पाउँदैन । मुख्य कारण हो, निर्मला लामा बहुप्राविधिक शिक्षालयमा विभिन्न दश फयाकेल्टिको अध्ययन अध्यापन सुरु भएपछि त्यस क्षेत्रको मुहार नै फेरिएको छ । 

कुनै समय कोही जान नमान्ने, बस्न नमान्ने खैरमाराको अहिले स्वरुप नै परिवर्तन भएको छ । प्राविधिक शिक्षालय स्थापन भएदेखि त्यहाँका मानिसले रोजगारी पाएका छन् । यस क्षेत्रका जनताले रोजी रोजी आफ्नो ईच्छा अनुसारको प्राविधिक शिक्षालय पाएको देन गिरिराजमणि पोखरेलको भएको उनको बुझाई छ । 

गौशाला नगरपालिका ४ रजखोर मल्हनिया पोखरीको डिलको छाप्रोमा चिया बेच्दै परिवारको जोहो गर्दै आएकी विमलादेवि साह सडक बाटोमा पोखरेलले गरेको कामप्रति सन्तुष्ट छिन् । तर शिक्षा पहिला जस्तै अहिले पनि रहेको उनको गुनासो छ । ‘रजखोइर टोलमा सडक बनाएका छन् । काम त केही केही भएको छ । ठिकठिकै गरेका छन्’ उनले भनिन् ‘तर विद्यालयमा पढाई लेखाई जस्ताको त्यस्तै छ । शिक्षकहरु गफिरहन्छन् । विद्यार्थी खेलिरहन्छन् ।’ 

अब जित्ने नेताबाट शिक्षा, स्वास्थ्य, रोजगार लगायतको राम्रो विकास गरोस् भन्ने बिमलाको अपेक्षा छ ।

'गौशाला ४ रामबाबु साहले सडक बनाएपछि माथिबाट अलकत्र मात्र छर्यो । दुई वर्षमै फुट्यो’ सडक देखाउँदै नेताबारे उनले गुनासो पोखे । गौशाला सम्सी सडक बनेको धेरै भएको छैन । तर उनको घर अगाडि झण्डै केही मिटर सम्मै सडक फुटेर जीर्ण भइसकेको छ । 

उनले भने, ‘लगातार ३ पटकको चुनावमा महोत्तरीबाट जित्दै आएका माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई मत हाल्दै आएको छु । राम्रो भनौं की नराम्रो उनीभन्दा राम्रो गर्ने मान्छे पनि छैन ।’ अब मत दिने बेला पोखरेल र लक्ष्मी महतो बारे राम्ररी केलाएर मत दिने उनी बताउँछन् ।

विकासको मामलामा कर्णबहादुर जस्तै असन्तुष्ट बर्दिबास नगरपालिका ९ पशुपतिनगर बन्द्रा टोलका ८२ वर्षीय जोगेन्द्र महतो देखिए । घर अगाडीको कच्ची सडकमा कालोपत्रे हेर्ने उनको पुरानो धोको छ । ‘गिरिराजमणिले १५ वर्ष लगातार यहाँबाट जिते । तर हाम्रोतिर विकास गरेनन्’,  उनले भने, ‘विकासै नगरेका होइनन् । तर उत्तरी बेल्टमा केन्द्रित भए । सडक बनाए । हाम्रोतिर केही गरेका छैनन् । यो सडक अहिलेसम्म कालोपत्रे भएन । धुलोले आजित छौं । अब विकास गर्ने नेतालाई भोट हाल्छु ।’ 
 
औरही नगरपालिका १ बजारटोलका २७ वर्षीय संजयकुमार चौधरी पुराना दल र नेताको विकल्प चाहन्छन् । साउदी अरबबाट फर्केर औरही बजारमा सानो किराना पसल थापेका उनले अब स्वतन्त्र उम्मेदवारलाई मत दिने बताए । ‘रोजगारी, विकास, सरसफाइ केही छैन । त्यसैले अब दल र पुराना नेताप्रतिमलाई  विश्वास छैन । स्वतन्त्रलाई भोट हाल्छु,’ उनले भने ।

तर फेरि माओवादी केन्द्रबाट उम्मेदवार रहेका पोखरेल आफू निरन्तर जनताको सम्पर्कमा रहेर काम गरेको दावी गर्छन् । आफ्नो दुई कार्यकाल संविधान निर्माणको क्रममा केन्द्रित भएको र पछिल्लो पटक जित्दा संविधानकै आधारमा जनताको बीचमा विकास निर्माणमा कन्द्रित भएको उनले बताए । 

‘मेरो १५ वर्षको दुई अवधि संविधान निर्माणमै केन्द्रित रह्यो । त्यसमा हामी सफल रह्यौं । पछिल्लो पटक संविधानको आधारमा जनताको विकास निर्माणको काममा केन्द्रित भएर काम गरेँ । तीनवटा राष्ट्रिय गौरवका योजना यस क्षेत्रमा परेका छन् । ती कार्यान्वयनका क्रममा छन्,' उनले भने, 'बर्दिवासको खयरमारामा शहीद निर्मला लामा बहुप्राविधिक शिक्षालय, गौशालामा राजर्षिजनक विश्वविद्यालको आंगिक कलेजको रुपमा प्रदेशकै ठूलो इन्जिनियर कलेज निर्माणको चरणमा छ । त्यसमा रेल्वे सम्बन्धि पढाइ हुन्छ । बर्दिबास मेडिकल कलेज । जुन जग्गा सम्बन्धि विवादले रोकिएको छ । तर त्यसको प्रक्रिया अगाडी बढ्दै छ ।’

त्यसरी नै कृषि क्षेत्रमा सिंचाईको लागि डिपटुल इनार, नदी कटान क्षेत्रमा तटबन्ध गरी नियन्त्रण प्रयास, सडकबाटो लगायतको थुप्रै काम भएको बताउँदै उनले अगामी दिनमा पनि जनताले यस्तै उपलब्धि महशुस गर्ने बताए। 

२०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर जितिरहेका पोखरेल अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको लागि फेरि उम्मेदवार छन् । २०७४ कै निर्वाचनमा जस्तै उनका बलिया निकटतम प्रतिस्पर्धी लक्ष्मी महतो फेरि एमालेबाट चुनावी मैदानमा होमिएका छन् । पोखरेल सत्ता गठबन्धनका उम्मेदवार हुन् भने लक्ष्मी विपक्षी एमाले–जसपा गठबन्धनका ।
 
मधेसवादी गठबन्धमा तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार रहेका महतोलाई बाम गठबन्धन घटक उम्मेदवार पोखरेलले ४ हजार २ सय ८४ मतअन्तरले पराजित गर्दै जित निकालेका थिए । पोखरेलले २३ हजार ७७६ मत पाएका थिए भने महतो १९ हजार ४९२ मत र तेस्रोमा कांग्रेसका उम्मेदवार सीताराम भण्डारीले ९ हजार ४७५ मत ल्याएका थिए । पोखरेललाई त्यतिबेला एमालेको साथ थियो भने महतोलाई राष्ट्रिय जनता पार्टी (राजपा)को । यतिबेला फेरि दुबै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका छन् ।
 
महतो उम्मेदवारी दर्ताको दिन टिकट नपाउने भएपछि जसपा छाडेर एमालेमा गएर उम्मेदवार बनेका हुन् । उनले गौशाला नगरपालिकामा जसपाबाट जेठा छोरा डा. दिपेन्द्र महतोलाई मेयरमा जिताएका छन् । यस क्षेत्रमा नेतृत्वकर्ताको अभाव देखेपछि अन्तिम समयमा एमालेले महतोलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ । 

महतो २०७२ मा असई थमन विकको हत्या प्रकरणका आरोपित हुन् । उनलाई उच्च अदालत जनकपुरले पूर्पक्षका लागि जेल चलान गर्न आदेश आदेश दिएको छ । 

पुराना दुई प्रतिस्पर्धी बीच पुनः दुई पक्षीय प्रतिस्पर्धा हुने आकलन भइरहँदा बर्दिबास नगरपालिकामा कांग्रेसबाट विद्रोह गरी स्थानीय निर्वाचनमा स्वतन्त्रबाट मेयर जितेका प्रह्लाद क्षेत्री समूहका पोषण थापाको उम्मेदवारीले चुनाव रोचक बनेको छ । 

थापा यातायात व्यवस्था कार्यालय बर्दिबासका अधिकृतको जागिर छाडेर चुनावी मैदानमा होमिएका छन् । 

पोखरेल बलिया उम्मेदवार 
बर्दिबास नगरपालिकाका सबै १४,  गौशाला नगरपालिका सबै १२, भंगहा नगरपालिकाको वडा नं. ३,४,५ र ९ चारवटा गरी ३० वटा वडा यो क्षेत्रमा छन् । गत स्थानीय निर्वाचनमा बर्दिबास नगरपालिका कांग्रेसबाट विद्रोही समूह स्वतन्त्रले जितेको छ भने गौशाला नगरपालिका जसपाले । ३० वटा वडामध्ये कांग्रेस र जसपाले ७/७, माओवादी केन्द्रले ६, एमाले र लोसपाले ३ वडामा जित हात पारेको छ । 

स्थानीय चुनावको नतिजा अनुसार क्षेत्रमा सत्ता गठबन्धन बलियो देखिन्छ । वडाध्यक्षका उम्मेदवारमा माओवादीले सबभन्दा बढी मत ल्याएको छ । दोस्रोमा कांग्रेस र तेस्रोमा एमाले छन् । माओवादी १५ हजार ८ सय ८८, कांग्रेस १३ हजार १ सय ४८, एमाले ८ हजार ३४ मत पाएका छन् । चौथोमा जसपाले ७ हजार २ सय ३७, पाँचौमा लोसपा ७ हजार ६९, छैटोमा जेब्रा छापसहित सबै स्वतन्त्र ६ हजार ५ सय १४ मत पाएका छन् ।

जनमत पार्टीले २ हजार २१, नेकपा एकीकृत समाजवादीले १ हजार ५०८ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा छ । 

स्थानीय चुनावमा सत्ता गठबन्धनका घटक माओवादी केन्द्र, नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादीका वडाध्यक्षले पाएको मत जोड्दा सत्ता पक्षको ३७ हजार ६११ मत पुग्छ भने विपक्षी गठबन्धन एमाले र जसपाको मात्र १५ हजार २७१ छ । यो हिसाबले गठबन्धनका उम्मेदवार पोखरेलको मत महतो धेरै देखिन्छ । 

लक्ष्मी महतोलाई पुरानै मतको भर 
गत निर्वाचनमा थोरै मतले पोखरेलसँग पराजित भएकाले यसपाली एमालेको उम्मेदवार र जसपाको मत आफ्नै साथ हुने र यस क्षेत्रमा गरेको जनसेवा, व्यक्तिगत लगाव, ईष्टमित्रको कारण आफू चुनाव जित्नेमा विश्वस्त रहेको उम्मेदवार महतोको दावी छ ।
  
‘अहिले मसँग एमालेको शक्ति छँदैछ । त्यति बेला मधेसी गठबन्धनको उम्मेदवार म हुँदा राजपा नेता सरतसिंह र कांग्रेसका सीताराम भण्डारीले पोखरेललाई नै सहयोग गर्नुभयो । तै पनि म थोरै मतले पराजित भए’ उम्मेदवार महतोले भने ‘यो पटक म एमालेको उम्मेदवार हुँ । गौशालामा हाम्रो जसपाको सरकार छ । बर्दिबास नगरपालिकामा स्वतन्त्र सरकार छ । दक्षिणी भू भागमा मेरो बलियो पक्कड छँदैछ । त्यसकारण म यसपटक फराकिलो मतान्तरले जित्छु ।’ 

एमालेबाट यो क्षेत्रमा प्रदेशसभामा १ (क) बाट एमालेकी शारदा थापा र (ख) बाट रामश्रेष्ठ महतो उम्मेदवार छन् । त्यस्तै सत्ता गठबन्धनबाट १ (क) मा लोकतान्त्रिक समाजवादीका पिताम्बर महतो र (ख) मधेस सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह उम्मेदवार छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.