भोट माग्दा मात्रै बाढीका कुरा
सुनसरी : ‘खोला बढेपछि निद्रा लाग्दैन। रातभर जागा बस्नुपर्छ। हाम्रो यस्तो दुःख छ। तर, नेताहरू सुन्दैनन्। भोट माग्न मात्रै आउँछन्,’ सुनसरी इटहरी उपमहानगरपालिका–११ भागलपुरकी तारादेवी माझी गुनासो पोख्छिन्। ‘जसले हाम्रो घर जोगाउँछ। उसैलाई भोट दिन्छौं। भोट दिएर हाम्रो अवस्था उस्तै रहन्छ भने किन भोट दिने ?’ उनले थपिन्। उनको अझै गुनासो सकिँदैन। भन्छिन्, ‘जनताका लागि त काम गर्ने भनेर जितेर गएका होला नि ! नत्र यस्ता नेतालाई किन जिताउनु हँ ? भोट माग्न मात्र आउनु भएन अब। जनताका दुःख पनि सुनिदिनु पर्यो। हामीचाहिँ दुःख पाउने। हाम्रो भोट पाएर नेताहरूचाहिँ सुख गर्ने त्यो त भएन नि !’
बूढी खोलाको किनारामा बसोबास गर्ने तारादेवी नेता प्रतिगुनासो पोख्ने एउटा प्रतिनिधि पात्र हुन्। चतरा नहरको डिलमा बसेका उनीहरूलाई त्यहाँबाट हटाएपछि बूढी खोलाको किनारमा गएर बस्न बाध्य छन्। उनीहरू बूढी खोलाको किनारामा बसेको एक दशक हुन लाग्यो। नहरको डिलबाट उनीहरूलाई नहर प्रशासनले उठाएको थियो। तर, चुनावका बेला उम्मेदवारले समस्या समाधान गर्ने भन्दै भोट मागे पनि पूरा नगरेको यहाँका स्थानीयको गुनासो छ।
तारादेवीको परिवार पनि नहरको डिलबाट लखेटिएपछि खोलाको किनारामा पुगेको छ। उनले खोलाको किनारको यो जग्गा ३० हजार रुपैयाँ हालेर किनेकी थिइन्। ‘हाम्रो आफ्नो जग्गाजमिन छैन। नहरको छेउमा वर्षौंदेखि बस्दै आएका थियौं। त्यहाँबाट लखेटे। अनि सर्दै–सर्दै यहाँ खोलाको किनारामा आएर बस्नु परेको छ,’ उनले भनिन्, ‘यो खोलाको छेउ ३० हजार हालेर २ कठ्ठा किनेको हो। कहाँ यहाँ पनि यस्तै बस्न दिएका हुन् र ? त्यो पनि खोलाले कटान गरिरहेको छ ?’इटहरी- ११ भागलपुरमा बूढीखोला नदिले कटान गरेको स्थान ।
तारादेवीका परिवारको जीविका पनि मजदुरी गरे मात्रै चल्छ। ‘न जग्गा जमिन छ, न त काम धन्दा नै। आफ्नो केही छैन,’ उनले भनिन्। उनीहरू मजदुरी गरेर नै जीविका चलाउँदै आएका छन्। ‘जागिर छैन। जताजता रोजी लाग्छ उतैउतै गएर काम गर्नुपर्छ,’ तारादेवीले भन्छिन्, ‘एक दिन मजदुरी नहुँदा पेट पाल्न मुस्किल पर्छ।’
खोलामा ठूलो बाढी आएमा गाउँमा बस्नै नसकिने उनले बताइन्। ‘बाढी आयो भने गाउँमा आइहाल्छ अनि भागाभाग गर्नुपर्छ,’ उनले भनिन्, ‘ज्यान जोगाउन लाग्नुपर्छ। सरसामान पनि बचाउन सकिँदैन।’ केही वर्षअघि आएको बाढी त गाउँमा नै पसेको थियो। स्थानीय बासिन्दा कोही भागेर आफन्त घरमा त कोही नहरको डिलमा गएर बसेका थिए। खोला बढेपछि त गाउँमा नै बस्न नसकिने उनीहरू गुनासो गर्छन्।
स्थानीय हर्कबहादुर तामाङको पनि उस्तै गुनासो छ। भन्छन्, ‘खोलामा तटबन्ध नबनेसम्म भागलपुरवासीको अवस्था यस्तै हुन्छ,’ उनले भने, ‘पुलको दक्षिणमा तटबन्ध बन्नुपर्यो।’ उनले चुनावमा भोट माग्न आउने नेतालाई आफूले तटबन्ध बनाइदिन आग्रह गर्ने गरेको बताए। ‘हाम्रो गाउँ बाढीले धेरै दुःख दिन्छ। यसमा नेताहरूको ध्यान जानुपर्यो नि !,’ उनले भने। उनले नगरप्रमुख हेमकर्ण पौडेललाई समस्या राखेको बताए। ‘हेमकर्णलाई त हामीले भेटेर नै यो समस्या राख्यौं। उहाँले केही गर्छु भनेर आश्वासन पनि दिनुभएको हो। तर, खै त्यो आश्वासन यस्तै छ,’ उनले भने।इटहरी- ११ भागलपुरकी रिना सरदार आफ्नो बारीमा काम गर्दै ।
पितनारायण चौधरीले बाढी गाउँ पसेपछि ३ दिन नहरको डिलमा बसेको दुखेसो सुनाए। ‘तीन वर्ष पहिला बाढी आयो। भागाभाग भयो। हामी ३ दिन त नहरको डिलमा बितायौं,’ उनले भने, ‘ज्यानको पनि खतरा छ। कुन बेला आएर लान्छ डर छ। सरसामान त बचाउन नै पाउँदैनौं।’
स्थानीय बंकरलाल माझी बूढी खोलाको दुःख कहिल्यै नसकेको गुनासो गर्छन्। ‘जग्गा जमिन छैन। खोलाको किनारामा बसेको छौं,’ उनले भने। उनीहरू आफूलाई स्थायी रूपमा बसोबास गर्ने व्यवस्था गरिदिन वा बाढीबाट बचाउन उपाय गरिनदिन आग्रह गर्छन्। यहाँ दक्षिणपटि खोलाले कटान गरिरहेको छ। बस्तीमात्र होइन खेत पनि धेरै कटान गरिरहेको छ।
इटहरी उपमहानगरपालिका–११ का वडा सदस्य किशोर काफ्ले भागलपुरका जनताको समस्या समाधानको प्रयास गरिरहेको बताउँछन्। तटबन्ध बनाउन प्रदेश र संघीय सरकारमा अनुरोध गरिएको उनको भनाइ छ। ‘बाढी र कटानले यहाँका जनताले धेरै दुःख पाएका छन्। हामीले यो समस्याका विषयमा माथिल्लो निकायसँग अनुरोध गरिरहेका छौं। केही काम पनि सुरुवात भएको छ,’ उनले भने। यो गाउँ सुनसरी ३ मा पर्छ। यो क्षेत्रबाट जितेका नेता पटक–पटक मन्त्री भइसकेका छन्। तर, त्यहाँ समस्या समाधान नहुँदा स्थानीय निराश छन्। यही क्षेत्रबाट ६ वटा विजयकुमार गच्छदारले चुनाव जितेका छन्।
- सुनसरीबाट जितेका नेता पटक–पटक मन्त्री भए। तर, बाढीपीडितको समस्या उस्तै रहे।
- बूढीखोला किनारमा ५७ घरपरिवार छन्। बाढीका कारण बर्सेनि बिस्थापित हुन्छन्।
- उम्मेदवारका प्रतिबद्धतामा समेटिन्छ समस्या। तर, हुँदैन समाधान
पटक–पटक मन्त्रीदेखि उपप्रधानमन्त्री उनी भइसकेका छन्। यो पटक गच्छदार नै चुनावी मैदानमा छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरी छन्। गच्छदार र चौधरीबीच २ पटक यहाँ प्रतिस्पर्धा भइसकेको छ।
दुवै पटक झिनो मतले गच्छदारसँग चौधरी पराजित भएकी छन्। तेस्रो पटक उनीहरू भिड्दै छन्। तर, जितेकाले मात्रै होइन हारेकाले त्यसमा जनताका समस्यामा ध्यान दिनुपर्ने भागलपुरवासीको आग्रह छ। ‘हाम्रा समस्या त जित्नेले मात्रै होइन हार्नेले पनि सुन्नु पर्यो नि, उनीहरू एकमुखले भन्छन्, ‘नेता त हार्ने जित्ने दुवै हुन् उनीहरूले हामीलाई साथमा पो हाम्रो समस्याको सुनुवाइ होला त ?’
भागलपुरमा धेरैजसो दलित, जनजातिहरूको बसोबास छ। यहाँ सरदार, ऋषिदेव, चौधरी, तामाङ, माझीको बसोबास छ। यो बाढीको साथै रोजगारी, शिक्षा स्वास्थ्य, खानेपानीको यस्तै समस्या छ। यहाँ बालबालिका पढ्न पनि टाढा जानुपर्छ। यो गाउँमा ५७ घर परिवार बस्छन्।
तस्बिर : दिपेन श्रेष्ठ