१४ महिनापछि शोधनान्तर बचतमा
काठमाडौं : लामो समयपछि नेपाल भित्रिने विदेशी मुद्रा बढ्दा शोधनान्तर स्थिति बचतमा पुगेको छ। १४ महिना अघिसम्म घाटामा रहेको शोधनान्तर स्थिति २०७९-०८० असोजमा १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा पुगेको छ। पोहोर सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनामा मुलुक भित्रिने रेमिट्यान्समा वृद्धि र आयातमा नियन्त्रण हँुदा शोधनान्तर बचतमा पुगेको उल्लेख छ। ‘पछिल्लो समय रेमिट्यान्समा सुधार भएको छ। सरकारले आयातमा कडाइ गरेकाले मुद्रा कम बिदेसियो। फलस्वरूप १४ महिनापछि शोधनान्तर स्थिति बचतमा गएको छ,’ प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘विदेशी मुद्रा सञ्चितिमा पनि राम्रो सुधार भएको छ।’ अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक संकेत देखिएकाले सुधारको बाटोमा रहेको उनको दाबी छ। शोधनान्तर बचतमा रहे पनि चालू खाता घाटा भने कायमै छ। चालू खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा छ। पोहोर चालू खाता १ सय ४९ अर्ब ८१ करोडले घाटामा थियो।
विप्रेषण आप्रवाह बढ्दा मुलुकको अर्थतन्त्रलाई धेरै राहत पुगेको छ। चालू आवको ३ महिनामा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २८१ अर्ब ५ करोड पुगेको छ।
जबकि पोहोर सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो। यसले गर्दा सञ्चितिमा सुधार भएको छ। २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ। सञ्चिति रकम बढेकाले यसले नेपालको आयात धान्ने अवधि पनि बढेको छ। पछिल्लो तीन महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ। वैदेशिक व्यापार २०७९-०८० को तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले कमी आई ४१ अर्ब ८२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो। जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, तयारी पोसाक, चियालगायतका वस्तुको निर्यात बढेको छ।
सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहनाको निर्यात घटेको छ। व्यापार घाटामा पनि कमी आएको छ। महिनामा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले घटेर ३५९ अर्ब १८ करोड पुगेको छ। पोहोर सोही अवधिमा यस्तो घाटा ५८.३ प्रतिशतले बढेको थियो। सो अवधिमा कुल वस्तु आयात १६.२ प्रतिशतले घटेर ४०१ अर्ब पुगेको छ।