हवाई यात्रा सजिलै, सवारीसाधनलाई पास
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका दिन यातायात सञ्चालनका लागि निर्वाचन आयोगले मापदण्ड बनाएको छ।
उम्मेदवार तथा उम्मेदवारका निर्वाचन प्रतिनिधिले मतदानका दिन सवारीसाधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ।
मंसिर ४ गते हुने निर्वाचनमा आयोगले स्वीकृत गरेको आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार मतदानका दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानबाट यात्रा गर्नेले सजिलै उड्न पाउने छन्।
त्यसका लागि यात्रुको पासपोर्ट, भिसा, हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनका लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ।
विभिन्न निकाय तथा संस्थाले मतदानका दिन सवारीसाधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटरप्याडमा सवारीसाधन नम्बर, सवारीसाधनको किसिम र सवारीसाधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगका सहप्रवक्ता कमल भट्टराईले बताए।
अपांगता भइ आफैं हिँडडुल गर्न नसक्ने व्यक्तिका लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न सहज गरिएको छ। त्यसका लागि पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचयपत्रका आधारमा सवारीसाधनको प्रयोग गर्न सकिनेछ।
‘अशक्तताका कारणले आफैं हिँडडुल गर्न नसक्ने व्यक्तिका हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सक्नेछ’, भट्टराईले भने। मापदण्डविपरीत सवारीसाधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन कब्जामा लिइ आवश्यक कानुनी कारबाही गरिने र मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।
मतदानका दिन सीमित सवारीसाधनलाई सवारी अनुमति पत्र (पास) लिनु नपर्ने व्यवस्था गरेको आयोगले जनाएको छ।
कस्ता सवारीलाई पास चाहिँदैन ?
– एम्बुलेन्स, शव वाहन, दमकल
– खानेपानीको ट्यांकर, दूध बोक्ने गाडी, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन
– नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन
– दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन
– अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन
– निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारीसाधन
– तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारीसाधन
– कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने नीलो नम्बर प्लेट भएका सवारीसाधन
– विदेशी पर्यटक बोक्ने हरियो नम्बर प्लेट भएका सवारीसाधन
– सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायका सवारीसाधन
– मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधन।
प्रतिक्रिया दिनुहोस !