खुम्बुको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिने
सोलखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रको मतपेटिका हेलिकप्टर मार्फत जिल्ला सदरमुकाम सल्लेरी ढुवानी गरिने भएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिकाको खरिखोलासम्म सडक पुगे पनि माथिलो क्षेत्रमा सडक नपुगेकाले मतपेटिका ढुवानीमा हेलिकप्टरको प्रयोग गर्ने तयारी गरिएको हो।
अहिले सो क्षेत्रको मतपेटिका संकलनको काम भइरहेकाले दिउँसो हेलिकप्टर मार्फत मतगणना स्थल सल्लेरी ल्याउने योजना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
११ वटा मतदान केन्द्र रहेको खुम्बुको वडा नम्बर १ खरिखोलाका २ वटा केन्द्रको मतपेटिका गाडी मार्फत सल्लेरी ल्याइएको छ भने माथिल्लो क्षेत्रहरुको मतपेटिका भरिया मार्फत लुक्ला र नाम्चेमा संकलनको काम भईरहेको जनाइएको छ। आइतबार भएको मतदानमा खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ५ हजार ९ सय ८७ मतदाता मध्ये २ हजार ६ सय ४७ अर्थात ४४.२१ प्रतिशत मत खसेको छ।