परराष्ट्र मन्त्री खड्का चौथो पटक निर्वाचित
उदयपुर : परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्का संसदमा चौथोँपटक 'इन्ट्री' भएका छन्।
उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-वामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खड्का मंगलबार सम्पन्न मतगणनाको परिणामबाट निर्वाचित भएका हुन्।
खड्काले नेकपा एमाले उम्मेदवार मन्जुकुमारी चौधरीलाई २ हजार ३७९ मतले पछि पारे। मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार खड्काले ३१ हजार २६८ र चौधरीले २८ हजार ८९१ मत प्राप्त गरिन्।
सुरुवातदेखि नै झिनो मतले पछि पार्दै आएका खड्काले ठुलो अन्तरले जित निकाले। खड्का यसअघि २०६४, २०७०, २०७४ सालमा निर्वाचित भएका थिए।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै आफ्नो निर्वाचन क्षेत्रलाई मजबुत बनाउँदै आएका खड्काले पछिल्लो समय सहरी विकास र परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन्।