सस्तोमा धान बेच्दै किसान

सस्तोमा धान बेच्दै किसान

गुलरिया : धानको पकेट क्षेत्र मानिने बर्दियाको राजापुर क्षेत्रका किसानको धान सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले खरिद नगर्दा उनीहरू मर्कामा परेका छन्। कम्पनीले धान खरिदका लागि काँटा नलगाउँदा बर्दिया राजापुर र गेरुवा क्षेत्रका किसानहरू सस्तो मूल्यमा धान बेच्न बाध्य छन्।

धानबाली स्याहारेर बेच्नका लागि तयार छ। किसानले बजारमा बेच्ने धान दुःख गरेअनुसारको मूल्यमा बेच्न पाएका छैनन्। बिउ, मल र ज्यालामा लागेको महँगो लगानी तथा दुःखसमेत असुली नहुने मूल्यमा धान किन्न बिचौलियाहरू लागिरहेका छन्। राजापुर नगरपालिका वडा नम्बर १ निवासी स्थानीय धर्मराज शाहले भने, ‘खाद्य कम्पनीले काँटा लगाएको छैन, किसानलाई गहुँ छर्न बिउ, मलको आवश्यकता छ, तर खरिद गर्न पैसा छैन। आफूसँग भएको धान बजारमा प्रतिक्विन्टल समर्थन मूल्यभन्दा पाँच सय रुपैयाँ कमसम्ममा बेच्नु परेको अवस्था छ। सरकारले किसानको धान कहिले किन्ने ?’, प्रश्न गर्दै उनले थपे, ‘कम्पनीमा सोध्न जाँदा माथिबाट निर्देशन नआएको जवाफ पायौं। राजापुर खाद्यमा खरिद हुने धानको मूल्य निर्धारण गरी तत्काल काँटा लगाउनु पर्छ । राजापुर क्षेत्रका किसानले पाउनुपर्ने सुविधा पाउनुपर्छ भन्ने हाम्रो माग हो।’ 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरका प्रमुख धर्मराज पन्तले कार्यालयले किसानको धान पाक्यो, दबाब आइरहेछ भनेर केन्द्रमा पत्राचार गरिसकेको बताए। 

उनले भने, ‘केन्द्रबाट पूर्वाधार तयार गर्दैछौं, पहल भइरहेको भन्ने जानकारी पाएका छौं। हामीलाई धान खरिद गर्ने निर्देशन आएको छैन। माग गरिरहेका छौं जवाफ आएको छैन। हामी पनि केन्द्रको निर्देशनको पर्खाइमा छौं। गत वर्ष मंसिर १६ मै काँटा लगाएका थियौं।’ प्रमुख पन्तले थपे, ‘किसानको धान खरिद गर्न नपाउँदा हामी पनि दुःखी छौं। किसानहरू बिचौलियाबाट ठगिएको गुनासो आएको छ। कम्पनीले किसानको धान किन्दैन, पछि व्यापारीसँग महँगोमा खरिद गर्छ भन्ने आरोप पनि छ। तर, हामी त्यसो हुन दिँदैनौं। किसानको नागरिकता र वडाको सिफारिसमा मात्र धान खरिद गर्ने नियम छ। वडाको सिफारिसमा हामीले धान खरिद गर्ने भएकाले सिफारिस दिँदा वडा चनाखो हुनुपर्छ। हामीले सोझै धान खरिद गर्दैनौं। मोटा र मकवानपुर जातको धान मात्र खरिद गर्छौं। मसिनो धान यहाँ खरिद हुँदैन। सरकारले मोटा धानको मूल्य ३ हजार ९ सय ६७ र मसिनो धानको मूल्य ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ। काँटा लगाइसकेपछि जिल्लास्थित मूल्य निर्धारण समितिमार्फत मकवानपुर धानको मूल्य निर्धारण गर्छौं।’

कम्पनीले बर्दियामा मोटा धान २० हजार क्विन्टल र मकवानपुर १५ हजार क्विन्टल गरी कुल ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उनले प्रष्ट्याए। ‘हामीसँग गत वर्षको एक हजार क्विन्टल धान र ५ सय क्विन्टल मोटा चामल स्टक छ। माथिबाट हामीलाई जे निर्देशन आउँछ त्यही गर्छौं। हामीले चाहेर केही पनि हुँदैन। यसमा कुनै द्विविधा छैन’, कार्यालय प्रमुख पन्तले भने। बर्दिया जिल्ला धान उत्पादनको दृष्टिले पकेट क्षेत्र मानिन्छ। राजापुरमा बाह्रैमहिना धान खेती हुन्छ।

यस वर्ष बर्दियामा ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए। यस वर्ष बर्दियामा १ लाख ८९ हजार ९ सय ४५ मेट्रिकटन धान उत्पादन भएको छ। धानको उत्पादकत्व ३ दशमलव ७८ मेट्रिकटन प्रतिहेक्टर रहेको अधिकृत पाठकको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.