रिस किन ?
रिस एक नकारात्मक मनोभावना हो। रिसको बाहिरी तथा व्यावहारिक रूप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो। रिस मूलतः एउटै भए पनि यसका अनेकौं रूप छन्। दुख, द्वेष इत्यादि रिसका विभिन्न रूप छन्। रिसको प्रदर्शन तुरुन्त हुन नसकेमा यो दुःख, द्वेषको रूपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रूपले रोगी हुन जान्छ। अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै। कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन्। समय र परिस्थितिअनुसार मनमा उठेका भावना स्वतः हराउँछन् पनि। रिस यदि नियन्त्रणबाट बाहिर जान थाल्यो भने समस्या उत्पन्न हुन्छ। धेरै रिसाउने बानीले मानिस शारीरिक एवं मानसिक रोगबाट पीडित त हुन्छ। पारिवारिक समस्या पनि पर्छ। करियरमा पनि असर पर्छ। बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन। पछि गएर ऊ एक्लै हुन जान्छ।
रिसका प्रकारहरू
वाणीमा रिसः यसमा रिसाएको व्यक्तिको मुखबाट निस्किने शब्दहरू गालीगलोज गर्ने, चोट पुर्याउने खालका हुन्छन्।
निष्क्रिय रिसः यसमा रिसाएको मान्छे निष्क्रिय भएर आफ्नो रिस प्रकट गर्छ। ऊ केही बोल्दैन, केही गर्दैन उठेर एकातिर हिँड्छ।
पानीको फोकाजस्तै रिसः यस प्रकारको रिस तुरुन्तै आउने, तुरुन्तै जाने खालको हुन्छ। सहजै हराउँछ र बिर्सिन्छ।
दीर्घकालीन रिसः यस्तो रिस जो कहिले नहराउने, रिस उठाउनेलाई कहिले माफी नगर्ने खालको हुन्छ।
उग्र रिसः यसमा एकै पटक रिसाएर चिच्याउने, कराउने, सामान फ्याक्ने, रिसको झोंकमा आँखा नदेख्ने, सानो ठुलोको विचारै नगर्ने किसिमको हुन्छ।
स्वघाती रिसः यसमा व्यक्ति रिसाएको बेला स्वयं आफैंलाई हानिनोक्सानी हुने किसिमको व्यवहार गर्दछ। जस्तै, भित्तामा टाउको ठोकाउने, खाना नखाइकन सुतिदिने, ब्लेडले शरीरको कुनै भाग काट्ने प्रयास आदि गर्न सक्छ।
पागल रिसः अरूप्रतिको दुःख, रिस, डाहाको रिसले गर्दा अव्यावहारिक कुरा गर्ने, दोष दिने, धम्क्याउने, गर्न नहुने कुराहरू गर्ने आदि।
रिसाउने व्यक्तिमा देखिने लक्षणहरू
- .स–साना कुरालाई पनि ठुलो रूप दिने।
- .अनावश्यक कुरालाई बढाइचढाई भन्ने र झर्किने।
- .आफ्नो सहकर्मीका कामबारे टीका–टिप्पणी गर्ने।
- .कामको जिम्मेवारी लिन नमान्ने।
- .काम बिग्रिँदा दोष अरूको टाउकोमा थोपार्ने, आफू पन्छिन खोज्ने।
रिसका असरहरू
- .रिसले मानसिक तनाव दिँदा कसैकसैलाई बढी खानुपर्ने हुन्छ भने कसैलाई खानै मन नलाग्ने हुन्छ।
- .आफूलाई बढी नै व्यस्त भएको देखाउने, अफिसमा अबेरसम्म बस्ने र काम बढी गर्ने प्रयास गर्दछन्।
- .रिसलाई नियन्त्रण गर्न सकेन भने अरूलाई गालीगलौज झगडा र मारपिटमा पनि लाग्न सक्छ।
- .केही रिसाहा प्रवृत्तिका व्यक्तिहरू रिसलाई शान्त पार्न या असन्तुष्टिलाई एकछिन भए पनि बिर्सन रक्सी वा गाँजा, भाङ्ग पिउनतिर लाग्छन्।
- .रिस किन उठ्ने गर्छ, त्यसको मूलकारण पत्ता लगाउनुको सट्टा रिसलाई दबाउने प्रयास गरियो भने रिस आफैंतिर फर्किन्छ।
रिसले निम्त्याउन सक्ने शारीरिक समस्याहरू
- .रिसको कारण पेट पोल्ने समस्या हुन्छ र बढी रिसाउने व्यक्तिलाई ग्यास्ट्रिक, अल्सरसमेत हुन सक्छ।
- .रिसाउँदा शरीरबाट रसायनतŒव (हार्मोन्स) निस्किन्छन्। यी रसायन तत्त्वले मुटुको गतिलाई अनियमित पार्नुको साथै रक्तचापलाई पनि बढाउँछ।
- .अत्यधिक रिसाएको बेला मुटुमा रक्तसञ्चार गर्ने नलीहरू खुम्चने हुँदा हृदयाघात पनि हुन सक्छ।
- .विभिन्न अनुसन्धानले के देखाएको छ भने धैरे रिस गर्ने व्यक्तिलाई छालासम्बन्धी रोगहरू हुने सम्भावना हुन्छ।
- .रिसलाई दबाउन खोजेमा टाउको दुख्ने, जिउ काम्ने तथा दुख्ने पनि हुन सक्छ।
रिसलाई कसरी व्यवस्थापन गर्ने ?
- .रिस उठेको बेला म रिसाइरहेको छु भन्ने कुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ।
- .रिसको झोंकमा आँखा देखिन्न भन्ने गरे पनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो।
- .रिस उठेको बेला अंकलाई उल्टो गिन्ती गन्नु उत्तम हुन्छ। यसो गर्दा सोचाइबाट ध्यान अन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ।
- .बिस्तारै केहीबेर लामो श्वास तान्नले पनि रिस कम गर्न सकिन्छ।
- .रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारणबारे भन्नु राम्रो हुन्छ, मन हल्का हुन्छ।
- .रिस उठेको बेला आवेगमा आएर कुनै पनि निर्णय लिनु हुँदैन।
रिसलाई रोक्ने उपाय
- .दैनिक कमसेकम ३० मिनेट ध्यान गर्ने। ध्यान गर्नाले मन र मस्तिष्क शान्त हुन्छ।
- .प्राणायाम, प्रार्थना, पूजापाठ पनि मन लगाएर गर्ने। पूर्णरूपमा मन लगाइएन भने फाइदा गर्दैन।
- .माफ गर्ने, प्रायः पारिवारिक कलह, मनमुटाव र झगडा हुँदा परिवारका सदस्यहरूले एकअर्काको मन दुखाएका हुन्छन्। गहिरो चोट पुर्याएका हुन सक्छन्। एकले अर्कालाई माफ गर्न सकिएन भने मन दुखाएका कुरालाई सधैं सम्झिने भित्रभित्रै रिसाउने हुन्छन्। माफ गरिदियो भने मन हल्का भएको अनुभव हुन्छ।
रिसमा होमियोप्याथिक एप्रोच
यस चिकित्सा पद्धतिमा व्यक्ति (रोगी) को मानसिक अवस्थालाई उपचारको क्रममा बढी ध्यान दिइन्छ। रोग उत्पत्तिको कारण पत्ता लगाएर उपचार गरिन्छ। जस्तै:
- .आफ्नै सुरमा काम गरिरहेको अवस्थामा कसैले अवरोध गर्यो भने रिस उठ्दा, नक्सवोमिका, पल्साटिला नामक औषधिले फाइदा पुर्याउँछ।
- .रिस उठेको बेला सामानहरू फ्याँक्ने तथा तोडफोड गर्ने अवस्थामा छ भने स्टेफसिग्रिया, बेलाडोना, केमोमिला आदि उपयोगी हुन्छ।
- .रिस उठेको बेला शरीर काम्ने, बोली बन्द हुने, रिसलाई भित्रै दबाउने अवस्थामा कोलोसिन्थ, स्टेफसिग्रिया, ब्रायोनिया आदि औषधिहरू प्रयोग गर्न सकिन्छ।
- .रिस उठेको बेला आफैंलाई हानि पुर्याउने (जस्तै, टाउको भित्तामा ठोकाउनु, ब्लेडले हातको नसा काट्नु आदि) अवस्थामा, टेरेन्टलाहिस्पानिया, टिबरकुलिनमको प्रयोग गर्न सकिन्छ।
- .रिस उठेको बेलाकसैले सान्त्वना दिँदा झन् रिसाउने– नेट्रम म्युर, हेलिबोरसको उपयोग गर्नु लाभदायक हुन्छ।
- .रिस उठेको बेलामा कसैले सान्त्वना दियो भने व्यक्तिको रिस शान्त हुन्छ। यस अवस्थामा पल्सेटिला लाभदायक हुन्छ।
- होमियोप्याथिक औषधि अनुभवी चिकित्सकको सल्लाह लिएर सेवन गर्दा उचित हुनेछ।
मिश्र, होमियोप्याथिक कन्सलटेन्ट हुन्।