टरिगाउँ एरपोर्टको इन्धन डिपो भरियो, जहाज आएन

दाङ: दाङको टरिगाउँ एरपोर्टमा इन्धन डिपोको मुद्दाले धेरै चर्चा पायो । हवाइ इन्धन एरपोर्टमा उपलब्ध नहुँदा हवाई सेवा नियमित नभएको र भाडा महँगो भएको भनियो । त्यसको समाधानको लागि सरोकारवालाको पहलमा एरपोर्टमा इन्धन डिपोको संरचना निर्माण भयो।
इन्धन डिपोको योजना सफल पनि भयो, एरपोर्टमा इन्धन डिपोको पूर्वाधार निर्माण भयो । अहिले जहाजसम्म इन्धन लैजाने बाउजर पनि तयारी अवस्थामा राखिएको छ । डिपोमा एक महिना पुग्ने इन्धन स्टक समेत गरिएको छ । तर इन्धन प्रयोग गर्ने जहान टरिगाउँ एरपोर्टमा १५ दिन यतादेखि आएको छैन ।
इन्धन डिपोबाट हवाई इन्धन सञ्चालन गर्न नेपाल आयल निगम नेपालगञ्जको टिमल केही दिनदेखि दाङमै बसिरहेको छ । नेपालगञ्ज कार्यालयका प्रमुखसहितको टोली र केन्द्रको उड्ययन तर्फको सहायक प्रबन्धकसहितको टोली एयरपोर्टमै छ । तर नेपाल एरलाइन्सको जहाजले भने दाङमा १५ दिनदेखि सेवा नदिँदा इन्धन डिपोको इन्धन एरपोर्टसम्म पुर्याउने योजनामा रहेको निगमको टोलीले हवाइ जहाजसम्म तेल पुर्याउन सकेको छैन ।
जहाज मर्मत गर्नुपर्ने भएकाले सेवा प्रभावित भएको नेपाल वायु सेवा निगमले जनाएको छ । ‘यहाँ इन्धनको व्यवस्था भइसक्यो, जहान आउँदैन,’ आयल निगमका एक कर्मचारीले भने, ‘जहाज आयो भने पो तेल दिने हो हामी त जहाज कुरेर बसेका छौँ ।’
गत वर्षको साउनदेखि निर्माण थालिएको डिपोलाई आवश्यक संरचना पारिएको छ । प्रारम्भिक परीक्षण गरेर पूर्णरुपमा सञ्चालन गर्ने तयारी गरेको निगमले एक सातादेखि प्रयास थाले पनि सफल भएको छैन ।
नेपालगञ्ज डिपो प्रमुख दूर्गा पछाईले हवाई इन्धन डिपोमा पूरा इन्धन रहेको बताइन । ‘हामी पूर्णरुपमा तयारीमा बसेका छौँ,' उनले भनिन्, ‘जहाज आएमा सहजै तेल भर्ने अवस्था छ, अहिले इन्धन डिपोमा ४१ हजार लिटर हवाई इन्धन स्टक छ । ३० हजार डिपोमा, ११ हजार बाउजरमा राखिएको छ।'
अहिलेको उडान अनुसार एक महिनाभन्दा बढी समयका लागि इन्धन जगेडा हुने उनले बताइन ।
नेपाल आयल निगमका एभिएसन विभागका सहायक प्रबन्धक उपेन्द्रकुमार सुवेदीले टरिगाउँ एरपोर्टमा स्थापना भएको इन्धन डिपोले बिहान सबेरैदेखि रातिसम्म सेवा दिने बताए। निगमले टरिगाउँ इन्धन डिपोबाट निजी हवाई कम्पनीलाई पनि हवाई इन्धन दिने उनले बताए ।
‘नेपाल एरलायन्सका लागि मात्र होइन हामी सबैलाई सेवा दिन्छौँ । हामीले निजी सेवा प्रदायक कम्पनीलाई पनि इन्धन सेवा उपलब्ध गराउने छौँ ।’
तुलसीपुर डिपोका प्रमुख विपिन श्रेष्ठले हवाई इन्धन डिपोको सम्पूर्ण परीक्षण सकेको र अब प्रयोग गर्न बाँकी रहेको बताए । ‘अहिले हामी तेल भरेर बसेका छौ,’ उनले भने, ‘इन्धन पूरा छ। जहाज आएको छैन ।’
डिपोमा इन्धन भण्डारण गर्न ३० हजार लिटर क्षमताको ट्यांक छ भने जहाजमा तेल रिफिल गर्न ११ हजार लिटर क्षमताको बाउजर (ट्यांकर) तयारी अवस्थामा छ।
इन्धन डिपो नहुँदा टरिगाउँ विमानस्थलमा उडान भर्ने जहाजले दुईतिर उडानका लागि इन्धन ढुवानी गरिरहेको अवस्थामा डिपो सञ्चालनमा आए पछि यो सहजता हुनेछ।
इन्धन बोकेर ल्याउनु पर्दा जहाँजले सिट क्षमता अनुसारको पुरै यात्रु बोक्न पाएका थिएनन भने हवाई भाडासमेत महंगो पर्ने गरेको छ । टरिगाउँ विमानस्थलमा अहिले १९ सिटे ट्वीनेटर जहाजमात्रै संचालनमा छ । टर्मिनल भवनको पश्चिमतिर इन्धन डिपो स्थापना गरिएको छ । करिब डेढ करोड लागतमा डिपोको निर्माण गरिएको हो । न्यू ड्राइभन एमसी फाल्गुनान्दले इन्धन डिपोको निर्माण गरेको हो।
पुरानो टरिगाउँ विमानस्थल विभिन्न समयमा बन्द हुँदै संचालन हुने गरेको छ । विमानस्थलमा ७ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग मात्रै कालोपत्रे भएकाले ट्विनेटर विमानमात्रै अवतरण गर्न सक्छन् । विमानस्थलमा कालोपत्रे नहुँदै त्योभन्दा ठूला जहाज आउने गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
