सत्ता दाउपेचको भाष्य
जे-जति सामाजिक–राजनीतिक चिन्तनका कुरा गरे पनि जनतालाई आफ्नै पेवा सम्झने ठुला दलका धेरैजसो दलपतिहरू पुनः जनताबाट अनुमोदित भए। यद्यपि हालसम्मको चुनावी अंकगणितले अब सच्चिने कि सक्किने भन्ने धमाकेदार शिक्षा चाहिँ दिएको छ। विगतको तुलनामा लोकतन्त्रको सौन्दर्य र प्रजातन्त्रको गरिमालाई वर्तमान चुनावी परिवेशले बढी व्यावहारिकता प्रदान गरिदियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयबाहेक एक हिसाबमा हालको नतिजालाई पूर्वानुमान गरिएकै हो भन्नुपर्छ। तर, राजनैतिक शक्तिको बुइँ चढेर नाचिरहने गोलघरभित्रको जनवितृष्णामा पुनः टालाटुली बटुली सरकार बनाउने रस्साकस्सीमा चुनौतीको चाङ छ।
मतपत्रको मसी नसुक्दै सरकारको नेतृत्व गर्नेसँग भारतीय राजदूतको चियाचर्चो हुनुले हाम्रो देशको पराधीन मानसिकतालाई संकेत गरिसकेको छ। एकातिर सिद्धान्तच्युत भई विकसित दुई फरक–फरक गठबन्धनबाट जन्मिएको निषेधको राजनीति र अर्कातिर स्थापित शक्ति खिइएर उदाएका नयाँ शक्तिहरूको सिद्धान्तविहीन राष्ट्रवादबीचको भाष्यमा स्थिर सरकारको गुञ्जाइस नै देखिँदैन। कुनै पनि पार्टीले बहुमत नपुर्याउँदा वैचारिक एकताविहीन त्रिशंकु र सत्तालोलुपवादी अस्थिर सरकार बन्ने सम्भाव्यता बढेको छ। सकेसम्म यी ठूला दल मिल्लान् नै तर यदि देश मध्यावधि निर्वाचनमा धकेलिएमा मोटो रकम खर्चिनु पर्नेछ। परिणामतः पुराना पार्टीको विरासत दुब्लाएर नयाँ नेतृत्वलाई जनअनुमोदन प्राप्त हुन सक्छ।
लोकतन्त्रको धज्जी उडाएर जनमतको अवमूल्यन गर्ने पुराना दलभित्र पनि धेरै हदमा निष्कलंकित युवा जोसले जनमत पाएको देखिन्छ। जग्मगाएको राजनैतिक चेत, सकारात्मक अनि रचनात्मक सोचको अपेक्षामा अनुभव र हिम्मतको मिश्रण भए मात्रै यो नवीनताको आलोकले जस पाउनेछ। उमेरगत सोचको दरारमा हिजोका भुक्तभोगी र नवप्रवेशीबीचको अन्तर्घुलनको जटिलताले चिमोट्न सक्छ। नितान्तविपरीत सिद्धान्तमा राप्रपादेखि ठुला भनिएर पनि खिइएका कांग्रेस, एमाले, माओवादीलगायतका दलबीचको बहुसिद्धान्तसँग ऐक्यबद्धतामा सकस हुन सक्छ। तीन तहको सरकार निर्माणका नीति र अभ्यासमा अभ्यस्त भइसकेपछि अब आएर प्रदेश खारेजीको नारा बोक्नेबीचको बेमेलले अर्को खिचडी पाक्न सक्छ। तथापि नयाँ जोसलाई जनताले साथ दिएर पनि खबरदारी गरिरहलान् तर जिम्मेवारहरूले देवत्वकृत भएछु भन्ठानेर हिजो स्थापित सामाजिक, सांस्कृतिक, आर्थिक लाभांशमा र्याल काढेमा दानवत्वकृत पनि बन्नै पर्नेछ। किनकि, यतिखेर दलको अभावका कारण नयाँ शक्तिको उदय भएको होइन। घुम्ने मेचमा भाग पुर्याउँदै दोहोरिरहेका सोपानक्रमलाई युवा मनको मतले धक्का दिएको मात्रै हो।
नवप्रवेशीलाई विगतको पाठ
यत्तिका ठूला क्रान्ति गर्यौं भन्नेहरूलाई चुनावकै मुखमा पार्टी दर्ता गरेर ठूलै पार्टीसँग मुकाबिला गर्न सक्ने सम्भावना बनाइसकेको रास्वपाले नेपाली राजनैतिक इतिहासमा शान्तिपूर्ण क्रान्तिको नयाँ आयाम स्थापित गरेको छ। विरासतको रित्तो भाँडोभित्र पनि शान्तिपूर्ण जनलहरको दैलो खोलिँदो रहेछ। यसो भनिरहँदा डा. बाबुराम भट्टराईले पनि नयाँ शक्ति नामको पार्टी खोले तर सफल हुन सकेनन्। वैकल्पिक शक्तिको गुञ्जाइस बोकेर रवीन्द्र मिश्रद्वारा खोलिएको साझा पार्टीको हिजोको क्रेज आज एक्कासि घट्न पुग्यो। उनी स्वयं राप्रपामा गएर पराजयलाई स्वीकार्न विवश छन्। यी दृष्टान्तका हस्तीहरूमा राजनैतिक अनुभव नभएको होइन, राजनैतिक सिद्धान्तको कित्ता नखुलेको पनि होइन। त्यस्तै, २०६४ मा जनताले नवीन अवसर दिएको माओवादी टुक्रिएर धुजाधुजा भई आज अस्तित्व रक्षाको दोसाँधमा पुग्नुलाई निर्वाचित नवप्रवेशीले बोध गर्नुपर्छ। नागरिकका असन्तुष्टिलाई मौजुदा दलले सम्बोधन गर्न नसकेको फाइदा उठाएर उदाएकाले पनि अब सकारात्मक विचारको ध्रुवीकरण गर्नु उचित देखिन्छ।
परिवर्तन नै राजनीतिको विशेषता हो। गठबन्धनधारी भित्र प्रधानमन्त्रीका आकांक्षीको भीडसँगै गठबन्धनकै पूर्वसर्तको सरकार बन्ला कि कांग्रेस र एमालेको संयुक्त सरकार बन्ला। अर्थात् वाम गठबन्धनको सरकार पो बनाउने कि भन्ने अन्योलमा माओवादी र रास्वपाको भूमिकाले बढी प्रभाव पार्ने देखिन्छ। फलतः सांसद किनबेचको घोडेजात्रा भित्र जनादेशको धज्जी नउड्ला भन्न सकिन्न। विविधतागत विचारको बहुरङमा प्रदेशलाई आफ्ना मान्छेलाई काखी च्याप्ने थलो बनाइएको हिजोको दृश्य ताजै छ। व्यक्ति र गुटवादी स्वार्थको लडाइँमा झुलेरै देश निर्माणको महायज्ञमा समर्पित गर्नुपर्ने समय खेर गइरहने भय अद्यापि छ। यसर्थ नवप्रवेशीहरूमा पुरानाहरूको चालसँग जोगिएर राजनीतिक स्थायित्वसँगै रचनात्मक नतिजा प्रदान गर्नैपर्ने बाध्यता छ।
समाज मनोविज्ञान र राजनैतिक सिद्धान्तका बीचमा व्यावहारिक मनोविज्ञानले उकेरा दिन सक्नुपर्छ। वास्तवमा मार्गविच्छेद गर्दै आत्मदुत्कार गरिरहेमा वा पार्टीहरू विचारहीन हुँदै गएमा आगामी चुनावमा फेरि अर्को दूषित गठबन्धनको जालो बुनिनेछ। जनता चाहिँ स्वार्थको जाँतोमा पिसिइरहनेछौं। वामपन्थी धारको भग्न चेतलाई जनताले यो चुनावमा अझ बढी सजाय दिएको देखिन्छ। केवल पाँच वर्षको अन्तरालमा वाम गठबन्धनले अनेकन रूप बदल्यो। ५० वर्षसम्म एकछत्र अघि बढ्ने वाचा गरिरहेकाहरू नै कांग्रेससँग टाँस्सिए। यतिखेर त्रयोमुखी वामनायकहरूले प्राप्त नतिजामा असन्तुष्टिको रोष पोखिरहनु जनअभिमत माथिको दमनकारी मानसिकता होइन र ! अतः परीक्षित पुराना दलाधीशहरूको दम्भ, कुण्ठा र हिलो छ्यापाछ्यापको लाभांशमा उदाएका परीक्षण गर्न बाँकी नवप्रवेशीद्वारा अभिव्यक्त विनिर्माणबाट बज्ने विवेकको वंशीसँग समृद्धिको अभिलाषा उनिएको छ।
आवेश कि विवेक बोक्ने !
वास्तवमा दूरगामी चिन्तनको दूरदर्शी र पारदर्शी गुणस्तरसहितको विकास बोक्नेले नै आगामी चुनावी मार्गलाई फराकिलो बनाउनेछ। सिद्धान्तकै लहडी आवेशले मात्रै पनि होइन, धैर्य र विवेकले काम सुल्झाउँदा सिद्धान्त आफैं स्थापित हुन सक्छ। अनुसन्धानपरक, पूर्वसमीक्षात्मक योजनामा कार्यान्वयनका आधार प्रस्टिनु आवश्यक छ। योजनासँगै समयसीमा र नीतिमा बाँधिनु जरुरी छ। अझ बढी त बहुआयामिक विकासका बाटामा धैर्य चाहिन्छ। यसर्थ विजय जुलुसको उन्मादले विकासको भव्यतालाई प्रदर्शन गर्न सक्दैन। सरकारको नेतृत्व गर्नेहरूले बदलिँदो जनमतको कदर गर्ने कुरा पदभार ग्रहण गर्नु जस्तो सहज पनि हुँदैन। तथापि, राजनीतिलाई सेवा ठान्ने कि पेसा ? वस्तुतः नागरिकले महसुस गर्ने विकास र समृद्धिको पारदर्शी योजना र त्यसको कार्यान्वयन नै अबको क्रियाशील राजनीतिकर्मीको दायित्व हो। जनताको आवाज र कार्यकर्ताको आवाजमा किन भिन्नता भइरहन्छ ? सरकारी निकायबाट काम लिनका लागि किन आफ्नो मान्छेको खोजी गरिरहनुपर्छ ? अनि, प्रश्न उठ्छ कतै यो व्यवस्था नै धूर्तहरूको मुख्र्याईँ साट्ने लुकामारी खेल त होइन ! यसर्थ यहाँ पुँजीवाद र समाजवादको रटानभित्र स्वार्थ साँध्ने दन्तबझानका विकल्पमा युवा मतको क्रमभंगताले अपेक्षाको छुट्टै महल खडा गरिदियो।
केही जत्था चाहिँ आपूmले जितेकोमा भन्दा अर्को उही समूह हारेकोमा खुसी मनाइरहेको देखिन्छ। पुराना अनुहारकै हिलो छ्यापाछ्यापको सिको गरेर नयाँमा पनि संकीर्ण राजनीतिक संस्कारको खिचडी पाकिरहेकै छ। यसर्थ विचारको राजनीति सधैं फलदायी हुन्छ भन्ने पनि होइन। अब त विकासको राजनीतिभित्र जोडिने रोजगार र स्वदेशप्रेममा जनताले पुरानाको शैलीका विरुद्ध जन्मिएको उद्वेलनमा भिज्न जान्नुपर्छ। ठूला भनिएका दलको साम्यवादको चमक धमिलिनुमा जनता र नेताबीचको सोचगत दूरी बढ्नु पनि हो। यही चुनावबाट काठमाडौं, चितवन, पोखरा, धरान, विराटनगरजस्ता देशका केही बसाइँसराइँ भएका स्थानमा जनता केवल दुई छाक मासु भात र केही हजारमा बिक्दैनन् भन्ने सन्देश प्रवाह हुन पुग्यो।
आसेपासेलाई फकाउने र स्वार्थ साँध्ने शकुनि चाललाई जनताले मूल्यांकन गरेको पनि देख्न पाइयो। विशेषतः बसाइँसराइँ गरेर बसेको बस्तीका बासिन्दामा सचेतना बढेको देखियो। यसर्थ दलगत दबदबामा झ्याङ्गिएको परिवारवाद, खेमावाद र सनकका भरमा चल्ने हुकुमीतन्त्रको विरासतमा धमिरा लाग्न थालेको कुरालाई चाहिँ सम्मान गर्नैपर्छ। तथापि फरक कर्मक्षेत्र, फरक सोच र फरक उमेरसमूहका अपरिचित पृष्ठभूमिका आफ्नै निर्वाचित जनप्रतिनिधिलाई आवेशले होइन, विवेकले
काम गर्ने परिवेश तयार पार्न रास्वपाका सभापति रवि लामिछानेलाई आफ्नै चुनौती देखिन्छ।
यहाँ ‘देश र जनता’ होइन बरु ‘नेता र तिनको स्वार्थ’ नै ‘देश’ भयो। नेतासँग जनताले माग गर्ने सुविधा र अवसरवादको माथापच्चीमा व्यक्तिपूजा हाबी बन्यो। चाकडी, चाप्लुसी बढ्यो। यसर्थ अहिलेका नेतामा नेताको आदर्श भाव नै घायल छ। ग्रामीण परिवेशमा चेतना बढे पनि राष्ट्रिय स्वार्थगत समर्पण अभैm बढेको छैन। कसैको उछितो काढ्न र गिराएर भन्नुलाई नै अब्बल सम्झने खोक्रो अभिमानमा देशप्रेम किमार्थ देखिन्न। देशमा क्रमभंग भएको नवीन राजनैतिक रङले केवल त्याग र आदर्शको पाठ मात्रै सिकाए पनि ठूलो कुरा हुनेछ। वास्तवमा पश्चिमा लघुताभासमा रचनात्मक सुवास छर्ने हो भने पूर्वीय माटोको मर्मबोध चाहिन्छ। अनुभवले दिने निखार र संवेगले दिने जाँगरका बीचमा तालमेल हुने सम्भाव्यतामा अबको राजनैतिक परिणामलाई अनुमान मात्रै गर्न सकिन्छ।
बिट मार्दै गर्दा ...!
चुनावमा हारजित हुनु स्वाभाविक हो। हार्ने जति खराब र जित्नेहरू असल पात्र हुन् भनिरहन पनि सकिन्न। यथार्थमा स्वनिर्भरता र सामाजिक न्यायको मियो बलियो नभई माटोको सुगन्ध आउँदैन। पाश्चात्य इतिहासलाई नियाल्दा समाजवाद र साम्यवादको खोल ओढेर एकाधिकारमुखी पुँजीवादी नवसामन्तीहरूको भीडमा जन्मेको अमेरिका, युरोप र जापानतिरको सामूहिक साम्राज्यले विकासशील देशको अर्थतन्त्रमा नवउदारवादको मन्द विष छरिदिए। विश्वको प्राकृतिक स्रोत र हातहतियारमा होडबाजी मच्चाए। अर्थतन्त्रलाई आफ्नो अधीनमा पार्ने र प्रविधिमा एकाधिकार जमाउन चाहे। फलतः नवउदारवादको मखुण्डो ओढेर अमूर्त पुँजीवाद हाबी बन्दै गयो। हाम्रा जस्ता देशले अर्काले दिएकोमा गर्व गर्न सिक्यांै। हामी युवाको श्रम बेचेर पैसा लिन्छौँ। उनीहरू पैसाले श्रम किनेर थप पैसा बटुल्छन्। हामी उनीहरूको मुलुकमा गएर श्रम बेच्छौं। उनीहरूले श्रम किनेर हामीले कमाएको पैसा पनि उतै राखिदिन्छन्। अझ उनीहरूको देशमा जानुअघि हामी लाखौंका बिटा बुझाएर जान्छौं र लाखौं तिरेर मात्रै फर्किन पाउँछौं।
हामीले बौद्धिकता पलायनमा गौरव गर्ने मूर्खतालाई बदल्न सक्नुपर्छ। मुलुकमा पुँजीबाट विकास हुने कृषि र उद्योग बन्द छन्। उत्पादन बढाउनभन्दा कर बढाउनमा होडबाजी मच्चिएको छ। के साँच्चै देशव्यापी रूपमा रेल्वे सेवा विकास र विस्तार गर्न सकिँदैन र ? सरकारले किन यस्ता योजनाका लागि सेयर बजारको उपयोग गर्न खोज्दैन ? सत्तामा पुग्ने र सत्तामै टिकिरहनेहरूको जमातका बीचमा भ्रमित चाकडीबाजले सुविधाको उपभोग गरिरहँदा देशमा लोकतन्त्र आएको झन्डै दुई दशकमा पनि व्यावसायिक राजनीतिकर्मीको बिर्ता स्थापित छ।
पार्टीमा होमिएर सत्तामा पुगेका युवा भनिनेमा पनि विकास र समाज विनिर्माणको गुञ्जाइस छैन। विकसित मुलुक प्राविधिक विकास र आधुनिक निर्माणको बिगुल घन्काएर दगुरेका छन्। यद्यपि विश्व परिवेश र हाम्रो दुर्दशाका बीचमा हामीले साम्यवादको भोटो भिरेर नवसामन्तवादकै कोट ओढिरहेको यथार्थमा आमूल वैचारिक विमर्शको चिन्तन आवश्यक छ। आर्थिक र सामाजिक रूपान्तरणको बाटोमा रचनात्मक बुद्धिविलासकै खाँचो देखिन्छ।