सोलुबाट आइजिपि सिंह फर्किन लागेको जहाजमा प्राविधिक समस्या
सोलुखुम्बु : काठमाडौंबाट सोलुखुम्बुको फाप्लु विमानस्थलमा अवतरण भएको नेपाल एयरलाइन्सको जहाजमा खराबी आएको छ। मंगलबार बिहान फाप्लुमा अवतरण भएको अल्फा ब्राबो युनिफम (9N-ABU) कल साइन भएको जहाजमा अवतरणको क्रममा प्राविधिक समस्या देखिएको विमानस्थल श्रोतले जनाएको छ।
अवतरण गर्ने क्रममा एक्कासी अगाडिको चक्का जाम (विल लक) भएपछि यात्रुहरुमा खैलाबैला मच्चिएको थियो। प्राविधिक समस्या देखिएको उक्त जहाजमा समस्या समाधान गरी निर्धारित समयभन्दा करिब ३५ मिनेट ढिला गरी फर्किएको नेपाल एयरलाइन्सले जनाएको छ।
चालक दलका ३ सदस्यसहित १७ जना यात्रु लिएर काठमाडौं फर्किन लागेको जहाजमा खराबी आएपछि करिब २५ मिनेट होल्ड गरिएको थियो। जिल्ला प्रहरी कार्यालय निरीक्षणका लागि ओखलढुंगा हुँदै सोलुखुम्बु आइपुगेका नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह पनि सोही जहाज मार्फत काठमाडौं फर्किन लागेका थिए।
तर जहाज अवतरण हुन नपाइ समस्या देखिएपछि आइजिपि सिंह सिमृक एयरको हेलिकप्टर मार्फत लुक्ला प्रस्थान गरेका छन्। लुक्लाबाट जहाज मार्फत काठमाडौं फर्किने तय भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। आइजीपी सिंहसहित ३ जना हेलिकप्टरबाट गएपछि चलाक दलसहित १४ जना यात्रु लिएर उक्त जहाज काठमाडौं फर्किएको छ।