लुम्बिनी प्रदेशसभा : पहिलो बैठक दाङमै

लुम्बिनी प्रदेशसभा : पहिलो बैठक दाङमै

दाङ : लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक स्थायी राजधानी दाङमै गर्ने तयारी भएको छ। प्रदेशसभा भवनको निर्माण पूरा भई सम्पूर्ण व्यवस्थापनको काम समेत भएको हुँदा नवनिर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ देउखुरीमै शपथ खुवाउने र प्रदेशसभाको बैठक पनि दाङमै राख्ने तयारी भएको प्रदेश संसद् सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। 

अहिले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सकेर राजधानीका लागि आवश्यक भौतिक पूर्वाधारकै काममा लुम्बिनी प्रदेश सरकार लागेको छ। राजधानीसँग सम्बन्धित भौतिक पूर्वाधारको कामलाई गति दिन रात काम भइरहेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत सारिएको छ। 

प्रदेशसभा भवनको काम सकिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद् बैठक कक्ष, प्रदेशका अन्य प्रशासनिक केन्द्र, मुख्यमन्त्री निवास तयार भइसकेका छन्। पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाटै भए पनि अबको सबै काम स्थायी राजधानी दाङबाटै सञ्चालन गर्ने गरी भौतिक निर्माणको कामलाई तीव्रता दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

प्रदेशसभामा १० दल

लुम्बिनी प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ। प्रत्यक्ष र समानुपातिक गरी प्रदेशसभामा ८७ जना सदस्य निर्वाचित भएका छन्। प्रत्यक्षबाट ८ वटा राजनीतिक दलका ५२ सदस्य र ३५ सदस्य समानुपातिकबाट चयन भएका हुन्। समानुपातिकमा १० राजनीतिक दलले मात्र थ्रेस होल्ड कटाएका छन्। संविधानको व्यवस्था अनुसार प्रदेशमा ‘थ्रेस होल्ड’ पार गर्न कुल सदर मतको १.५ प्रतिशत मत प्राप्त गर्नुपर्छ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार लुम्बिनी प्रदेशमा ३२ दलले चुनावमा भाग लिएकोेमा १८ लाख ८७ हजार ७८ मत सदर भएको थियो। जसमध्ये १० दलले थ्रेसहोल्ड पूरा गरेका छन्। ती दलले पाएको १७ लाख ७७ हजार ७२० मतलाई ३५ सिटमा भाग लगाउँदा सबैभन्दा धेरै ५ लाख ७० हजार ९२१ मत पाएको नेकपा एमालेले ११ सांसद पाएको छ।

दोस्रोमा नेपाली कांग्रेसले २६ प्रतिशत अर्थात ४ लाख ९९ हजार ९८६ मत ल्याएको छ। उसले १० सांसद पाएको छ। १० प्रतिशत १ लाख ९८ हजार ४५० मत पाएको नेकपा (माओवादी केन्द्र)ले ४ सांसद पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४५२ मत ल्याएर दुई, १ लाख २५ हजार ५२१ मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टीले दुई, ८१ हजार ६०५ मत पाएको जनमत पार्टीले दुई सांसद पाउँदा ६० हजार ८८६ मत ल्याएको जनता समाजवादी पार्टीले एक सिट पाएको छ। नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक/एक सिट प्राप्त गरेका छन्।

प्रत्यक्षतर्फ एमालेले १८, कांग्रेसले १७, माओवादीले ५, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र लोसपाले २–२ सिट जितेका थिए। माओवादीबाट बागी (स्वतन्त्र) उम्मेदवारी दिएर तीन जनाले, जनमत पार्टीले एक सिट जितेका छन्। ८७ सदस्यीय प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनको पनि बहुमत छैन भने सबैभन्दा ठूलो दल एमालेलाई पनि बहुमत जुटाउन कठिन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.