स्याउ खेतीमा रमाउँदै युवा, लाखौं आम्दानी
सोलुखुम्बु : सोलुद्धकुण्ड नगरपालिका ८ पत्तालेका युवाले स्याउ खेतीबाट राम्रो आम्दानी लिन थालेका छन्। सो क्षेत्रका आठ जना युवाहरुले करिब दुई वर्षअघि सामुहिक रुपमा सुरु गरेको व्यवसायिक स्याउ खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन्।
आफूहरुले कुषि एग्रो टुरीजम डेब्लोमेन्ट फर्म मार्फत १ सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फर्म सञ्चालक कर्म शेर्पाले बताए। इटलियन जातको स्याउबाट यस आर्थिक वर्षमा ५ लाखभन्दा बढी आम्दानी लिएको सञ्चालक शेर्पाको भनाइ छ ।
पहिलो पटक उत्पादन भएको स्याउ २ महिना अघिसम्म घुम्न आउनेहरुले फार्ममै आएर किनेकाले बजार खोज्न नपरेको शेर्पाले बताए। आगामी दिनमा ठूलो संख्यामा उत्पादन भएको स्याउबाट जुस, जाम लगायत उत्पादन गर्ने योजना रहेको कृषकले बताएका छन् । आलु मात्रै उत्पादन हुने पत्ताले क्षेत्रमा युवाहरु मिलेर शुरुमा १ करोड लगानीमा ३ हजार स्याउको बिरुवाबाट सुरु गरेको खेतीमा अहिले १८ हजार बिरुवा पुगेका छन्।
आलु खेतिबाटभन्दा स्याउबाट राम्रो आम्दानी लिन सकिने भएकोले यसतर्फ लागेको उनीहरुको भनाइ छ। व्यवसायीहरुले नेपाल सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाबाट ५५ लाख ६२ हजार अनुदानसमेत प्राप्त गरेका छन्। यसरी सरकारले प्रदान गरेको अनुदानले आफूहरुलाई झन उत्साह थपिएको सञ्चालक शेर्पाले बताए।
उनले भने, ‘आलुमा भन्दा स्याउमा धेरै फाइदा रहेछ, हामी युवाहरु मिलेर जुनसुकै व्यवसाय गर्यौं भने पनि राम्रै आम्दानी लिन सकिने रहेछ, स्याउखेतीबाट हामी त धेरै सन्तुष्ट छौं।’
झण्डै २८ मिटरको उचाईमा पर्ने पत्ताले क्षेत्रमा यस अघि व्यवसायिक रुपमा स्याउ खेती गरिएको थिएन्। बुङको आलुको प्रख्यात पर्यटकिय स्थान पत्तालेलाई स्याउ उत्पादन हुने क्षेत्रको रुपमा समेत विकास गर्ने योजना रहेको युवा कृषकहरुले बताएका छन्।