वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारी कर्मचारीलाई हटायो
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई सेवाबाट हटाएको छ।
बिहीबार महानगरपालिकाले एक सुचना जारी गर्दै महानगरपालिकाको कार्यालय र यस अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएको उल्लेख छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको हस्ताक्षर रहेको सुचनामा महानगरपालिकाको नगरकार्यापालिकाको मंसिर २६ गतेको निर्णयअनुसार महानगरपालिकाको कार्यालय, यस मातहतका सबै वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत वारुणयन्त्र शाखा र नगर प्रहरीबाहेक अरू सबै कर्मचारीलाई पुस १ गतेबाट लागू हुनेगरि ज्यालादारी सेवाबाट हटाइएको व्यवहोरा उल्लेख छ।
गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरू आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढि कर्मचारीलाई नीयुक्त गरेको थियो।
महानगरका प्रशासन महाशाखा प्रमुख राम कुमार कुशवाहाले लक्षित काम सकिएसँगै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको समयावधि नथपिएको बताए।
महानगरपालिकाले ‘मेयर घरदैलो स्वास्थ्य शिविर’, ‘वडालाई डिजिटल बनाउने अभियान’, ‘वृक्षारोपण अभियान’ लगायत विभिन्न अभियान सञ्चालन गरेको थियो।
ती अभियानलाई लक्षित गर्दै महानगरले दैनिक ज्यालादारीमा कर्मचारीहरू भर्ना गरेको थियो। ‘मेयर घरदैलो स्वास्थ्य शिविर’ जारी रहेपनि अहिले अन्य अभियानको काम सकिएसँगै दैनिक ज्यालादारीका कर्मचारीहरूको पनि समययावधी थप नगरिएको प्रशासन प्रमुख कुशवाहले बताए।
प्रशासन महाशाखा प्रमुख कुशवाहाले महानगरलाई आवश्यकता परेको समयमा ज्यालादारीमा काम लिने र आवश्यक नपरेको समयमा हटाउनु सामान्य प्रक्रिया भएको बताए।
महानगरका मेयर राजेशमान सिंहले पनि महानगरले समय समयमा अभियान सञ्चालन गर्ने गरेको र त्यसका लागि थप जनशक्ति चाहिने हुँदा नियुक्त भएका दैनिक ज्यालादारीका कर्मचारीहरूलाई अभियान सकिएसँगै सेवाबाट हटाइएको बताए। आउने दिनमा महानगरलाई चाहिएका बखत दैनिक ज्यालादारीमा फेरि कर्मचारी राख्न सकिने पनि उनले बताए।
निर्धारित काम सकिएपछि महानगरको व्ययभार कम गर्न ती कर्मचारीको समयावधि नथपिएको पनि उनले बताए।