प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच 'म्युजिकल चेयर'

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच 'म्युजिकल चेयर'

काठमाडौं : राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले संस्थापनइतरका गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै लगेका छन्। बुधबार अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रचण्डका दूत बनेर बालुवाटार पुगेका थिए। यही गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाएका थिए। तर त्यसका लागि प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने उनको आग्रह थियो।

'आलोपालो गर्ने विषयमा तपाईं र हाम्रोबीच राम्रो अन्डरस्ट्यानिङ छ।  सरकारको नेतृत्व गर्ने पालो अब माओवादीलाई दिनुपर्छ। त्यसपछि फेरि पालो त तपाईंकै हो,' अर्थमन्त्री शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रचण्डले देउवालाई गलाउनकै निम्ति 'एमाले कार्ड' खेलेको स्रोतको दाबी छ। माओवादी अहिले पनि यही गठबन्धनलाई निरन्तरता दिन चाहेको स्रोतको भनाइ छ। 'माओवादी यही गठबन्धनलाई निरन्तरता दिन चाहन्छ। तर त्यससँगै पहिले सरकारको नेतृत्व पनि दाबी गर्छ,' माओवादीका एक नेताले भने। देउवाले मनोमानी गरे गठबन्धनबाट बाहिरिने र एमालेसँगको सम्बादलाई अगाडि बढाउने ती नेताको भनाइ छ।

'हाललाई हामी गठबन्धन चाहन्छौं। तर सरकारको नेतृत्व नपाए अर्को विकल्पमा पनि जान सकिन्छ,' ती नेताले अन्नपूर्णसँग भने।  

प्रचण्ड रोक्ने रणनीतिमा देउवा

संसदीय दलको नेता निर्वाचित भएसँगै प्रधानमन्त्रीसमेत रहेका देउवा हौसिएका छन्। प्रचण्डबाट चर्को दबाबमा रहेका देउवा आफ्नै नेतृत्वको सरकार गठन गर्न चाहेका छन्। केही दिनअघि पार्टीका नवनिर्वाचित सांसदहरूको सुझावबाट प्रफुलित भएका देउवा दुई वर्षपछि छाड्नेगरी प्रधानमन्त्री बन्न चाहेको उनी निकट नेताहरू बताउँछन्।

उनले प्रचण्डलाई रोक्ने रणनीति बनाउन बुधबार आफू निकट नेताहरूसँग सम्बाद गरेका छन्। उनले बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेताहरू एनपी साउद र रामहरि खतिवडासँग भेटवार्ता गरेका छन्। 

कांग्रेसकै नेतृत्वमा सरकार बनाउनका लागि आवश्यक रणनीति बनाउन देउवाले उनीहरूसँग सम्बाद गरेको बालुवाटार स्रोत बताउँछ। प्रचण्डले एमाले कार्ड खेले आफूहरू पनि एमालेसँग सत्ता सहकार्यका लागि सम्बाद अगाडि बढाउने रणनीतिमा कांग्रेस रहेको स्रोतको भनाइ छ।

'प्रचण्डजी एमालेसँग सत्ता सहकार्य गर्न सक्छन् भने कांग्रेस पनि त्यस बाटोमा अगाडि बढ्नसक्छ। गठबन्धनमा धेरै दल हुनुभन्दा दुई दल हुनु उत्तम होला नि?,' बालुवाटार स्रोत प्रश्न गर्छ। निर्वाचन समापन भएसँगै देउवा पक्षका नेताहरू पटक-पटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बाद गरेका छन्।

स्थायी सरकार निर्माणका लागि दुई दलबीचको सहकार्य अपरिहार्य रहेको समेत दुवै पार्टीका नेताहरूले बताउँदै आएका छन्। त्यसकारण प्रचण्डको एमाले कार्ड उनकै निम्ति घातक हुनसक्ने बालुवाटार स्रोतको भनाइ छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने गठबन्धनकै नेतृत्वमा देउवा प्रधानमन्त्री बन्ने दाबी गरे। ‘गठबन्धनकै सरकार बन्छ। शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुपर्नेछ। यो गठबन्धनलाई निरन्तरता दिएर राजनितिक निकास दिन देउवाजीले अभिभावकत्वको भूमिका निर्वाह गर्नुहुन्छ,’ उनले भने।

ओलीको आफ्नै दाउ

संसदको दोस्रो ठूलो दल नेकपा एमाले अध्यक्ष ओलीले भने सरकार गठनका निम्ति 'पर्ख र हेर'को नीति अवलम्बन गरेका छन्। आवश्यक परे एमाले 'पावर सेयरिङ'सहित सरकारमा जानसक्ने बालकोट स्रोतको दाबी छ।

'वाम शक्ति'को नारा दिएर एमालेले माओवादीलाई गठबन्धनबाट छुटाउनसमेत खोजेको छ। मंगलबार पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले औपचारिकरूपमै प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। प्रचण्डलाई प्रधानमन्त्री 'अफर' गरेको एमाले अध्यक्ष ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत बालकोटमा भेटवार्ता गरेका छन्। सरकारमा नजाने घोषणा गरेका लिङ्देनलाई आवश्यक परे सरकारमा समर्थन जनाउन आग्रह गरिएको स्रोतको भनाइ छ।

अध्यक्ष ओलीले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग कानेखुसी गरेका थिए। एकअर्काको अनुहारसमेत हेर्न नचाहने यी तीन नेताहरूको कानेखुसीले 'वाम एकता'को नारालाई जोडबल गर्ने नेताहरूको बुझाइ छ। 

   

सात दलले छाने नेता, जसपामा तनाव

संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलले संसदीय दलको नेता टुंग्याएका छन्। बुधबार साँझसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संसदीय दलको नेता टुंगो लगाएका हुन्।

नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुँदै सभापति देउवाले पार्टीलाई सशक्त र बलियो बनाएर अघि बढ्ने वाचा गरे। पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने प्रतिवद्धता जनाउँदै देउवाले भने, ‘हार्दिक धन्यवाद छ। यो पार्टीलाई राम्रोरुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधानमुक्त राख्नेछु।’

यता पराजित युवा नेता गगन थापा भने मन्त्री नबन्ने घोषणा गरे। उनले आफू सरकारमा नजाने र कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने बताए। 'कांग्रेस नेतृत्वको सरकार बन्यो भने अरु साथीहरू जानुहुन्छ। पार्टीमा रुपान्तरण र पुस्तान्तरणको आवश्यकता छ। मेरो सोचाइ पनि यही हो र म त्यसमै लागिरहन्छु।' आगामी दिनमा संसदीय दलकै नेता बन्ने तयारीमा लाग्ने उनको भनाइ छ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीक अध्यक्ष महन्थ ठाकुर संसदीय दलको नेतामा चयन भएका छन्। बुधबार बसेको बैठकले ठाकुरलाई सर्वसम्मत दलको नेता चयन गरेको केशव झाले जानकारी दिए।

यसअघि नेकपा एमालेको संसदीय दलको नेतामा केपी शर्मा ओली निर्वाचित भएका छन् भने नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधव कुमार नेपाल चयन भएका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा भने पार्टी सभापति रवि लामिछाने, जनमत पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष सीके राउत चयन भएका छन्।

नेकपा माआवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्ने निश्चित छ। त्यसका लागि संसदीय दलको बैठक भोलि (बिहीबार) डाकिएको छ। त्यस्तै नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चुनिने निश्चित छ। जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलको नेता भने अझै टुंगो लागेको छैन। पार्टी अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि दलको नेता कसलाई बनाउने भन्ने विषयमा सकस देखिएको जसपाका एक नेताले बताए।

यस्तो छ सरकार गठन प्रक्रिया

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न पुस १० (आइतबार)सम्म समयसीमा दिएकी छन्। बहुमत पुर्‍याउने दलले आइतबार ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ।

धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्।

उपधारा २ बमोजिम सात दिनभित्र सरकार नबने उपधारा ३ मा जान्छ। उक्त उपधारामा लेखिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ।’

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुर्‍याउन १ सय ३८ सिट चाहिन्छ। कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन। कांग्रेसले ८९ एमालेले ७८ सिट जितेका छन्। माओवादीले ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२, एकीकृत समाजवादी १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ सिट जितेका छन्। स्वतन्त्रले ५ सिट जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.