नेपाल र जापानबीचको सम्बन्ध थप उचाईमा पुर्याउँछु: राजदूत डा.सुबेदी

टोकियो: जापानका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाल र जापान बीचको सम्बन्धलाई उचाईमा पुर्याउने प्रतिबद्धता जनाएका छन्। अंग्रेजी नयाँ वर्ष २०२३को पूर्वअवसरमा एनआरएनए जापानले टोकियोमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा राजदूत डा.सुवेदीले दुई देश बीचको सम्बन्ध उचाईमा पुर्याने प्रतिबद्धता जनाए।
जापान सरकार र जापानका नागरिकबाट नेपालको आर्थिक, सामाजिक, शैक्षिक, प्राविधिक विकासमा सहयोग र साहायता जुटाउनु साथै अभिवृद्धि गर्न भूमिका निर्वाह गर्ने उनले बताए । राजदूत डा.सुवेदीले नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई अझ घनिष्ट र प्रगाढ बनाउन आफू निरन्तर लागिपर्ने बताए।
उनले जापानमा रहेका १ लाख बढी नेपाली नागरिकको हकहितको सुरक्षा र कल्याण गर्न राजदूतावास पछिल्लो समय थप सक्रिय रहेको बताए। जापानस्थित नेपाली राजदूतावासले प्रदान गर्ने राहादानी, भिसा लगायतका सेवाप्रवाहलाई चुस्त, दुरुस्त तथा सरल बनाउने लक्ष्यका साथ आफूले काम अघि बढाएको उनको भनाइ छ।
राजदूत डा. सुवेदीले दुई मुलुकबीचको मित्रता र सहकार्यमार्फत् नेपालको पर्यटन, व्यापार, रोजगारी र जापानले नेपालमा गर्ने लगानी वृद्धिमा थप सहयोग पुग्ने जनाएका छन्।
कार्यक्रमको अवसरमा गत साउनमा जापानका लागि नेपाली राजदूत नियुक्ति भएर जापान आएका डा.सुवेदीलाई एनआरएनए जापानले स्वागत गरेको थियो । एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जापानस्थित नेपाली व्यवसायी साथै विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस !
