पेले फुटबलका भगवान्

पेले फुटबलका भगवान्

भनिन्छ, ब्राजिलियनका नसामा रगत होइन, फुटबल बग्छ। त्यसैले विश्व खेलकुदमा ब्राजिल र फुटबल एकअर्काका पर्याय मानिन्छन्। तर, त्यो पर्याय पेलेबिना अपूरो हुन्छ। अधुरो हुन्छ। ब्राजिल र पेलेबिना आधुनिक फुटबलको चर्चा असम्भव नै हुन्छ। मानिसहरू भन्छन्, ‘पेलेको कुनै धर्म, कुनै वर्ण र कुनै राष्ट्रियता छैन। उनी धर्म, वर्ण र राष्ट्रियताभन्दा माथि छन्। त्यहीकारण उनी सबैको प्रिय छन्।’ सबैले स्वीकारेका छन्। विश्व फुटबलका उनी सर्वस्वीकार्य आदर्श हुन्। संसारका आँखामा उनी फुटबलका जादुगर हुन्, श्रीपेचबिनाका सम्राट् हुन्।

विश्व फुटबलका हरेक प्रतियोगितामा उनको स्मरण हुन्छ। उनको उपलब्धिको चर्चा गरिन्छ। उनका बारेमा अनेकन किंवदन्तीहरूको रचना हुँदै आएको छ। अब त्यो चामत्कारिक जादुगरको किंवदन्ती किंवदन्तीमै सीमित भएको छ। आधुनिक फुटबलका महान् खेलाडी पेले अब सम्झनामा मात्रै रहन पुगेका छन्। मिर्गौला र प्रोस्टेट क्यान्सरबाट पीडित पेलेको ८२ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। उनी एक महिनादेखि अस्पतालमा उपचाररत थिए। कोलोन क्यान्सर फैलिएर शरीरका धेरै अंगहरूले काम गर्न छाडेपछि थला परेका उनी उपचारका लागि गत नोभेम्बरमा अस्पतालमा भर्ना भएका थिए।

सन् १९३० देखि सुरु भएको विश्वकप फुटबलको हरेक संस्करणमा सहभागिता जनाउँदै आएको ब्राजिलले सन् १९५८ मा पेलेको उदय हुनुभन्दा अघि ६ वटा विश्वकप खेलिसकेको थियो। तर, उपाधि जित्नेको परको कुरा दाबेदार राष्ट्रका रूपमा पनि गनिँदैनथियो। सन् १९५८ मा पेले ब्राजिलको राष्ट्रिय टोलीमा परे, त्यही संस्करणमा ब्राजिल विश्वविजेता बन्यो। यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले दुई गोल गरेपछि स्विडेनविरुद्ध ब्राजिल ५–२ गोलले विजयी भयो। यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले ६ गोल गरेका थिए। उनले फ्रान्सविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गरेपछि ब्राजिल ५–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा पनि पेलले उत्कृष्ट खेल खेले। स्विडेनविरुद्ध फाइनलमा पेलेले दुई गोल गरेका थिए। उक्त खेलमा ब्राजिल ५–२ ले विजयी हुँदै पहिलो पटक विश्व च्याम्पियन बन्यो।

सन् १९६२ मा चिलीमा आयोजना भएको सातौं संस्करणको विश्वकपमा पनि पेलेको फर्म उस्तै थियो। उनले समूह चरणमा मेक्सिकोविरुद्ध पहिलो खेलमा गोल गरेका थिए। अरू खेलमा गोल गर्न सकेनन्। तर, टिममा उनको प्रभाव भने उस्तै थियो। फाइनलमा चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो पटक उपाधि जितेको थियो। सन् १९६२ पछि अहिलेसम्म कुनै पनि देशले लगातार दुई पटक विश्वकपको उपाधि जित्न सकेका छैन। सन् १९६६ मा इङ्ल्यान्डमा आयोजना भएको विश्वकपमा पेले र ब्राजिलको प्रदर्शन राम्रो हुन सकेन। ब्राजिल समूह चरणबाटै बाहिरियो। यो विश्वकपमा बिर्सनलायक प्रदर्शन गरेको ब्राजिल सन् १९७० को विश्वकपलाई यादगार बनाउन चाहन्थ्यो। मेक्सिकोमा आयोजना भएको विश्वकपको पहिलो खेलमा ब्राजिलले चेकोस्लोभाकियालाई ४–१ गोलले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो।

पेलेले पनि गोल गरेका थिए। समूह विजेता बनेको ब्राजिलले क्वार्टरफाइनलमा पेरु र सेमिफाइनलमा उरुग्वेलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। फाइनलमा इटालीलाई ४–१ गोलले हराउँदै ब्राजिल तेस्रो पटक उपाधि जितेको थियो। सन् १९५८, १९६२ र १९७० तीन पटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी बनेका थिए। विश्वकपका १४ खेलमा उनले १२ गोल गरेका छन्। विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनी अहिले पनि छैटौं स्थानमा छन्। 

सन् १९५८ को विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित भए र कालान्तरमा फुटबलका जादुगर कहलिए। आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरेका छन्। सन् १९५८, १९६२ र १९७० तीन पटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले दुई पटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए। उनको सन्न्यासपछि ब्राजिलले चौथो पटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नु परेको थियो। सन् १९९४ को विश्वकपमा ब्राजिलले चौथो उपाधि जितेको थियो।

तीन पटक विश्वकप फुटबलको उपाधिमाथि ह्याट्रिक गर्ने एकमात्रै खेलाडी हुन्, पेले। ब्राजिलले जितेका पाँच विश्वकप ट्रफीमध्ये तीन उपाधि पेलेले आफ्नो नायकत्वमा जिताएका थिए। पेलेको सफलताको यो बराबरी आजसम्म कुनै पनि फुटबलरले गर्न सकेका छैनन्। उनकै प्रेरणामा ब्राजिलले सन् १९५८, १९६२ र सन् १९७० मा विश्वकपको उपाधि जितेको थियो। यससँगै सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने, गोल गर्ने, ह्याट्रिक गर्ने र फाइनल खेलेको रेकर्ड ६० वर्षसम्म पनि उनकै नाममा छ।

उनले १७ वर्ष २ सय ३९ दिनको उमेरमा विश्वकप फुटबलमा पहिलो पटक गोल गरेका थिए। कम उमेरमा विश्वकपमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन्। यसैगरी विश्वकप फुटबलमा ह्याट्रिक गर्ने पनि उनी कान्छो खेलाडी हुन्। उनले १७ वर्ष २ सय ४४ दिनको उमेरमा विश्वकप ह्याट्रिक गरेका थिए। उनले सन् १९५८ को विश्वकपमा फ्रान्सविरुद्ध ह्याट्रिक गरेका थिए। यसैगरी १७ वर्ष २ सय ४९ दिनको उमेरमा उनले विश्वकप फाइनलमा गोल गर्दै सबैभन्दा कान्छा खेलाडी बनेका थिए।

रहस्यमयी नाम

संसारभर फुटबललाई लोकप्रिय बनाउने पेलेको जीवनी जति चाखलाग्दो छ, उति नै उनको नामको पनि छ। संसारभरमा पेलेको नामले कहलिएका उनको नाम न पहिले पेले थियो, न त थर नै। ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा उनको जन्म भएको थियो। उनका पिता क्लब स्तरका खेलाडी थिए। आमा गृहिणी थिइन्। आमा बुवाले उनको नाम राखेका थिए, एडिसन। उनको पूरा नाम भने 
एडिसन एरेन्टस डो नासिमेन्टो हो। उनी बाल्यकालमा यही नामले चिनिए।

‘जुन बेला म जन्मिएको थिएँ। त्यही बेला हाम्रो सहरमा बिजुलीको बल्ब पुगेको थियो। आमा बुबालाई बल्बको उज्यालोको प्रभाव थियो। त्यसैले बल्ब बनाउने थोमस एल्वा एडिसनको नाममा मेरो नाम एडिसन राखिदिनु भयो’, पेलेले आफ्नो नाम कसरी राखियो भनेर अटोबायोग्राफी ‘माई लाइफ एन्ड द ब्युटिफुल गेम’मा भनेका छन्।

वास्तविक नाम एडिसन भए पनि उनलाई परिवारले ‘डिको’ भनेर बोलाउँथे। उनका बुवा फुटबल खेलाडी थिए। स्थानीय क्लबमा उनको राम्रै प्रभाव पनि थियो। तर, उनले अनाचक चोट बोक्न पुगे। चोटकै कारण उनको फुटबल करियर क्लबभन्दा माथि उठ्न सकेन। त्यसैले उनी छोरालाई फुटबलर बनाउन चाहन्थे। राष्ट्रका लागि फुटबल खेल्ने आफ्नो सपना छोराले पूरा गरोस् भन्ने चाहन्थे। यो सपना पूरा गर्न डिकोको परिवार साओ पाओलो नजिकै बसाइँ सर्‍यो।

नयाँ ठाउँमा उनको परिवारलाई जीविकोपार्जन गर्न धौधौ पर्‍यो। डिकोका बुवाले रातदिन मजदुरी गर्दा पनि खानलाउन मात्रै पुग्थ्यो। सानोमा डिकोको जीवन अभावमै बित्यो। उनी पुराना कपडाको बल बनाएर खेल्थे। सडकबाटै उनले फुटबलको कला सिकेका थिए। डिको आफ्ना साथीहरूलाई मज्जाले छक्काउँथे। उनको खुट्टाबाट कसैले बल खोस्न सक्दैनथिए। बलमाथि नियन्त्रणसँगै तीव्र गतिमा कुद्न सक्ने भएकाले साथीहरू उनलाई ‘गेसोलिना’ भनेर जिस्काउँथे। खुला चौर र सडकमा नाङ्गो खुट्टाले फुटबल खेल्दाखेल्दै उनको नाम कति बेला ‘पेले’ भयो, स्वयंले पनि पत्तै पाएनन्।

१६ वर्षको उमेरमा ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध हुँदा उनी पेलेको नामले चर्चित भइसकेका थिए। पेलेले सान्तोसमै आफ्नो अलग पहिचान बनाए। सन् १९५७ जुन ७ मा अर्जेन्टिनाविरुद्धको खेलमा पेले उपनाम गरेका खेलाडीले १६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। डेब्यु खेलमै गोल गरेपछि पेलेले ब्राजिलियन फुटबलमा आशाको सञ्चार गराइदिए। डेब्यु खेलमै गोल गरेपछि पेलेले मात्र होइन, ब्राजिलले पनि पछाडि फर्केर हेर्नु परेन। ब्राजिललाई विश्व च्याम्पियन बनाउँदै तहल्का मच्चाएका पेले शताब्दीकै महान् फुटबलर बने। सन् १९५८ को विश्वकपपछि त उनी एडिसन रहेनन्, पेलेबाटै चिनिए।

‘एडिसन साओ पाओलो नजिकैको बाउरुबाट आउँदा एक गरिब केटो थियो। डिको युवा अवस्थामै राइजिङ स्टार बनेको थियो। तर, पेलेले संसारकै सबैभन्दा ठूलो फुटबल खेलाडी बन्ने सपना बोकेको थियो’, ‘माई लाइफ एन्ड द ब्युटिफुल गेम’मा पेलेले भनेका छन्, ‘एडिसन एक संकोची केटा थियो। पेले हजारौंको भीडमा र क्यामेराको अघि सहज ढंगले मुस्कुराउन सक्थ्यो। मानिस एकै भए पनि उसको दुई रूप थियो। भिन्न स्वभाव, भिन्नै स्वरूप पनि।’ एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी पेलेले आजीवनजसो ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेले।

पेलेले सन् १९७४ मा सन्न्यासको घोषणा गरे पनि कोस्मोसबाट खेल्न १९७५ मा सन्न्यास फिर्ता लिएका थिए। उनले सन् १९७७ मा करियरको अन्तिम खेल खेलेका थिए। न्युयोर्क र सान्तोसबीच भएको यो खेलमा पेले दुवै टोलीबाट खेलेका थिए। फुटबलबाट सन्न्यास घोषणा गरेपछि पेले सन् १९९५ मा ब्राजिलको खेलकुदमन्त्रीसमेत बनेका थिए। उनी करिब तीन वर्ष खेलकुदमन्त्री बनेका थिए। खेलकुद मन्त्री हुँदा उनले आफ्नै नाममा ‘पेले कानुन’समेत बनाएका थिए। उनले खेलाडीको हितसँगै क्लबहरूले राज्यलाई कर तिरुन् भनेर यो कानुन बनाएका थिए। 

तीन पटक विवाह

पेले आफ्नो व्यक्तिगत जीवनमा खुला स्वभावका थिए। उनले जीवनमा तीन पटक विवाह गरे। उनको पहिलो विवाह रोजमेरी डोस रइस चोल्बीसँग सन् १९६६ मा भएको थियो। उनको पहिलो श्रीमतीबाट दुई छोरी भएका थिए। तर सन् १९८२ मा उनको सम्बन्धविच्छेद भयो।

सन् १९८१ देखि सन् १९८६ सम्म पेले असिरिया लेमोस सिक्साससँग बसे। पेलेसँग डेट गर्दा सिक्सास १७ वर्षकी मात्रै थिइन्। लामो डेटपछि उनले सन् १९९४ सिक्साससँग विवाह गरे। सिक्सासले जुम्ल्याहा सन्तान जन्माइन्। उनीहरू सन् २००८ सम्म सँगै बसे। सिक्साससँग सम्बन्धमा दरार आएपछि उनीहरू छुट्टिए। त्यसपछि पेले लामो समय एक्लै बसे। त्यहीबीचमा उनी मार्सिया आओकीसँग नजिकिए। सन् २०१६ मा उनीहरूबीच विवाह भएको थियो। 

पेलेसँग जोडिएका रोचक प्रसंग‘ब्ल्याक डायमन्ड’का नामले समेत चिनिने पेलेका थुप्रै रोचक प्रसंग छन्। सन् १९७० को विश्वकपमा घरेलु टोली इङल्यान्डविरुद्धको खेलमा पेलेले निकै शक्तिशाली प्रहार गरेका थिए। जसलाई रोक्न खोज्दा इङ्ल्यान्डका गोलरक्षक गोर्डन ब्याङ्क्सको हात भाँचिएको थियो।

सन् १९६३ मा पश्चिम जर्मनीको ह्याम्वर्गमा खेल्दा पेलेलाई जर्मन खेलाडी सुल्जले कभर गरिरहेका थिए। तर, पेलेले बललाई कतिखेर जाली चुमाए, उनले थाहै पाएनन्। रेफ्रीले सिठ्ठी बजाएपछि मात्रै उनले गोल भएको थाहा पाए। सन् १९६१ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको खेलमा पेलेले विपक्षी नौजना खेलाडीलाई छलाउँदै आकर्षक गोल गरेका थिए। जुन गोलका लागि पेलेले असाधारण प्रदर्शन गरेका थिए।

शताब्दी खेलाडी

फुटबलमा पेलेले हात पात पारेका उपलब्धि र योगदान अविस्मरणीय छ। त्यही कारण उनलाई ब्राजिलले ‘राष्ट्रिय नायक’को रूपमा मान्दै आएको छ। विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले उनलाई राजदूत नियुक्त गरेको थियो। यसैगरी, अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी (आईओसी) ले पेलेलाई ‘शताब्दी–खेलाडी’को उपाधि दिएको प्रदान गरेको थियो।

यसैगरी सन् १९९४ मा युनेस्कोले पनि सद्भावना दूत नियुक्त गरेको थियो। विश्व फुटबलका धेरै अद्वितीय कीर्तिमान बनाएका पेलेले जति खेल खेले, सबैको मन जित्न सफल भए। पेलेले जसरी फुटबल खेले, त्यसले फुटबलको परिभाषालाई नै परिवर्तन गरिदिए। त्यसैले भनिन्छ, विश्व फुटबलमा पेले जत्तिको खेलाडी न थियो, न त रहनेछ।

मेसीदेखि एमबाप्पेसम्को श्रद्धाञ्जलि

ब्राजिलका महान् खेलाडी पेलेको निधनले सिंगो फुटबलजगत् स्तब्ध बनेको छ। पेलेको निधनमा पछिल्लो पुस्ताका दिग्गज खेलाडीहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। कतार विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पेलेसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

यसैगरी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलेले पनि पेलेको निधनमा दुःख व्यक्त गरेका छन्। पेले लाखौं मानिसका प्रेरणा रहेको बताउँदै उनले भनेका छन्, ‘पेलेको उदाहरण हिजो पनि दिइन्थ्यो। आज पनि दिइन्छ र सधैं दिइनेछ।’

ब्राजिलका स्टार खेलाडी नेमारले पेलेले फुटबललाई कला र मनोरञ्जनमा ढालेको बताउँदै भावपूर्ण श्रद्धाञ्जलि दिएका छन्। ‘पेलेभन्दा अघि फुटबल एक सुस्त खेल थियो। पेलेले फुटबललाई कला र मनोरञ्जनमा ढालिलिए’, नेमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्।

यसैगरी, फ्रान्सका काइलिन एमबाप्पेले फुटबलका बादशाहले हामी सबैलाई छोडेर गएको बताएका छन्। पेलेसँग खिचेको तस्बिर सेयर गर्दै उनले पेलेको विरासतलाई कहिल्यै भुल्न नसकिने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.