ब्लड बैंक बनेको ‘दाह्री ग्याङ’
अछाम : कोरोनाको महामारीको बेला असार महिना थियो। बाजुराका गणेश रावल साँफेबगरको सडकमा अलपत्र अवस्थामा लडेको देखेपछि दाह्री ग्याङले उनलाई उद्दार गरेर बयालपाटा अस्पताल पुर्याए। उनको बायाँ हात भाँचिएको थियो। स्वास्थ्य अवस्था नाजुक थियो। शरीरमा रगतको कमी थियो। मनाङमा एक जना ठेकेदारसँग काम गर्दैै आएका उनी ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र परेका रहेछन्।
सात दिनसम्म भोकै रहेका रावल जसोतसो साँफेबगरसम्म पुगेका रहेछन्। कोरोनाको समय भएकाले नजिकका कसैले पनि रगत दिन मानेनन्। ‘राति ९ बजे साँफेबगर नगरपालिकाको दुर्गम वडा पातलकोटबाट दाह्री ग्याङका युवाहरू बोलाएर ओ पोजेटिभ रगत दिएर ज्यान बचाइयो’, दाह्री ग्याङका अध्यक्ष उमेश कुँवरले ती दिनसम्झे, ‘उपचारपछि घर फर्किन उनीसँग पैसा थिएन। पाँच हजार जुटाएर घर पठाऔं।’
त्यो घटना यता दाह्री ग्याङका युवाहरू अस्पतालको शैयामा प्रसव पीडामा छटपटिएका महिला उनका आफन्तहरूको पीडामा मलम लगाउने काम मात्र होइन, रगत अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने अभियानमा लागिपरेका छन्।
अछामको बयालपाटाअस्पतालमा रगत आवश्यकता पर्योकी दाह्री ग्याङलाई फोन आउँछ। बिरामीलाई रगत चाहिएमा अस्पताल र बिरामीका आफन्तले ग्याङका सदस्यलाई सिधै फोन गर्छन्। दाह्री ग्याङले रगत अभाव भएका थुप्रै गर्भवती र बिरामीहरूको ज्यान बचाइसकेको छ। सामान्यतया दाह्री पाल्ने र मुन्द्रा लाउने युवाहरूलाई नकारात्मक दृष्टिले हेर्ने चलन छ तर अछामका केही युवाहरू भने ‘गालामा दाह्री, काँधमा जिम्मेवारी’ नाराका साथ समाज सेवामा जुटेका छन्।
युवा अवस्थामै गालाभरी दाह्री पालेर हिड्ने युवाहरूले पछिल्लो समय रक्तदानदेखि विभिन्न समस्यामा स्थानीयलाई सघाउँदै सामाजिक काममा जुटेका छन्। समाजमा हुने नकारात्मक प्रवृत्तिलाई समेत परिवर्तन गरी सकारात्मक पाटोमा अगाडि बढाउन पहल कदम गर्ने उनीहरूको अठोट छ।
अध्यक्ष कुँवरले मात्रै १७पटक पटक रक्तदान गरिसकेका छन्। अछाममा ब्लड बंैक छैन। नजिक अस्पतालहरू पनि नभएकाले बढीजसो गर्भवतीहरू रक्तअल्पता भएपछि मात्रै अस्पताल पुग्ने गर्छन् तर अस्पतालमा ब्लड बैंक नहुँदा, सिधै दाह्री ग्याङका युवाहरूलाई फोन जान्छ र उनीहरू अस्पतालमा बिरामी बचाउन हाजिर हुन्छन्।
कुँवर भन्छन्, ‘दुर्गमका महिला झनै मारमा छन्। अस्पतालमा सबैभन्दा बढी गर्भवती महिलाहरूलाई रक्तदान गरेका छौं। करिब ३ सय जति गर्भवतीलाई हाम्रो ग्याङले रक्तदान गरेको छ भने २ सयको हाराहारीमा अन्य बिरामीलाई पनि रगत दिएका छौं।’ दाह्री ग्याङको समन्वयमा बिरामीलाई रक्तदान गरेका अन्य व्यक्तिलाई सम्मान स्वरूप प्रमाणपत्रसमेत दिने गरेको उनले बताए।
युवाहरूले अहिले बिरामीहरूलाई भनेको बेला रगत उपलब्ध गराएर ब्लड बैकको काम गरिरहेको बयालपाटा अस्पतालका प्रमुख डा.मन्दिप पाठकले बताए। उनले भने, ‘जिल्लामा ब्लड बैंक छैन। जतिबेला बिरामीलाई आवश्यकता पर्यो। त्यत्तिबेला नै रगत खोज्नुपर्ने अवस्था छ। यस्तो बेला दाह्री ग्याङका युवाहरूलाई सम्पर्क गरेपछि उहाँहरूले रगतको व्यवस्था गर्र्दिहाल्नु हुन्छ।’ अस्पतालमा ३० देखि ३५ दिनसम्म मात्र रगत स्टोर गर्ने व्यवस्था रहेको डा.पाठकले बताए।
बिरामीलाई आवश्यकता परेको बेला मात्र होइन, उनी बेला–बेलामा अस्पतालमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दै आइरहेको दाह्री ग्याङका सदस्य हिमाल बुढाले बताए। ‘हामीले रक्तदान, बजार सरसफाई, विपन्न असहायहरूलाई आर्थिक सहयोग गर्दै आइरहेको छौं। पछिल्लो समय युवाहरू लागूपदार्थ दुब्र्यसनतिर फस्दै गएका छन्। यस बारेमा पनि प्रत्येक विद्यालयहरूका जनचेतनामूलक कार्यक्रमहरू गर्ने योजना बनाएका छौं।’