सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा

सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडीस्थित धोबेनीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाको ३४ लाख रूपैयाँ चोरी भएको छ। 

मूल ढोकाको ताला फुटाएर सहकारीको रकम चोरी गरेको पाइएको प्रहरीले जनाएको छ। घटना शुक्रबार रातिको हो। तर, प्रहरीले भने शनिबार दिउँसो साढे १ बजेतिर मात्रै जानकारी पाएको थियो। घटना शंकास्पद देखिएपछि प्रहरीले १ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 

प्रहरीले सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपाली (शिवा)लाई नियन्त्रणमा लिएको हो। घटनामा उनको संलग्नता यकिन भइनसकेको प्रहरीले जनाएको छ। 

प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीमाथि पनि सोधपुछ गर्ने काम भइरहेको जानकारी दिएको छ। 

प्रारम्भिक अनुसन्धानबाट घटना हुनुअघि सहकारीकी कर्मचारी नेपालीले बुझाउनुपर्ने हिसाबकिताब प्रबन्धक खनाललाई नबुझाएको खुलेको छ। सहकारीको ताला फुटाएर कार्यालयभित्र पैसा राखिएको ‘सेभ’ तोडेर चोरी गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार तोडफोड गर्दै पैसा निकालेको अवस्थामा कार्यालयबाट करिब ५० मिटर पश्चिममा ‘सेभ’ फेला परेको थियो। 

‘रातको समयमा मूल ढोकाको ताला फोडेर सहकारीभित्र छिरेको देखिन्छ। कार्यालयका कुर्सीहरू टेबुलमाथि राखिएको अवस्थामा भेटिए,’ उनले भने, ‘कार्यालयबाट बाहिर निकालेर तोडफोड गर्दै पैसा निकालेको अवस्थामा ५० मिटरजति पश्चिममा ‘सेभ’ फेला परेको छ। थप अनुसन्धान गर्ने काम भइरहेको छ।’ सहकारीमा चोरी भएको कुरा सुरुमा प्रबन्धक खनालले प्रहरीलाई जानकारी गराएका हुन्। 

खनालले सहकारीको ३४ लाख चोरी भएको जानकारी गराएको प्रहरीले जनाएको छ। तर, चोरी भएको रकम यकिन हुन बाँकी रहेको डीएसपी श्रेष्ठ बताउँछन्। 

पैसा कसरी राखिएको थियो, सहकारी कसको जिम्मामा थियो र घटना कसरी भयोभन्ने बारेमा विस्तृतमा अनुसन्धान भइरहेको उनले बताए।  

अनुसन्धान सकिएपछि मात्रै यस विषयमा थप प्रष्ट हुने डीएसपी श्रेष्ठको भनाइ छ। उक्त सहकारी स्थानीय महिलाहरू मिलेर २०६८ सालदेखि सञ्चालनमा ल्याएका हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.