कालोपत्रे सडकले फेरिएको मिक्लाजुङको मुहार
विराटनगर : केही वर्ष अघिसम्मको कुरा हो, चिल्लो कालोपत्रे सडक हेर्न सहर बजार नै पुग्नुपर्थ्यो। गाउँका जनताले विकासको अनुभूति गर्न पाएका थिएनन्।
विकासको प्रमुख पूर्वाधारका रूपमा रहेको सडकको सहज पहुँच दुरदराजका गाउँमा सम्भव थिएन। तर, पछिल्लो समय अवस्था फेरिएको छ। गाउँका जनताले पनि संघीयताको अनुभूति गर्न थालेका छन्।
विकासका वाछिटाहरू गाउँसम्मै पुग्न थालेपछि जनतापनि मख्ख परेका छन्। विकासका पूर्वाधारको तुलनामा निकै विकट मानिने उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको कथा पनि करिब यस्तै यस्तै छ।
सडक पूर्वाधारको अभाव रहँदै आएको यस गाउँपालिकाको टाँडी र रमिते क्षेत्रमा पछिल्लो समय आकर्षक कालोपत्रे सडक विस्तार भएपछि हाल यहाँको अवस्था फेरिएको छ।
आम सर्वसाधारणका लागि आवागमन सहज हुनुका साथै यसले गाउँमा रोजगारीका नयाँ अवसरहरू पनि सिर्जना गर्न थालेको छ। कृषकका उत्पादन बजारसम्म पुग्न पाएका छन, उत्पादनले राम्रो मूल्य पाउन थालेका छन्, उपचार नपाएर कसैले अकालमै ज्यान गुमाउनुपरेको छैन।
एउटा सडकले मात्रै यहाँका आम सर्वसाधारणको जनजीविकासँग जोडिएको अधिकांश समस्या हल गरिदिएको छ। लामो अनि फराकिलो कालोपत्रे सडक। कतै उकालो त कतै ओरालो। अनि कतै अलि घुमाउरो पनि।
गाउँबस्ती र खेतबारी र खेतबारीमा प्रष्ट देखिने लह–लह फलेका कृषि उत्पादनहरू। यो किसान चोकबाट टाँडी, रमिते र आइतबारे हुँदै पाँचथरको रविसम्म जोड्ने सडकबाट दिनहुँ देखिने दृश्य हो। जसले जो कसैलाई लोभ्याउँछ। सडक पूर्वाधारले यहाँका आम सर्वसाधारणको दैनिकी फेरिएपछि हाल उनीहरू दङ्ग परेका छन्।
स्थानीय कविराज भण्डारी भन्छन, ‘सडक बनेपछि अवस्था फेरिएको छ। घरघरमा शुद्ध खानेपानी पुगेको छ। अँध्यारो देखिने गाउँमा बत्ती बल्न थालेका छन्।‘
सडक पूर्वाधारको विकासका कारण बसाँइ सरेर सहर गएकाहरू पनि गाउँ फर्किन थालेको स्थानीय बताउँछन्। गाउँमै केही गर्न सकिने वातावरण सिर्जना भएपछि यूवा जनशक्तिमा पनि विदेशिने भावनाको अन्त्य हुँदै गएको स्थानीय तुलशा बस्नेत बताउँछिन्।
उनी भन्छिन्, ‘सहर पसेका युवाहरू भटाभट गाउँ फर्किदैछन्। कृषि उत्पादनले राम्रो मूल्य पाउन थालेपछि कृषिप्रति यूवाहरूको आकर्षण पनि बढिरहेको छ।’
सडक पूर्वाधारको विकास कारण यस क्षेत्रमा अहिले जग्गा जमिनको मूल्यांकन पनि बढेको छ। जग्गाको किनबेच लाखौंमा हुन थालेको छ। समग्रमा गाउँमा नै आर्थिक कारोबार बढ्दै गएको स्थानीयको भनाइ छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत किसान चौकबाट टाँडी–रमिते–आइतबारे हुँदै पाँचथरको रविसम्म जोड्ने यो सडक कुल १८ किलोमिटरको हो।
शर्मा एण्ड भिमेश्वर जेभी कन्स्ट्रक्सनले कुल ५८ करोड ५६ लाख ६८ हजार १७७ रुपैयाँको लागतमा सडक निर्माणको जिम्मा लिएको हो। जसमा सडक निर्माणको भौतिक प्रगति ९० प्रतिशत छ। अर्थात् निर्माण कार्य अन्तिम चरणमा छ।
२०७६ असोजमा सम्झौता भई अघि बढाइएको सो निर्माण ०७८ असारमा सम्पन्न गर्नुपर्ने थियो। तर, कोभिड महामारी लगायतका विविध कारणले निर्माण कार्यमा केही ढिलाई भएपछि २०८० असार मसान्तसम्म सडक निर्माणको म्याद थप गरिएको छ।
यद्यपि, अबको ३ महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी द्रुत गतिमा काम भइरहेको पूर्वाधार कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका अनुसार सडक विस्तारको १० प्रतिशत काम मात्र बाँकी रहेकाले ३ महिनाभित्र सम्पन्न गर्न कुनै कठिनाई छैन।