मानसरोवर माउन्टेन फ्लाइटको तयारी

मानसरोवर माउन्टेन फ्लाइटको तयारी

 नेपालगन्ज :‘माउन्टेन फ्लाइट’मा रमाउनेहरूका लागि खुसीको खबर छ। कैलाश मानसरोवरको यात्रा गर्न चाहनेका लागि नेपालगन्ज–कैलाश मानसरोवर ‘माउन्टेन फ्लाइट’को रूपमा नयाँ पर्यटकीय गन्तव्य थप्ने प्रयास भइरहेको छ।

आगामी माघ १५–१७ गतेसम्म नेपालगन्जमा आयोजना हुने वेस्टर्न ट्राभल मार्टको दोस्रो संस्करणको अवसर पारेर चीनको कैलाश मानसरोवर हवाई उडानको तयारी गरिरहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए। 

मार्ट व्यवस्थापन समितिका संयोजक सिग्देलले भने, ‘मार्टमा सहभागी भारतीय टुर अपरेटर र नेपालका पर्यटन व्यवसायीलाई सहभागी गराई कैलाश मानसरोवर दूरदर्शनका लागि प्रयासरत छौं। नागरिक उड्डयन प्राधिकरण (क्यान)को सहमति हुनासाथ यसले सार्थकता पाउनेमा हामी विश्वस्त छौं।’

नेपालगन्जबाट मानसरोवरका लागि माउन्टेन फ्लाइट हुँदा हुम्लाका दूधेदह, लडेदह, चाङला हिमाल, चुवाखोला, रल्लिङ गुम्बा, पञ्चमुखी, यालवाङ गुम्बा, लिमी भ्याली, लाप्चाबाट मानसरोवर र कैलाशको दृश्यावलोकन गर्न सकिनेछ। यो रुटमा यसअघि पनि परीक्षणको रूपमा माउन्टेन फ्लाइट भइसकेको छ। 

‘मानसरोवरसँगै हामी त रारा, फोक्सुन्डोका साथै कर्णालीको काञ्जिरोवा हिमाल, सिस्ने हिमाल, चंखेली हिमाललगायतको क्षेत्रको पनि अवलोकन गराउन खोजिरहेका छौं’,  अध्यक्ष सिग्देलले भने, ‘क्यानले अनुमति दिएमा हामी उडान भर्ने तयारीमै छौं। भारतीय पर्यटकलाई लक्षित गरेर मार्टकै अवसरमा यो सेवा सुरु हुन्छ।’

बुद्ध एयर पनि मानसरोवर माउन्टेन फ्लाइट गर्न इच्छुक देखिएको छ। ‘हामीसँग भएको ७० सिटे जहाजमा उडान भर्न तयार छौं। अनुमतिको प्रक्रिया पूरा भयो र चार्टर्डबापत लाग्ने शुल्क पाउनेबित्तिकै बुद्ध एयरले उडान भर्छ’, बुद्ध एयरका नेपालगन्ज स्टेसन प्रमुख विनित शाहले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अनुमति लिएर बुद्ध एयर सबै प्रक्रिया पूरा गरी उडान भर्न तयार छ।’

मानसरोवरमा माउन्टेन फ्लाइटको विषयमा धेरै पटक नेपाली र चिनियाँ पक्षबीच छलफल भए पनि चीनले प्राविधिक समस्या देखाउँदै नेपाली प्रस्ताव अस्वीकार गरेको थियो। ‘हुम्लाको लिमी क्षेत्रबाट मानसरोवरको अवलोकन गर्ने भएकाले चीनको अनुमति नै लिन नपर्ने नाट्टा बाँकेका अध्यक्ष सिग्देलको दाबी छ। 

‘यसअघि पनि हुम्ला क्षेत्रबाट उडान भइसकेको छ। चीनको अनुमति लिने भन्दा पनि उडानबारे सामान्य जानकारी गराए पुग्छ भन्ने हामीले प्रारम्भिक जानकारी पाएका छौं। हामी क्यानको अनुमति पर्खिरहेका छौं।’ 
भारतीय पर्यटकहरू हवाईजहाज चढेर काठमाडौंबाट नेपालगन्ज, नेपालगन्जबाट फेरि हवाईजहाजको यात्रा गर्दै हुम्लाको बाटो हुँदै कैलाश मानसरोवरको यात्रामा जाँदा धेरै खर्चिलो हुने गरेको छ। नेपालगन्जबाट मानसरोवर माउन्टेन फ्लाइट हुँदा नेपालमा धेरै भारतीय पर्यटकलाई आकर्षित गर्न सकिन्छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी भारतीय पर्यटकलाई मात्र नेपालमा आकर्षित गर्न सके यहाँको पर्यटकीय क्षेत्रबाट आर्थिक समृद्धि हुने दाबी गर्छन्।

रेग्मीले भने, ‘हरेक वर्ष कम्तीमा पनि १४ लाख भारतीय पर्यटक नेपाल आउँछन्। प्रतिभारतीय पर्यटकले १७ हजार ८ सय रुपैयाँ खर्च गरेको देखिन्छ। भारतीय पर्यटकले गर्ने खर्च विदेशी पर्यटकको बराबर हुन्छ।’
अहिलेसम्म काठमाडौं र पोखराबाट मात्र माउन्टेन फ्लाइट हुन्छ। पश्चिम नेपालमा माउन्टेन फ्लाइट हुँदा यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास ह्वात्तै हुने पर्यटन व्यवसायीको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.