उदयपुरको नवज्योति सामुदायिक वनमा 'नमूना प्लट'
उदयपुर : उदयपुरको नवज्योति सामुदायिक वनमा 'नमूना प्लट' गर्न सुरु गरिएको छ। पर्यटकलाई आकर्षित गर्ने योजनाअनुसार वनले नमूना प्लट लगायतका काम गरिरहेको छ।
जिल्लाको रौतामाई गाउँपालिका-७ स्थित नवज्योति सामुदायिक वन समूहले वन संरक्षण, सम्वर्द्धन र आम्दानीमा वृद्धि गर्ने गरी नमूनायोग्य काम सुरु गरेको छ।
तीन सय ४८ हेक्टर क्षेत्रफलमा फैलिएको वन समूहले यस वर्ष ५ हेक्टरमा नमूना प्लट र करिव २५ हेक्टरमा झाडी सरसफाइ गरी बोटबिरुवा संरक्षणमा केन्द्रित गरेको अध्यक्ष नेत्रबहादुर खड्काले बताए। मदन भण्डारी स्मृति लोकमार्गसँग जोडिएको रातमाटे क्षेत्रमा झाडी सरसफाइ गरी नमूना प्लट गरिएको उनले बताए।
नमूना प्लटभित्र पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने गरी वनभोज (पिकनिक) स्पोट निर्माण, बोटबिरुवा र जंगली जनावर संरक्षणका कामहरू सुरु गरिएको अध्यक्ष खड्काले बताए।
उनले भने, ‘नमूना प्लटका लागि रेखाकंन गरिएका क्षेत्रमा पिकनिक स्पोटका लागि वातावरण अनुकुल टहरा निर्माण, खानेपानी, शौचालय, बिजुलीबत्ती, पानीका फोहोरा फाल्ने गरी पोखरी र प्रवेशद्वार निर्माण गरिने छ। उनले उदयपुरको मात्र नभई देशभरकै नमूना वन समूह हुने गरी काम अघि बढाइएको बताए।
यसका साथै पर्यटकलाई थप आकर्षित गर्न जंगली जनावर राख्ने गरी खोर निर्माण, ५ मिनेटको दूरीमा रहेको अधेँरी झर्ना व्यवस्थित गर्ने, वातावरण अनुकुल विभिन्न किसिमका सामग्री राख्ने, अम्लिसो, बाँस जस्ता आम्दानी हुने बोटविरुवा रोप्ने कार्य गरिने सहसचिव मात्रिका दाहालले बताए।
समूहका सचिव कल्पना खत्रीले समूहको वनविकास शीर्षकको ९ लाख बजेटबाट नमूना प्लटका लागि चार लाख, झाँडी सरसफाइ चार लाख र पोखरी निर्माणमा एक लाख खर्च गरिएको बताइन्।
समूहले दैनिक २ सय ९ जनालाई रोजगारी दिई झाँडी सरसफाई, रुखमा नम्बरिङ र कलर लगाउने जस्ता कार्य सम्पन्न गरेको उनले बताइन्। ‘समूहभित्र वार्षिक काठ बिक्री गर्ने तर त्यहीँ वनले दिएको आम्दानी वन विकासमा खर्च नगर्ने परिपाटीको यो कार्यले अन्त्य हुने छ,' सवडिभिजन वन कार्यालय भुट्टारका प्रमुख गिरिराज पोखरेलले भने।
डिभिजन वन कार्यालय त्रिवेणीमा वन समूहले पेश गरेको कार्ययोजना अनुसार समन्वयमा नमूना प्लट कार्य भएको उनले बताए। वन समूहले वार्षिक बजेटको कम्तिमा २५ प्रतिशत रकम वन विकास शीर्षकमा नै खर्च गर्नु विधानमा व्यवस्था रहेको पोखरेलले बताए। नमूना प्लट कार्यले यस वर्ष आम्दानीको ७५ प्रतिशत वनविकास शीर्षकमा खर्च हुने उनले बताए।
रौतामाई गाउँपालिका-७ का वडाध्यक्ष मनोज रानामगरले वन समूहको नमूनायोग्य कामका लागि स्थानीय सरकारबाट सहयोग हुने बताए। २ सय ७० घरधुरी आवद्ध रहेको उक्त वन समूहमा नयाँ नेतृत्व आएसँगै नमूना काम सुरु भएको उपभोक्ताहरूले बताएका छन्।