एस क्रिकेटमा पुल्चोक र १३ होप्स विजयी

भक्तपुर : भक्तपुरमा बिहीबार भएको एस टी २० क्रिकेट लिगमा पुल्चोक क्रिकेट क्लब र १३ होप्सले विजयी हासिल गरेका छन्।
सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा भइरहेको दोस्रो दिनमा टस हारेर ब्याटिङको निम्तो पाएको किंग्स क्रिकेट क्लव १९.५ ओभरमा ९० रनको योगफलमा समेटिएको थियो।
जवाफमा ब्याटिङ गर्न उत्रिएको पुल्चोक क्रिकेट क्लवले १०.५ ओभरमा ९२ रन बनाउँदै ७ विकेटले विजयी बन्यो।
उक्त खेलको म्यान अफ द म्याच दिपक भण्डारी घोषित भए। दोस्रो खेलमा भने टस जितेर ब्याटिङ गरेको १३ होप्सले निर्धारित २० ओभरमा १३४ रनको योगफल निकाल्यो।
१३५ रनको लक्ष्य पछ्याउँदै गरेको नेपाल क्रिकेट स्कुलले २० ओभरमा १२३ रनमात्र बनाउन सफल भयो। १३ होप्सले ११ रनले जित हात लियो। यो खेलको म्यान अफ द म्याच सुमित श्रेष्ठ घोषित भए।
एस स्पोर्टस एण्ड इभेन्ट्सले आयोजना गरेको प्रतियोगितालाई धेरैले अभिरुचिका साथ हेरिरहेका छन्।
प्रतियोगितामा आठ टीम सहभागी छन्।
यो प्रतियोगिताको टाइटल स्पोन्सर सिम्रिक हेलिकप्टर प्रालिले गरेको छ भने को-स्पोन्सर सिनामँगलस्थित क्रिस्टल डाइग्नोक्स्टिक प्रालिले गरेको छ।
त्यस्तै अन्य प्रायोजकहरूमा तिनकुनेस्थित आइएसएमटी कलेज, काठमाडौं काँडाघारीस्थित अक्षरा स्कुल, जीसीडी एच आर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सी र अर्बिट इन्टरनेस्नल एजुकेसन छन्।
प्रतियोगीतामा नगद पुरस्कार र विभिन्न पदक राखिएको आयोजक प्रमुख सर्वोच्च बस्नेतले जानकारी दिए।
प्रतियोगिता माघ ४ गतेसम्म हुनेछ। यो टुर्नामेन्टमा राष्ट्रिय खेलाडीसहित हरेक टिममा नयाँ खेलाडी सहभागी छन्।
कोरोना महामारीपछि उपत्यकामा यस खालको प्रतियोगिता दुर्लभ भएकाले खेलप्रेमीहरूमा उत्साह ल्याएको क्रिकेट खेलाडी समेत रहेका आयोजक संस्थाका प्रमुख सर्वोच्च बस्नेतले जानकारी दिए।
एस स्पोर्ट्स चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो। केही महिनाअघि यो संस्थाले ललितपुरमा मुलुकमै पहिलोपल्ट इन्डोरको फुल कोर्टमा प्रतियोगिता गराई चर्चा कमाएको थियो।
प्रतिक्रिया दिनुहोस !
