विमानस्थल चल्यो, अझै बनेन मुख्य गेट

विमानस्थल चल्यो, अझै बनेन मुख्य गेट

पोखरा : अंग्रेजी नयाँ वर्षको पहिलो दिन सन् २०२३ को जनवरी १ (पुस १७ गते) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हजारौं पोखरेलीको उपस्थितिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेको पनि करिब दुई हप्ता भएको छ। विमानस्थल सञ्चालनमा आए पनि विमानस्थलको मुख्य प्रवेशद्वार भने अझै बनाइएको छैन।

प्रवेशद्वार नै नभएर खुला हुँदा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा प्रहरीलाई थप चनाखो हुनुपर्ने दायित्व बढेको छ। प्रहरीलाई अन्तर्राष्ट्रिय विमानस्थल जाने मुखमा सुरक्षा दिन व्यस्तता छ। गेट नै नभएपछि चौबिसै घण्टा विमानस्थल जाने सडक अगाडि प्रहरी अलट भएर बस्नुपर्ने दायित्व थपिएको हो। 

पोखराबाट अहिले अन्तर्राष्ट्रिय उडान सुरु भइसकेको छैन। अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ भन्ने यकिन अझै भएको छैन। अन्तर्राष्ट्रिय उडान सुरु नभइसकेकाले विमानस्थल सुरक्षामा प्रहरी निरीक्षकको कामन्डमा ६० जना सुरक्षाकर्मी खटिएका छन्।

 मुख्य गेट नै नबनेकाले धेरै सुरक्षाकर्मी गेटमै परिचालन गर्नु परेको सुरक्षामा खटिएका प्रहरीले बताएका छन्। गेट नै नभएकाले अप्ठ्यारो भएको विमानस्थल सुरक्षामा खटिएका प्रहरी निरीक्षक हरिओम खड्काले बताए। विमानस्थल आयोजनाले छिट्टै नै गेट निर्माण गर्ने बताइरहेको उनले बताए। 

विमानस्थलको मुख्य गेट छिटो निर्माण गर्न चिनियाँ कम्पनीलाई अनुरोध गरिएको आयोजना प्रमुख विनेश मुनकर्मीले सुनाए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता विष्णु अधिकारीले पोखरा झल्कने गरी गेट निर्माण गर्ने गरी तयारी भएको बताए। पृथ्वी राजमार्गसँगै अन्तर्राष्ट्रिय विमानस्थल छ। 

अहिले दुई लेनको पृथ्वी राजमार्ग छिट्टै नै ६ लेनको बन्दैछ। यही कारण पनि कति मापदण्ड छोडेर प्रवेशद्वार बनाउने भन्ने यकिन नभएकाले पनि केही ढिलाइ भएको बताइएको छ। विमानस्थल सञ्चालनमा आइसक्दा पनि मुख्य गेट नै नभएर खुला हुँदा विमानस्थल सुरक्षामा खटिने सुरक्षाकर्मीलाई भ्याइँनभ्याइ छ। 

पोखरा अन्तर्राट्रिय विमानस्थलको एप्रोचमै रहेको रिठ्ठेपानी डाँडा कटान जारी छ। कटानको काम निरन्तर भएकाले छिट्टै नै आवश्यक ४० मिटर डाँडा कटान सकिने आयोजनाले जनाएको छ। रिठ्ठेपानी डाँडाको कारण अहिले उडान र अवतरणमा कुनै समस्या छैन। डिपो बनाउने ठेक्का प्रक्रिया टुंगिए पनि विमानस्थल परिसरमा इन्धन डिपो निर्माण कार्य अझै सुचारु भएको छैन। पुरानो पोखरा विमानस्थलबाटै इन्धन ल्याएर काम चलाइएको छ। 

सरकारले सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी २०७३ वैशाख १ मा विमानस्थल शिलान्यास गरेको थियो। कोरोनाको कारण सामान आयात प्रभावित र कामदार अभाव भएपछि एक वर्ष म्याद थपिएको थियो। विमानस्थल निर्माणका लागि चीनको २२ अर्ब सहुलियत ऋण छ। 

नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच सन् २०१४ को मे ३१ मा ठेक्का सम्झौता भएको थियो। नेपाल र चीनको एक्जिम बैंकबीच २०१६ मार्च २१ मा ऋण सम्झौता भएको हो। सरकारले प्राधिकरणसँग २०१६ जुन ५ मा ऋण सम्झौता ग¥यो। एक्जिम बैंकले २०१७ मे ३१ देखि ऋण प्रवाह गरेको थियो। यसरी सन् २०१७ जुलाई ११ मा काम सुरु भएको थियो। चिनियाँ विदेशमन्त्री वाङ यीले २०७८ चैत १२ गते एक कार्यक्रमकाबीच काठमाडौंमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए। 

२०३२ सालमा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लागि जग्गा अधिग्रहण गर्न सुरु भएको थियो। ३८ सय ९९ रोपनी क्षेत्रफलमा विमानस्थल रहेको आयोजनाले जनाएको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था –आईकाओ)को मापदण्डभित्र रहेर फोरडी मोडलमा विमानस्थल बनेको हो। यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.