नेवा महोत्सवमा पर्यटन हाट
विराटनगर : नेवा भाषा तथा संस्कृतिको जगेर्णा र प्रर्वद्धन गर्ने उद्देश्यका साथ विराटनगरमा तेस्रो नेवा महोत्सव तथा पर्यटन हाट हुने भएको छ। माघ पहिलो साता विराटनगर–१० बंगलामुखी मार्गस्थित झी पुचः सेवा भवनमा महोत्सव आयोजना हुन लागेको हो।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले माघ ६ र ७ गते महोत्सव आयोजनाको तयारी थालिएको जानकारी दिएको छ। आयोजकका अनुसार दुई दिने महोत्सवमा साँस्कृतिक कार्यक्रमका साथै विभिन्न नेवारी खानाका स्टल रहने छन्। महोत्सवमा प्रदेश १ का उत्पादित वस्तुहरूको प्रचार र बिक्रीका लागि पनि स्टलको व्यवस्थापन गरिने आयोजक झी पुचः का कार्यक्रम संयोजक भविशकुमार श्रेष्ठले जानकारी दिए।
महोत्सवमा नेवारीसँगै अन्य जातजातिको पनि भाषा, संस्कृति झल्किने विभिन्न कार्यक्रम र खानाका परिकारहरूको स्टलको प्रबन्ध मिलाइएको उनले जानकारी दिए। ‘महोत्सवमा यमरी, छोयला, तखा, नेवाः भ्वे, छुर्पी र अलैंचीलगायत प्रदेशभरिका विभिन्न उत्पादनको स्टल रहने छ’, उनले भने, ‘यसका साथै हस्तकलाका सामग्रीका लागि पनि स्टल राख्ने तयारी गरेका छौं।’
झी पुचः ले यसअघि २०६८ र २०७२ मा नेवाः महोत्सवको आयोजना गरेको थियो।