समयमै सक्ला विमान जाँचबुझ आयोगले काम ?
काठमाडौं : यती एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटना छानबिन गर्न गठित आयोगले काम सुरु गरेको छ। आइतबार बिहान १०ः५१ बजे जहाज दुर्घटना हुँदा एटीआरमा सवार ७२ जनाको नै ज्यान गएको थियो। घटनापश्चात् बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७४ बमोजिम छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन गरेको थियो।
अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ)को एनेक्स १३ ले पनि जहाज दुर्घटनापछि छानबिन आयोग गठनका लागि प्रावधान राखेको छ। जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन् भने सदस्यहरूमा अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा, नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्रसाद बाँस्तोला र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।
आयोग गठन लगत्तै सदस्य सचिवसमेत रहेका मन्त्रालयका सहसचिव लामिछाने पोखरा पुगेका थिए। आयोगको पहिलो प्राथमिकता भनेको उद्धार र शव व्यवस्थापन रहेको भन्दै लामिछानेले आइतबार नै सो सम्बन्ध सम्बन्धित निकायसँग छलफल गरिएको बताए। ‘हिजो पोखरा गएर उद्धार तथा शव व्यवस्थापनको समन्वय गर्ने, दुर्घटनास्थलको संरक्षण गर्ने र स्थानीयसँग छलफल गरियो,’ उनले अन्नपूर्णसँग भने। आयोगको पहिलो काम भनेको नै उद्धार र व्यवस्थापन भएको लामिछानेले दोहोर्याए। उद्धार र व्यवस्थापनमा स्थानीय नागरिक, प्रहरी प्रशासन र कर्मचारी सबैले सहयोग गरिरहेको उनले बताए।
यसपछि आयोगको ५ सदस्यीय टोली दुर्घटनास्थलको स्थलगत निरीक्षणका लागि मंगलबार पोखरा जाने उनले जानकारी दिए। आयोगले प्रमाण संकलनबाट आफ्नो काम सुरु गरेको छ। जाँचबुझका लागि आवश्यक जहाजका यन्त्रहरू सुरक्षित गरिसकिएको उनले बताए।
सोमबार नै ककपिट भ्वाइस रेकडर (सीभीआर), फ्लाइट डाटा रेकडर (एफडीआर), ब्ल्याक बक्स भेटिसकेको छ भने त्यसमा भएको सूचनालाई केलाउने काम आयोगले गर्ने छ। यी संयन्त्रले जहाज दुर्घटना अघि के भएको थियो, जहाजको प्राविधिक पक्षमा समस्या थियो कि थिएन, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँगको जहाजका कु्र मेम्बरको कुराकानी कस्तो थियो, जस्ता जानकारी पाउन सकिन्छ। प्रणालीगत रूपमा यिनीहरूको अध्ययन आयोगले गर्ने बताए।
यसपछि डकुमेन्ट संकलनको काम गरिने सदस्य सचिव लामिछानेले बताए। ‘विमान कम्पनी, नियामक निकाय, सञ्चालक कम्पनीबाट प्राविधिक डकुमेन्ट संकलन गर्नुपर्ने हुन्छ,’ उनले भने। सरकारले आयोग गठनसँगै ४५ दिनभित्र प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ। दुर्घटनाका विविध पक्षलाई केलाउनै पर्ने हुँदा समयसीमाभन्दा पनि निष्पक्ष छानबिन आयोगले जोड दिने बताइएको छ।
‘आयोग गठन गरेपछि एउटा समय तोकिदिऊ भन्ने भएर समय ताकिएको हो, यस्तो बृहत् अनुसन्धानमा टाइम फ्याक्टरले महत्व राख्दैन’ भन्दै लामिछानेले थपे, ‘जबरजस्ती सक्नेभन्दा पनि समय लाग्छ, कुन इक्युपमेन्ट जाँचका लागि विदेश पठाउन पर्ने हुन्छ, कति समय लाग्छ, कसरी भन्न सकिन्छ ?’ हाम्रा जाँचबुझका प्रक्रियाहरू, आइकाओको मापदण्डहरू मान्दै अनुसन्धान गर्नुपर्ने हुँदा समय लाग्ने लामिछानेको भनाइ छ। आयोगले आन्तरिक तथा अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै निष्पक्षीय अनुसन्धान गर्ने र सर्वमान्य प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ।
एटीआरको प्राविधिक परीक्षण
यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना भएपछि मन्त्रिपरिषद्को निर्देशनअनुसार नेपालमा सञ्चालित एटीआर वायुयानहरूको विस्तृत प्राविधिक जाँच सम्पन्न भएको छ। एटीआर–४२ र एटीआर–७२ गरी २१ वटा जहाजको स्थालगत प्राविधिक जाँच हुँदा समस्या नदेखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘ती जहाजहरूको परीक्षणको क्रममा कुनै प्राविधिक त्रुटि फेला नपरेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरूले यतीको ५ र बुद्धका १६ जहाजको प्राविधिक निरीक्षण गरेका थिए। यतीसँग एटीआर–७२ जहाज र बुद्धसँग एटीआर–४२ र एटीआर–७२ जहाज सञ्चालित छन्।
तारा एयरको जहाजको अझै आएन रिपोर्ट
२०७९ जेठ १५ गते काठमाडौंमा उडेको तारा एयरको जहाज मुस्ताङमा खस्दा २२ जनाको मृत्यु भएको थियो। दुर्घटनापछि जेठ १६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको थियो।
आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने थिए। उक्त दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिएको आयोगले गठन भएको ८ महिनामा पनि ड्राफ्ट रिपोर्ट दिन सकेको छैन। सम्पूर्ण चेकजाँच सम्पन्न भए पनि अमेरिकामा प्राविधिक जाँच गर्न पठाएको एउटा इक्युपमेन्टको रिपोर्ट नआएर रोकिएको बताइएको छ।
‘अमेरिकाको एमटीएसपीमा एउटा इक्युपमेन्ट जाँचका लागि पठाइएको छ। त्यसको रिपोर्ट नआएर रोकिएको छ,’ लामिछानेले भने। आयोगले आफ्नो तर्फबाट काम सके पनि अमेरिकाबाट रिपोर्ट नआउँदा ढिला भएको बताए। आयोगले ककपिटमा भएको एउटा यन्त्र जाँचका लागि अमेरिका पठाएको हो। दुर्घटनाको प्रकृतिअनुसार कुन यन्त्र जाँचका लागि बाहिर पठाउने फरक हुने गरेको छ।