वीरगन्जमा बलिदानी दिवस : मधेसी शहिदलाई श्रद्धाञ्जली अर्पण
वीरगन्ज : मधेस आन्दोलनका शहिदहरुको सम्झनामा आज माघ ५ गते वीरगन्जमा पनि बलिदानी दिवस मनाइएको छ।
मधेस आन्दोलनका प्रथम सहिद रमेश महत्तो हुन्। पहिलो मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा २०६३ माघ ५ गते महत्तोले शहादत प्राप्त गरेका थिए। मधेसीको हक अधिकार प्राप्तिका लागि २०६३ देखि २०७२ सम्म पटक पटक भएका मधेस आन्दोलनमा हालसम्म १०७ जनाले शहादत प्राप्त गरेका छन्।
तीनै शहिदहरुको सम्झनामा हरेक माघ ५ गते मधेसी दलले बलिदानी दिवस मनाउँदै आएका छन्। बलिदानी दिवसमा मधेस प्रदेश सरकारले आज बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ।
वीरगन्जको घण्टाघर चोक नजिकैको मधेसी सहिद पार्कमा बिहीबार जनता समाजवादी पार्टी (जसपा) पर्साका नेता कार्यकर्ताले शहिदका शालिकमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरे। त्यस क्रममा उनीहरुले मधेस आन्दोलन र मधेसी शहिदहरुकै त्याग र बलिदानीका कारण मधेसीले पहिचान , संघीयता , समावेशिता लगायतका अधिकार पाउन सफल भएको बताए। अझै पनि मधेस आन्दोलनका केही मुद्दा सम्बोधन हुन बाँकी नै रहेको भन्दै जसपाका नेताहरूले त्यसका लागि आफूहरुको संघर्ष जारी नै रहेको जिकिर गरे।
जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षता तथा प्रदेशसभा सदस्य प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुर, केन्द्रीय परिषद सदस्य शिवजी सोनी,जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, जिल्ला सचिव तबरेज अहमद, युवा नेता सरोज यादव, अमित यादव, सफ्रोज आलम, विद्यार्थी नेताहरु एजाजबाबु रान्की, हरेन्द्र साह, सागिर आलम, नैमोदिन आलम, फरिद आलम, आबिद समानी लगमयतको सहभागिता थियो।