पर्सामा कुष्ठरोगका बिरामी ५४१ जना
वीरगन्ज : पर्सामा कुष्ठरोगका बिरामीको संख्या बढ्दै गएको छ।
अन्तर्राष्ट्रिय कुष्ठरोग दिवसका अवसरमा वीरगन्जमा आयोजित कार्यक्रममा पर्सामा अहिले कुष्ठरोगका ५४१ जना बिरामी रहेको जानकारी गराइएको हो।
पर्सामा हाल कुष्ठरोगका ५४१ बिरामी रहेकोमा तीमध्ये जटील अवस्थाका ४४१ जना र सामान्य अवस्थाका ९८ जना रहेको द ल्याप्रोसी मिसन नेपालकी पर्सा जिल्ला अनुगमन तथा मूल्यांकन अधिकृत रिजु तिवारीले जानकारी दिइन्।
जिल्लामा सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा २०६ जना र ठोरी गाउँपालिकामा भने कुष्ठरोगका बिरामीको संख्या शून्य रहेको छ।
यस्तै पटेर्वासुगौली गाउँपालिकामा ७० जना, पोखरिया नगरपालिकामा ५१, कालिकामाई गाउँपालिकामा ४१, विन्दवासीननी गाउँपालिकामा ४०, जीराभवानी गाउँपालिकामा २६, बहुदरमाइ नगरपालिकामा २६ , जगरनाथपुर गाउँपालिकामा २३, पकाहा मैनपुर गाउँपालिकामा १७, छिपहरमाई गाउँपालिकामा १४, सखुवा प्रसौनी गाउँपालिकामा १३, धोबिनी गाउँपालिकामा ९ र पर्सागढी नगरपालिकामा ५ जना कुष्ठरोगका बिरामी रहेको उनले बताइन्।
जिल्लामा फेला परेका सबै बिरामी उपचाररत रहेको जानकारी पनि तिवारीले दिइन्। हरेक पालिकाको स्वास्थ्य संस्थाबाट ती बिरामीले स्वास्थ्य उपचार निःशुल्क पाइरहेको पनि उनले बताइन्।
तिवारीका अनुसार देशभरका सातै प्रदेशमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा ७४३ जना र सबैभन्दा कम कर्णली प्रदेशमा ६७ जना कुष्ठरोगका बिरामी रहेका छन्।
यस्तै देशभरमा भने कुष्ठरोगका कुल बिरामीको संख्या २ हजार १७३ जना रहेको जानकारी पनि उनले दिइन्।